वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनबाट सिन्धुपाल्चोकमा ५ सय ६६ सदस्यीय जनप्रतिनिधि निर्वाचित हुँदै छन्। उनीहरुले अधिकार सम्पन्न स्थानीय सरकार चलाउने छन्।
तीन नगरपालिका र नौ गाउँपालिकासहितको जिल्लाका १२ स्थानीय तहमा १ सय ३ वटा वडा छन्। चौतारा साँगाचोकगढी, बाह्रबिसे र मेलम्ची नगरपालिकामा ३६ वडा छन्। गाउँपालिकामा ६७ वटा वडा रहेका छन्। स्थानीय तह निर्वाचनले १२ प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, १ सय ३ जना वडा अध्यक्ष, १ सय ३ महिला सदस्य, १ सय ३ दलित सदस्य र २ सय ६ खुला सदस्य निर्वाचित गर्नेछ।
दलित/अल्पसंख्यक २७ जना निर्वाचित हुनेछन्। शुक्रबार हुने निर्वाचनबाट प्रत्यक्ष रुपमा ५ सय ३९ जनप्रतिनिधि चुनिने छन्। यसरी चुनिएर बन्ने गाउँ/नगरसभाले दलित/अल्पसंख्यकबाट २७ लाई निर्वाचित गर्ने छ। निर्वाचनबाट ठूलो संख्यामा महिला, दलित र अल्पसंख्यक समुदाय स्थानीय सरकारमा पुग्नेछन्।
प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्ष, वडा अध्यक्ष र खुला सदस्यमा प्रतिस्पर्धा गर्ने अवसरसमेत रहेकाले महिला जनप्रतिनिधि २ सय ६ बाट अझै बढ्ने छ। सोही अवसर दलितलाई समेत रहेकाले जनप्रतिनिधिका रुपमा उनीहरुको संख्या पनि बढ्ने देखिन्छ। निर्वाचनले जनप्रतिनिधिका रुपमा जिल्लाका अल्पसंख्यक पहरी, थामी लगायत समुदायको प्रतिनिधित्व सुनिश्चित गरेको छ।
नगरपालिकातर्फ तीन नगर प्रमुख, तीन उपप्रमुख, ३६ वडाध्यक्ष, ३६ महिला सदस्य, ३६ दलित महिला सदस्य, ७२ खुला सदस्य र नौ दलित/अल्पसंख्यक गरी १ सय ९५ सदस्य जनप्रतिनिधिका रुपमा नगरवासीदरा निर्वाचित हुनेछन्। गाउँपालिका तर्फ नौ अध्यक्ष, नौ उपाध्यक्ष, ६७ वडाअध्यक्ष, ६७ महिला सदस्य, ६७ दलित महिला सदस्य, १ सय ३४ खुला सदस्य र १८ जना दलित/अल्पसंख्यकसमेत ३ सय ७१ सदस्य जनप्रतिनिधि चयन हुनेछन्।
सबैभन्दा बढी १४ वटा वडा रहेको चौतारा साँगाचोकगढी नगरपालिकामा ७५ सदस्यीय जनप्रतिनिधि रहने छन्। सबैभन्दा कम पाँचवटा वडा रहेको भोटेकोसी गाउँपालिकामा २९ सदस्यीय गाउँपालिका सभा रहनेछ। गाउँपालिका तर्फ सबैभन्दा बढी १२ वटा वडा रहेको इन्द्रावती गाउँपालिकामा ६४ जनप्रतिनिधि निर्वाचित हुनेछन्।
स्थानीय तह निर्वाचन ऐन २०७३ ले नगरपालिकामा एक प्रमुख, एक उपप्रमुख, प्रत्येक वडामा एक वडाध्यक्ष, एक/एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुने व्यवस्था गरेको छ। यसरी निर्वाचित हुने नगरसभाले दलित वा अल्पसंख्यक समुदायबाट तीन सदस्य निर्वाचित गर्ने छ। त्यस्तै गाउँपालिकामा एक/एक अध्यक्ष, उपाध्यक्ष, प्रत्येक वडाबाट एक वडाध्यक्ष, एक/एक दलित, महिला दलित सदस्य र दुई खुला सदस्य निर्वाचित हुनेछन् ।
गाउँसभाले गाउँपालिका भित्रका मतदाताबाट दुई जना दलित वा अल्पसंख्यकलाई सदस्य निर्वाचित गर्नेछ। तीन नगरपालिकाका नगरसभामा निर्वाचितमध्ये ६६ जना नगरकार्यकारी हुनेछन्। त्यस्तै गाउँ कार्यकारीमा १ सय २५ सदस्य चयन हुनेछन्। दुवै जोड्दा हुने १ सय ९१ जनप्रतिनिधिले स्थानीय सरकार चलाउने छन्।
प्रकाशित: २९ वैशाख २०७९ ११:४२ बिहीबार