coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

एमालेविरुद्ध कांग्रेसका ४२ आरोप

नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेले संविधान पूर्ण रूपमा कार्यान्वयन गर्नुको साटो दुईपटकसम्म प्रतिनिधिसभा विघटन गरेर मुलुकलाई अस्थिरतातर्फ धकेलेको आरोप लगाएको छ। 

स्थानीय तह निर्वाचनको पूर्वसन्ध्यामा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेसले राजनीतिक स्थायित्व, संविधानको रक्षा र आर्थिक विकासका लागि नेपाली कांग्रेस नेतृत्वको गठबन्धनलाई मतदान गर्न सबैमा अपिल गरेको छ।

ओलीले असंवैधानिक रूपमा दुईपटक गरिएको संसद् विघटनलाई सर्वोच्च अदालतले पुनस्र्थापना गरे पनि एमालेले अझै संसद् चल्न नदिएको जनाएको छ। संसद्लाई आफूले बन्धक बनाएर एमालेले कांग्रेसमाथि दोष थोपरेको आरोप लगाउँदै पार्टी प्रवक्ता प्रकाशशरण महतद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘संसद्लाई कांग्रेसले कहिल्यै बन्धक बनाएको छैन। बरु गत भदौदेखि नेकपा एमालेले संघीय संसदका प्रायः सबै बैठक अवरुद्ध गर्दै आएको छ। विगतमा पनि ५८ दिन संसद अवरोध गरेको घटना हामीले बिर्सेका छैनौं ।’

संघीय शासनप्रति एमालेको प्रतिबद्धता कमजोर रहेको जिकिर गर्दै कांग्रेसले भनेको छ, ‘उहाँ (एमाले अध्यक्ष ओली) ले कर्णाली प्रदेशका पार्टी पदाधिकारीहरूसँगको छलफलका क्रममा प्रदेशलाई संघीय सरकारको प्रशासनिक एकाइ मात्र रहेको तथा सबै प्रदेश र देशकै दल नेता आफू मात्र भएको व्याख्या गर्नुभएको थियो ।’ संविधानप्रति एमालेको प्रतिबद्धता नदेखिएको जनाउँदै कांग्रेसले भनेको छ, ‘यो संशयले एमालेमाथि लाग्दै आएको प्रतिगमनकारी शक्तिको आरोपलाई थप पुष्टि गर्छ। संविधानविपरीत दुईदुईपटक प्रतिनिधिसभा विघटन गर्ने उहाँको अधिनायकवादी र सर्वसत्तावादी प्रवृत्तिलाई हामीले बिर्सेका छैनौं। हामी सम्पूर्ण नेपाली जनतालाई यी दुई घटना पुनः स्मरण गराउन चाहन्छौं।’

एमालेले स्थानीयसहितका अन्य निर्वाचन जिते आगामी दिनमा पनि मुलुक अस्थिरतातर्फ धकलिने जनाउँदै कांग्रेसले नागरिकको घरदैलौमा सेवा पुर्‍याउने स्थानीय तहको निर्वाचनमा निर्धक्क भएर मतदान गर्न अपिल गरेको छ। विगतमा स्थानीय तहको निर्वाचनमा कांग्रेसले जितेका स्थानीय तहहरू अब्बल साबित भएको उल्लेख गरेको छ।

लोकतन्त्रको आत्मा मानिएको निर्वाचनप्रति एमाले अन्तरआत्मादेखि प्रतिबद्ध नभएको भन्दै विगतमा सरकारको नेतृत्वमा रहँदा पनि चुनाव गराउन सो पार्टीले सक्रियता नदेखाएको आरोप कांग्रेसले लगाएको छ। कांग्रेसले स्थानीय तहलाई सबल, सक्षम र जनताप्रति उत्तरदायी बनाउँदै राज्यको सेवा जनताको घरदैलोमा पु¥याउने र आर्थिक–सामाजिक विकासलाई गति दिई जनताको जीवनस्तर उठाउँदै समुन्नति हासिल गर्ने कार्यक्रमसहितको संकल्प सार्वजनिक गरिसकेको उल्लेख छ।

‘स्थानीय जनताका आवश्यकता र इच्छालाई पूरा गर्ने यो संकल्पमा निहित नीति र कार्यक्रम आउनासाथ प्रतिस्पर्धी राजनीतिक दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली निकै उत्तेजित र आक्रोशित भएर हामीप्रति निकै निम्नस्तरको गालीगलौजमा उत्रिनुभएको थियो,’ कांग्रेसद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘हिजो मात्र उहाँले आफ्नो पक्षबाट मतदातासमक्ष गर्नुभएको अपिलमा पनि नेपाली कांग्रेसमाथि मिथ्या आरोप तथा विभिन्न लाञ्छना लगाउनुभएको छ। हामी त्यसको प्रतिवाद गर्न चाहन्छौं।’

ओली नेतृत्व सरकारले संवैधानिक परिषद् अध्यादेशमार्फत संवैधानिक निकायहरूमा आफ्ना मान्छे भर्ती गरेको, ओली नेतृत्वको सरकारले पूर्वप्रहरी प्रमुख र सांसद्हरूलाई खटाएर सांसद सुरेन्द्र यादवलाई अपहरण गरेको, राज्य संयन्त्रमा अनधिकृत हस्तक्षेप गरेको पनि कांग्रेसले आरोप लगाएको छ।

सत्ता र शक्तिको दुरूपयोग गरेर स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई निवासमा बोलाएर संसद् भंग गर्ने, संकटकाल लागु गर्ने, अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई विमति राख्नेहरूसँग प्रतिशोध साँध्न खोजिएको पनि उल्लेख गरेको छ। नक्सा प्रकाशनमा जनतातिर फर्केर चर्का कुरा गर्ने र सम्बन्धित ठाउँमा कुरा नउठाएको भन्दै कांग्रेसले भनेको छ, ‘कांग्रेसले नेपाली भूमि फिर्ताको विषयमा भारतसँग पनि वार्ता गरी ठोस दृष्टिकोण स्पष्ट रूपमा राखेको छ।’

कानुनीराजको अपहेलना गरेको, झुटा आश्वासन बाँडेको भन्दै कांग्रेसले प्रधानमन्त्री स्वरोजगार कार्यक्रममा ओलीले अर्बौं रूपैयाँको दुरूपयोग गरेको उल्लेख गरेको छ। कुनै सम्भाव्यता अध्ययनबिना हचुवाका तालमा बालुवाटारबाट निर्माणको उद्घाटन भएका पालिका अस्पताल र निर्वाचन क्षेत्र स्तरीय सडक बालुवाटारको रेकर्डमा मात्र बनेका आरोप लगाएको छ। ओली नेतृत्वको सरकार ३३ किलो सुन, सिन्डिकेट, निर्माण व्यवसायी धरपकड, वाइडबडी, गोकर्ण रिसोर्ट र यती, गुठी विधेयक, सञ्चारमाध्यम नियन्त्रण विधेयक, ओम्नी, भारतको खोप खरिदमा कमिसन एजेन्ट घुसाउने, नुन, चिनीसहितका काण्डैकाण्ड मच्चाएको आरोप छ।

चार्टर्ड उडानमा कमिसन, सेक्युरिटी प्रेसको ७० करोड घुस, बुढी गण्डकी, रेल्वे ट्र्याक ठेक्का, फास्ट ट्र्याक ठेक्का, बजेटमा चकलेट र विद्युतीय गाडीको करको दरसम्बन्धी गोपनीयता चुहाएको विषय नेपालको इतिहासमा कलंकित घटनाका रूपमा स्मरणीय रहेको पनि कांग्रेसको दाबी छ। ‘नेकपा एमालेले संस्कृति र परम्पराको संरक्षणको पनि दुहाइ दिएको छ,’ भनिएको छ, ‘तर निजी र सामुदायिक गुठीसमेत हडप्ने र गुठीको स्वामित्वमा रहेका जग्गाहरू कब्जा गरेर खाने नियतले ल्याइएको गुठी विधेयक नेपाली कांग्रेससहित राजधानी र राजधानीबाहिरका गुठीयारहरूको चर्को विरोधले फिर्ता लिनु परेको घटना हामी स्मरण गराउन चाहन्छौं।’ जनताको मौलिक अधिकार, राष्ट्रहित, कानुनी राजको कांग्रेस सधैं हिमायती रहँदै आएको भन्दै उसले भनेको छ, ‘हामी लोकतान्त्रिक संसदीय पद्धतिकै माध्यमबाट जनतालाई अधिकारले सम्पन्न, सिर्जनशील र समुन्नत नेपाल बनाउन चाहन्छौं।’ 

प्रकाशित: २७ वैशाख २०७९ ०१:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App