८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेको विरासत भत्काउने कांग्रेस-राप्रपाको दाउ

पश्चिमी सिन्धुपाल्चोकको केन्द्र मेलम्ची नगरपालिकामा एमालेको विरासत भत्काउन कांग्रेस र राप्रपाले गठबन्धन गरेका छन्। सत्तारुढ दुई गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीचको त्रिपक्षीय भिडन्तले यहाँको चुनावी तापक्रम बढ्दो छ।

एमालेबाट यहाँको प्रमुखमा बालकृष्ण देउजा र उपप्रमुखमा उमा प्रधान चुनावी मैदानमा एक्लै उत्रिएका छन्। एमालेविरुद्ध कांग्रेस-राप्रपा र माओवादी-एकीकृत समाजवादीको गठबन्धन बनेको छ। कांग्रेस-राप्रपा गठबन्धनबाट प्रमुखमा आइतमान तामाङ र उपप्रमुखमा कुमारी तामाङ चुनावी दौडमा छन्।

त्यस्तै माओवादी-समाजवादी गठबन्धनले नानीराम चौलागाईँलाई प्रमुख र देबेन्द्र घोरासैनीलाई उपप्रमुखमा अघि सारेको छ। माओवादी-समाजवादीले सुरुमै गठबन्धन गरेर उम्मेदवारी मनोनयन दर्ता गरेका थिए। कांग्रेस-राप्रपाले भने उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्नुअघि गठबन्धन गरेका हुन्।

यसअघि दुवै दलले प्रमुख र उपप्रमुखमा उम्मेदवारी दिएका थिए। राप्रपाका प्रमुख र कांग्रेसका उपप्रमुखका उम्मेदवारको उम्मेदवारी फिर्ता गराउँदै अन्तिम समयमा गठबन्धन बनाइएको हो। मेलम्ची एमालेको परम्रागत पकेट क्षेत्र हो। प्रतिस्पर्धाका माध्यमले एमाले बिरासत ढाल्न दुई गठबन्धन एकमत छन्। अघिल्लो निर्वाचनमा यो नगर एमालेले जितेको थियो।

एमालेबाट डम्बर अर्याल साढे १६ सय मतान्तरसहित प्रमुखमा निर्वाचित भएका थिए। अर्यालले ८ हजार ६ सय ७८ मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी कांग्रेसका आइतमान तामाङले ७ हजार ३३ भोट पाएका थिए। तेस्रो बनेको माओवादीले ४ हजार ८ सय २० मत पाउँदा चौथो स्थान हाँसिल गरेको राप्रपाले ३ हजार ७ सय २७ मत ल्याएको थियो।

कांग्रेसले यसपटक पनि प्रमुखमा तामाङलाई नै अघि सारेको छ। अघिल्लो चुनावको अंकगणितअुनसार कांग्रेस-राप्रपा गठबन्धन सबैभन्दा बलियो देखिन्छ। गठबन्धनकै बलमा एमालेको पकेट क्षेत्र भत्काउने उनीहरुको दाउ छ। एमाले फुटेर बनेको समाजवादीले उम्मेदवारी दिएपछि कांग्रेस–राप्रपा गठबन्धन थप मजबुत देखिन्छ।

आफूविरुद्ध दुई गठबन्धन बने पनि पकेट क्षेत्र जोगाउँदै विरासत रक्षा गर्ने रणनीतिमा एमाले देखिन्छ। चुनावी माहौल हेर्दा एमालेमा फुटको धेरै असर देखिँदैन। यही सन्देश सबैतिर पुर्‍याएर जित्नेमा एमाले आशावादी छ। दुई गठबन्धनका असन्तुष्ट कार्यकर्ताको साथ लिएर विरासत जोगाउने ध्याउन्नमा एमाले लागेको देखिन्छ।

अघिल्लो चुनावमा राम्रो मतसहित तेस्रो बनेको माओवादीले समाजवादीसँग गठबन्धन गरेकाले प्रतिस्पर्धामा उसले पनि टक्कर प्रस्तुत गरेको छ। कांग्रेस उम्मेदवार तामाङ क्षेत्रीय सभापति हुन्। योसमेत दोस्रो पटक उनी चुनावी मैदानमा छन्। यस क्षेत्रका लोकप्रिय नेता भएर पनि एमालेका देउजाले पहिलो पटक चुनावी मैदान पाएका छन्।

समाजवादीबाट प्रमुखका उम्मेदवार चौलागाईं राजनीतिसँगै समाजसेवामा आवद्ध छन्। कांग्रेससँगको गठबन्धनबाट उमप्रमुखको उम्मेदवार बनेकी राप्रपाकी कुमारी अघिल्लो निर्वाचनमा पार्टीबाट सोही पदमा प्रतिस्पर्धा गरेर चौथो बनेकी थिइन्। समाजवादीसँग गठबन्धन गरेर उपप्रमुखको उम्मेदवार बनेका माओवादीका घौरासैनी पनि निवर्तमान वडाध्यक्ष हुन्। एमालेकी उपप्रमुख उम्मेदावर प्रधान चुनावी मैदानमा नयाँ छिन्।

१३ वटा वडा रहेको मेलम्चीमा ३९ हजार २ सय ५ मतदाता छन्। जिल्लामा सबैभन्दा धेरै मतदाता यही नगरमा छन्। एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङको गृहनगर र वागमती प्रदेशमन्त्री रहेका कांग्रेस नेता निमा लामाको निर्वाचन क्षेत्रमसमेत रहेको मेलम्चीको स्थानीय चुनावलाई चासोसाथ हेरिएको छ। कडा प्रतिस्पर्धाका कारण एमालेले आफ्नो विरासत जोगाउला या गठबन्धले भत्काउला भन्ने प्रश्नको जवाफका लागि भने चुनावसम्म कुर्नै पर्ने हुन्छ।

प्रकाशित: २६ वैशाख २०७९ १४:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App