नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनलाई उभिन नसक्ने हालतमा पुर्याउनुपर्ने बताएका छन्। एमाले चितवनले क्याम्पाचौरमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै उनले अहिलेको सरकारलाई टाटा बाइबाई गर्नुपर्ने बताएका हुन्। ‘गठबन्धन हार्यो, हार्यो,’ उनले भने, ‘भरतपुर बन्यो, बन्यो।’
उनले माओवादीले आफन्त पोस्न चितवनमा आएर जनतालाई धम्काएको भन्दै व्यंग्य गरे। ‘प्रकाश सपुतको गीत जस्तै चितवन कांग्रेसीलाई पिर बिसाउने ठाउँनै छैन, प्रधानमन्त्री पदका लागि पार्टी सिध्याउँदैछन्, कार्यकर्ता के हेरेर बसेका छन्?,’ उनले भने, ‘कार्यकर्ताले मन परेका ठाउँमा भोट दिन नपाउने गरी धम्काउन पाइँदैन।’ उनले प्रचण्डलाई इंगित गर्दै भने, ‘छोरीलाई भोट नदिँदैमा दुर्घटना हुँदैन, गठबन्धन नराम्ररी हार्छ।’ तर्साउने, धम्काउनेलाई चिसै पानीले नुहाइदिने भन्दै चेतावनीसमेत दिए। चितवनका कांग्रेस कार्यकर्ताहरूलाई विचराको संज्ञा दिए। ‘कार्यकर्ताप्रति सहानुभूति राख्छु, कसरी मन थाम्नु भयो होला?,’ पूर्वप्रधानमन्त्री ओलीले भने, ‘विचरा हेर्नुस्, पोहर पनि ढाट्यौँ आमा, यसपाली पनि ढाट्यौ भने जस्तै भयो।’
एमाले उपाध्यक्ष रामबहादुर थापा बादलले माओवादी केन्द्र पतन र विघटनको दिशमा पुगेको आरोप लगाए। उनले माओवादी विचार, सिद्धान्त, नीतिबाट पदच्यूत भइसकेको जीकिर गरे। माओवादी विर्सजन, पतन र विघटनको दिशामा छ,’ उनले भने, ‘कम्युनिस्ट शक्तिका रूपमा छैन, प्रतिगामी गुटको प्रतिनिधित्व गरिरहेको छ, पुँजीपतिको समृद्धिको पक्षमा छ।’ उनले कांग्रेस–माओवादी केन्द्रको सहकार्य पुँजीपतिहरूको पक्षपोषणका लागि भएको बताए। उनले माओवादीले चितवनमै दुखान्त नाटक, फिल्म प्रर्दशन गर्ने भनेर घोषणा गरेको व्यंग्य गरे।
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले विजयलाई विजयी बनाए नयाँ भरतपुर हुने दाबी गरेका छन्। सभालाई सम्बोधन गर्दै उनले भरतपुरको मेयरमा विजय सुवेदी र उपमेयरमा हिमला गुरुङ विजयी हुने संकेत देखा परिसकेको दाबी गरे। उनले सत्तामा रहेका नेताहरूले चुनावका बेला भ्रम छरे पनि जनताले ती भ्रमहरूलाई नपत्याउने बताए। ‘प्रधानमन्त्रीले मेरै जोडले रेनुलाई मेयरको उम्मेदवार बनाएको भन्नुभएछ, मेयर बनाउने प्रेम बसेछ,’ उनले भने, ‘शेरबहादुर देउवाजी, यो प्रेम ज्यादै कमजोर छ, च्याउरे पिरती चाँडै अंगभंग हुनेवाला छ।’
उनले प्रधानमन्त्री पत्नीले कांग्रेसले चुनाव हारेका ठाउँमा बजेट नदिने भनि दिएको अभिव्यक्तिको पनि चर्को आलोचना गरे। ‘क्या वात, जनतालाई बेबकुफ ठान्ने, यो राणाशासान होइन,लोकतन्त्रको युग हो,’ उनले भने, ‘तपाईको खल्तीको पैसा होइन, यो जनताले तिरेको करको पैसा हो। जनताले यस्ता भ्रममा पर्दैनन्।’ एमाले लोकतन्त्रको पहरेदार भएको दाबी गर्दै उनले एमालेबाट बनेका उम्मेदवारहरूले स्थानीय तहको चुनावमा सहजै जित्ने दाबी गरे।
भरतपुरमा एमाले र राप्रपा बिच चुनावी तालमेल भएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष तथा पूर्वमन्त्री विक्रम पाण्डेले महानगर पार्टी कार्यालय जस्तो बनेको आरोप लगाएको छ। एमाले चितवनले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै पन्ध्र सोह्र हजारको जागिर खुवाएर पार्टीको कार्यकर्ता बनाउने काम भएको बताए। उनले भरतपुर महानगर दलको भर्ती केन्द्र सरह बनेको बताए। ‘भरतपुर महानगरपालिका हो कि पार्टी कार्यालय हो,’ उनले भने, ‘महानगरपालिका जनताको शितल चौतारी हुनुपर्छ, जनताको लागि आशाको केन्द्रबिन्दु बन्नुपर्छ।’ कर तिर्न जादा समेत घण्टौं लाइन बस्नुपर्ने अवस्था आएको गुनासो सुन्ने गरेको बताए। पूर्वमन्त्री पाण्डेले देशमा राष्ट्रवादीहरूको एकताको खाँचो देखिएको बताए।
भरतपुर महानगरपालिका एमाले मेयरका उम्मेदवार विजय सुवेदीले जितेपछि भारत भ्रमण गर्ने बताएका छन्। भारतका केजरीवाल, नितिन गडकरीलाई भेटेर उहाँहरूबाट सिकेर आएर काम गर्ने बताए। उनले महानगरमा ५ वर्षपछि कोही पनि गरिबीको रेखामुनि नहुने जिकिर गरे।
गरिबीको रेखामुनी भएकालाई भत्ता दिने, फुसको छाना हुनेलाई जस्तापाता लगाइदिने, चुहिएका छानामा जस्तापाता लगाइदिने योजना सुनाए। उनले ५ वर्षपछि कोही पनि घाममा बसेर आमसभा, भाषण सुन्न नपर्ने वातावरण बनाउने बताए। चुनवी सभामा एमाले र राप्रपाबाट उम्मेदवारी दिएका प्रमुख तथा उपप्रमुखको सहभागिता रहेको थियो।
प्रकाशित: २६ वैशाख २०७९ ०४:०५ सोमबार