१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कीर्तिपुरको नतिजामा तीनवटा वडा निर्णायक

कीर्तिपुर नगरपालिकाका पुरानो बस्तीका तीनवटा वडाले सधैं निर्वाचनको मत परिणामलाई प्रभावित पार्ने गरेको छ। यो बस्तीका बासिन्दाले पार्टीका आधारमा, जातीय आधारमा र नातेदारको आधारमा मतदान गर्ने गरेको पाइन्छ।

यस नगरपालिकाका ३० हजार ३ सय २८ मतदाताले मतदान गर्ने भए पनि किर्तिपुरका तीन वडा वडा १ लायकु, वडा २ देवढोका र वडा १० चिठुविहार, मानटोलका बासिन्दाको मत निर्णायक हुने गरेको छ। नेवारमध्ये पनि करिब ९० प्रतिशत महर्जन रहेको यो कीर्तिपुरको थुम्कोेको बस्तीमा वडा ३ को केही भागअन्तर्गत पालीफल पनि जोडिएको छ।

यस बस्तीमा करिब आठ हजार मतदाता छन्। अग्रिेस, एमाले र माओवादी केन्द्रबाट यिनै बस्तीबाट उम्मेदवार उठेका छन्। राजनीतिक दलबाट पनि आफ्नो पक्षमा जित हासिल गर्न यस बस्तीबाटै प्रायः उम्मेदवार उठाउने गरेका छन्। कांग्रेसका नगर प्रमुख राजकुमार नकर्मी, एमालेका केशरत्न बज्राचार्य र माओवादीका शिवशरण महर्जन यस बस्तीका स्थानीय हुन्।

‘यस बस्तीभन्दा बाहिरबाट नगरप्रमुख जस्तो पदमा उम्मेदवार उठाएमा जित्न निकै कठिन हुन्छ,’ एक स्थानीयले भने। मतदाता भने कुनै पनि दलको नेता मत माग्न आए पनि हस् हुन्छ नै भन्ने गरेका छन्। उनीहरूले कसैलाई पनि मत दिन्न भनेका छैनन् र नेताहरूसँग कुनै माग र गुनासो पनि राख्ने गरेका छैनन्। २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार एमालेका रमेश महर्जनले ७ हजार ३ सय ६० मत प्राप्त गरेका थिए। उनका लागि आधाभन्दा बढी मत यही वडाबाट परेको थियो।

कीर्तिपुर नगरपालिकामा एमालेबाट मेयरको टिकट वितरणमा देखिएको अन्तर्विरोधका कारण एमालेले जित हासिल गर्न चुनौती बन्दै गएको छ। यसअघिका मेयर रमेश महर्जन पुनः दोहोरिन चाहेको अवस्था र उनीपछि अन्य पुराना कार्यकर्ता पनि केशरत्न बज्राचार्यलाई नगर प्रमुखको टिकट दिएकोमा असन्तुष्ट देखिएका छन्।

टिकट नपाएपछिको अवस्थाले मतदाताहरूले अन्तर्घात गर्ने सम्भावना पनि देखिएको छ। एमालेको प्रचारप्रसारमा पनि उल्लेखनीय सहभागिता हुन छाडेको छ। प्रचारप्रसार बज्राचार्यले कीर्तिपुरलाई साइकल तथा पैदलयात्रीमैत्री बनाउने बताउने गरेका छन्। एमालेले २०७४ सालको स्थानीय तहको निर्वाचनमा नगर प्रमुख र उप प्रमुख सहित ६ वटा वडामा एकलौटि जित हासिल गरेको थियो भने अन्य वडामा पनि आफ्नो उपस्थिति भने राखेको थियो।

अघिल्लोपटक एमालेको वर्चस्व भएका कारण कतिपय काममा मतदाता एमालेप्रति असन्तुष्ट बन्दै गएको अवस्था रहेको स्थानीयको भनाइ छ। यता, कांग्रेसमा पनि अन्तरविरोध देखिएको छ। कांग्रेसका कीर्तिपुर नगर समिति सभापति रहेका कृष्णमान डंगोलले पनि मेयरको दाबी गरेका थिए। नगर प्रमुखका उम्मेदवार राजकुमार नकर्मी यसअघि पनि नगर प्रमुखमा रमेश महर्जनसँग पराजित भएका हुन।

एकपटक हारेका व्यक्तिलाई पुनः उम्मेदवार बनाएको भन्दै कांग्रेसका केही नेता असन्तुष्ट बनेको पाइएको छ। मतदाताले अन्तर्घात नगरेमा यसपटक कांग्रेस र माओवादी केन्द्रबीच मै तीव्र प्रतिस्पर्धा हुने स्थानीय बताउँछन्। माओवादी केन्द्रबाट उम्मेदवार बनेका शिवशरण महर्जनलाई व्यक्तिगत र पार्टीगत रूपमा मत आउने सम्भावना देखिन्छ। मानटोलका स्थानीय राजेश महर्जनले भने, ‘जुन पार्टीले जिते पनि यहाँका वासिन्दाले पाउने केही होइन, तैपनि सधैं आशावादी छौं। अरू सबैको हेरियो यसपटक शिवशरण महर्जनजस्तो एउटा शिक्षित व्यक्ति उम्मेदवार हुनुभएको छ, केही गर्नुहुन्छ कि भन्ने लागेको छ।’

शिवशरण त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक पनि हुन्। उनले विजयी भए आफ्नो मासिक तलब सबै सामाजिक कार्यमा लगाउने वाचा पनि गरेका छन्। यता कांग्रेसका वडा ३ का वडाध्यक्षका उम्मेदवार सुविन्द्र महर्जनले भने यसपटक कांग्रेसले जित हासिल गर्ने आशा रहेको बताए। उनले निर्वाचित भएमा यहाँ हुने भ्रष्टाचारलाई उन्मूलन गर्ने दाबी पनि गरे ।

प्रकाशित: २६ वैशाख २०७९ ०१:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App