६ वैशाख २०८१ बिहीबार
राजनीति

घरदैलो सकेर भोट हाल्न सिकाउँदै उम्मेदवार

मतदातालाई मतदान गर्ने तरिका सिकाउँदै नेकपा एमाले तर्फबाट धादिङको त्रिपुरासुन्दरी गाउपालिका उपाध्यक्षका उम्मेदवार संगिता कुमाल। तस्बि: शंकर/नागरिक

दलका उम्मेदवारहरु यतिवेला मतदाता शिक्षा सिकाउन व्यस्त बनेका छन्। निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम नगर्दा अन्यौलमा रहेका मतदातालाई मतदान गर्ने तरिका सिकाउन उम्मेदवारहरु आँफै कस्सिएका हुन्।  

घरदैलो अभियान सकेका उम्मेदवारहरु मतदातालाई प्रत्यक्ष भेटेर मदतान गर्ने तरिका सिकाउनै व्यस्त बनेका छन्। जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकामा नेकपा एमालेतर्फबाट उपाध्यक्षका उम्मेदवार संगिता कुमाल भन्छिन्, ‘यो पटक निर्वाचन आयोगले मतदाता शिक्षाको कार्यक्रम नै राखेन, आफ्नो मत बदर नहोस् भनेर मतदाताको घरघरै पुगेर मन परेको उम्मेदवारको चुनाव चिन्हमा स्वस्तिक छाप लगाउन र मतपत्र पट्याउन सिकाइरहेका छौं।’

केही उम्मेदवारहरुले त तलब भत्ता नै दिएर मतदाता शिक्षा सिकाउन थालेका छन्। नमूना मतपत्रमा स्वस्तिक छाप लगाएर नै उम्मेदवारहरुले आफ्ना मतदाताहरुलाई मतदान गर्न सिकाइरहेका छन्। भोट माग्ने क्रममा एक पटक सबैको घरघर चाहारिसकेका उम्मेदवारहरु फेरी भोट हाल्ने तरिका सिकाउन दोहोर्‍याएर मतदाताको घरघर डुलिरहेका छन्।

त्रिपुरासुन्दरी लगायन पहाडी क्षेत्रमा अहिले मकै गोड्ने बेला भएको छ। चैतमा रोपेको धान गोड्न, तरकारी लगाउन किसानहरु खेतबारीमा भेटिन्छन्। बर्षाले केही राहत दिएसंगै किसानहरु खेतबारीको काममा व्यस्त छन्। दलका कार्यकर्ता र उम्मेदवारहरु पनि मतदान गर्ने तरिका सिकाउन खेतबारीमै पुगेको भेटिन्छन्।

घरदैलो नै नभ्याएका उम्मेदवारहरुलाई भने अहिले निकै दौडधुप छ। किसानहरु खेतबारीमा नै व्यस्त भएका बेला उम्मेदवारहरु पनि भोट माग्न खेतबारीमा नै पुगेका छन्। मकै लगाउँदै गरेका जितबहादुर कुमालले भोट माग्न पुगेका उम्मेदवारलाई भने ‘मलाई खोज्दै बारिमै आइपुग्नुभयो, मैले दिएको मतको कदर होस्, गाउँको मुहार फेरियोस्।’

प्राय सबै दलका उम्मेदवारहरु अहिले चौविसै घण्टाजसो मतदाताको घरदैलोमै भेटिन्छन्। मतदाता पट्याउने मात्रै होइन मतपत्र पट्याउने तरिका पनि उनीहरुले नै सिकाइरहेका छन्। भोट कसरी हाल्ने, मतपत्र कसरी पट्याउने, सदर र बदर कस्तो अवस्थामा हुन्छ भन्ने विषयमा मतदातालाई शिक्षा सिकाउन गठबन्धनका उम्मेदवारलाई अझै चुनौती बनेको छ।

‘मतदाता शिक्षाका बारेमा थाहा नहु“दा अघिल्ला निर्वाचनहरुमा धेरै मत बदर भयो।’, नीलकण्ठ नगरपालिकाका गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना भन्छन्,‘यो पटक झनै मतदाता शिक्षा कार्यक्रम नै गरिएन, त्यसैले घरदैलोसँगै मतदाता शिक्षा पनि दिइरहेका छौं।’ निर्वाचन आयोगले मतदाता शिक्षाको बारेमा नसिकाएपछि उम्मेदवारहरु आफैले मतदाता शिक्षा सिकाउदै हिडेको उनले बताए।  

विभिन्न आश्वासन, अठोट बोकेर मतदाता समक्ष पुगेका उम्मेदवारहरु आफ्नो पक्षमा भोट आउनेमा आशावादी छन्। गाउँ नपुगेकाहरु अहिले खेतबारी, गोठ, चरन क्षेत्र, बाटोमा भेटिएकाहरुलाई आश्वासन बाडेर भोट मागिरहेका छन्। मतदाता समक्ष पुगेर दुईहात जोडेर भोट मागिरहेको दृष्य अझै रोचक देखिन्छ। धादिङमा दुई नगरपालिका र ११ वटा गाउँपालिका छ।

प्रकाशित: २५ वैशाख २०७९ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App