८ वैशाख २०८१ शनिबार
राजनीति

बहिनी गाउँपालिका अध्यक्ष, दाई वडाध्यक्षको उम्मेदवार

पत्रकार,स्वास्थ्यकर्मी, शिक्षक चुनावी मैदानमा

पाल्पाको बगनासकाली गाउँपालिकामा स्थानीय निर्वाचन रोचक देखिएको छ। बगनासकाली गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसबाट एकै घरका दाजुबहिनी उम्मेदवार बनेका छन्। यही पालिकामा चार महिला गाउँपालिका अध्यक्षमा उम्मेदवार बनेका छन्।

यस्तै दुई पत्रकार समेत चुनावी मैनादमा होमिएका छन्। जिल्लाको बगनासकाली गाउँपालिकामा गठबन्धन सम्बद्ध दल नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्षमा सुनिता अधिकारी उम्मेदवार बनेकी छिन्। सुनिताका सहोदर दाजु लक्ष्मीप्रसाद अधिकारी बगनासकाली–६, का यम्घामा वडा अध्यक्षको उम्मेदवार बनेका छन्।

पाल्पामा चार पत्रकार, दुई स्वास्थ्यकर्मी, दुई शिक्षक चुनावी मैदानमा

पाल्पामा चार जना पत्रकार स्थानीय निर्वाचन २०७९ मा चुनावी प्रतिस्पर्धामा होमिएका छन्। वैशाख ३० गते हुने निर्वाचनका लागि जिल्लामा गाउँपालिका अध्यक्ष र वडाध्यक्षमा उनीहरुले उम्मेदवारी दर्ता गराएका हुन्।

नेपाल पत्रकार महासंघ पाल्पाका निवर्तमान अध्यक्ष राजेशकुमार अर्याल नेकपा एमालेबाट तानसेन नगरपालिका वडा नं. ९ को वडाध्यक्ष पदमा उम्मेदवार बनेका छन्। यस्तै नेकपा एमालेबाटै तानसेन नगरपालिका वडा नं. ८ मा सोमनाथ अर्याल र ओमप्रकाश गैरे वगनासकाली गाउँपालिका वडा नं. ५ दर्लमडाँडाको  वडा अध्यक्षको उम्मेदवार बनेका छन्।

यस्तै वगनासकाली गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्रबाट अम्बिका पाण्डेले उम्मेदवारी दर्ता गराएकी छिन्। स्थानीय तहको निर्वाचनमा दुई जना प्रधानाध्यापक र दुई जना स्वास्थ्यकर्मी राजीनामा दिएर उम्मेदवार बनेका छन्।

माथागढी गाउँपालिकामा नेकपा एमालेबाट पालिका अध्यक्ष पदका लागि सिअहेब पदमा कार्यरत यमबहादुर चिदी र उपाध्यक्ष पदका लागि अनमी पदमा कार्यरत विष्णुमाया लुङ्चेले राजीनामा दिएर उम्मेदवार बनेका हुन्। राजीनामा दिनुअघि चिदी जिल्लास्थित स्वास्थ्य वीमा बोर्ड प्रमुखको रुपमा कार्यरत थिए।

लुङ्चे भने माथागढी गाउँपालिकाको गोठादी स्वास्थ्य चौकीमा अनमी पदमा कार्यरत थिइन्। यस्तै पूर्वखोला–५, स्थित गणपति माविका प्रअ विष्णु पल्लीले शिक्षकबाट राजीनामा दिएर उम्मेदवार बनेका छन्। नेकपा एमालेबाट पूर्वखोला गाउँपालिका वडा नं. ५ को वडा अध्यक्षमा पल्ली उम्मेदवार बनेका हुन्।

यस्तै जिल्लाको रामपुर नगरपालिका–९, को प्रगतिशील प्राविका प्रअ नेत्र गाहाले नेकपा एमालेबाट रामपुर ९ मा वडा अध्यक्षको उम्मेदवार बनेका छन्। तानसेन ९ मा वडाध्यक्ष पदमा उम्मेदवार बनेका राजेशकुमार अर्यालले झन्झटमुक्त सेवा प्रवाह, वडा कार्यालयमै कर प्रशासन, भष्टाचारमुक्त र सुशासनयुक्त स्थानीय सरकार, प्राविधिक शिक्षा, खेलकूद, कृषि तथा सीमान्तकृत समुदायको उत्थान जस्ता विषय समेटेर प्रतिबद्धता पत्र सार्वजनिक गरि चुनावी मैदानमा होमिएको बताए।

तानसेनलाई विकेन्द्रीकरण गर्दै जनताको आवश्यकता र मर्म अनुसारका विकास कार्य गर्न आफ्नो उम्मेदवारी रहेको अर्यालले बताए। नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष रेखीराम रानाले पत्रकार आचारसंहितालाई ध्यान दिँदै पत्रकार महासंघको सदस्यबाट गैरेले लिखित र अन्य दुई जनाले मौखिक राजीनामाको जानकारी गराएको बताए। पाण्डे भने पत्रकार महासंघमा सदस्य छैनन्।

प्रकाशित: २५ वैशाख २०७९ ०८:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App