७ वैशाख २०८१ शुक्रबार
राजनीति

भीमेश्वरमा गठबन्धनले चुनावी सभा नगर्ने

जिल्लाको सबैभन्दा ठूलो र धेरै मतदाता भएको भीमेश्वर नगरपालिकामा कांग्रेस नेतृत्वको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने भएको छ।

वडा तथा टोल भेला तथा सभाहरू सकेको गठबन्धनले नगरस्तरीय चुनावी सभा नगर्ने कांग्रेसका नगर सभापति शंकर कार्कीले बताए। नगर सभा र शक्ति प्रदर्शनको साटो टोल तथा घैरदैलो केन्द्रित भेला र मतदाता शिक्षालाई अन्तिम समयसम्म जारी राखिने कार्कीले सुनाए।

उनका अनुसार हरेक वडामा तीन सयका दरले मौन अवधि सुरु हुनु अघिसम्म २७ सय स्वयंसेवकले घरदैलोमा पुगेर मतदाता शिक्षा दिलाउनेछन्। ‘२०७४ को स्थानीय निर्वाचनमा यो नगरमा २३ सय मत बदर भयो, त्यसमध्ये रूख चिन्हमा समेत लागेको मात्र १७ सय थियो’ उनले भने, ‘यसपटक त्यसरी मत बदर हुन नदिने गरी मतदाता शिक्षा दिनेछौं, हाम्रा २७ सय स्वयंसेवकले मतदाता शिक्षा दिनेछन्।’

कार्कीले स्वयंसेवक गत सातादेखि नै टोलमा रहेको सुनाए। यता एमालेले भने २६ गते चरिकोटको सातदोबाटो चोकमा नगरस्तरीय सभा गर्दै छ। भीमेश्वर नगरपालिकामा गठबन्धनबाट कांग्रेसका ईश्वर मानन्धरले मेयर एकीकृत समाजवादीका संगीता पाख्रिनले उपमेयरमा उम्मेदवारी दिएका छन्। उनीहरूलाई कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीको साथ छ। एमालेबाट हरिवंश चौलागाई मेयर र कमला बस्नेत उपमेयरमा मैदानमा छन्।

प्रकाशित: २५ वैशाख २०७९ ०६:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App