coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेस गढ भत्काउने दाउमा एमाले

विराटनगर महानगरपालिकामा सत्ता गठबन्धन र प्रमुख विपक्षी एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ। विगतमा विराटनगर महानगरपालिकामा जित निकालेको नेपाली कांग्रेस यसपटक पनि इतिहास दोहोर्‍याउने दाउमा छ।

कांग्रेसलाई गठबन्धनको साथ छ। एमाले पनि कांग्रेस गढ मानिएको विराटनगरमा आफूले जितेर गठबन्धनलाई चुनौती दिने तयारीमा छ। विराटनगर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट कांग्रेस मोरङ उपसभापति समेत रहेका नागेश कोइराला उम्मेदवार छन्। विराटनगरमा केन्द्रबाट मेयर र उपमेयरमा गठबन्धन भए पनि वडास्तरमा तालमेल हुन सकेको छैन।

शीर्ष नेताहरूले पद बाँडफाँट गरेर मेयरमा कांग्रेस र उपमेयरमा जसपाबाट उम्मेदवार अघि सारे पनि वडास्तरका कुनै पनि पदमा गठबन्धन दलबीच चुनावी तालमेल भएको छैन। एक्लै जित्छु भन्ने कांग्रेसको घमन्डका कारण वडास्तरमा तालमेल हुन नसकेको आरोप गठबन्धनमा आबद्ध अन्य दलले लगाउँदै आएका छन्।

विशेषगरी नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) ले कांग्रेसको दम्भले वडास्तरमा गठबन्धन हुन नसकेको आरोप लगाइरहेका छन्। कांग्रेस नेताहरूले भने गठबन्धनमा आबद्ध अन्य दलका नेताले हैसियतभन्दा धेरै पदमा दाबी गरेकाले वडास्तरमा तालमेल हुन नसकेको बताउँदै आएका छन्।

माओवादी केन्द्रका विराटनगर इन्चार्ज भोगेन्द्र यादवले गठबन्धन दलले केन्द्रबाट गरेको निर्णय मान्न आफूहरू तयार रहेको बताए। उनले गठबन्धनका तर्फबाट कांग्रेसलाई मेयर र जसपालाई उपमेयरमा मतदान गर्न आफूहरू तयार भए पनि आफूहरूका उम्मेदवारलाई उनीहरूले कुनकुन पदमा मतदान गर्छन् भन्ने विषय पनि प्रस्ट हुनुपर्ने बताए।

वडास्तरमा चुनावी तालमेल नभएपछि गठबन्धनमा आबद्ध दल र ती दलका असन्तुष्ट समूहले स्वतन्त्रबाट छुट्टै उमेदवारी दर्ता गराएका छन्। जसपाका तर्फबाट मेयरमा दाबी गर्दै आएका उमेश यादवले पार्टी छाडेर स्वतन्त्रबाट मेयरमा उमेदवारी दिएका छन्।

यस्तै माओवादी केन्द्रकी विराटनगर महानगर सचिव नमिता न्यौपानेले स्वतन्त्रबाट उपमेयरमा उमेदवारी दिएकी छन्। यादव र न्यौपानेले २०७४ सालको स्थानीय निर्वाचनमा क्रमशः तत्कालीन संघीय समाजवादी पार्टीबाट मेयर र माओवादी केन्द्रबाट उपमेयरमै निर्वाचन लडेका थिए।

यो स्थानीय तहको निर्वाचनमा पनि उनीहरू स्वतन्त्रबाट मेयर र उपमेयरमा प्रतिस्पर्धा गरिरहेका छन्। उनीहरू स्वतन्त्र उम्मेदवार भए पनि निर्वाचनमा भने एउटै चुनाव चिह्न लिएर अघोषित रूपमा स्वतन्त्रको गठबन्धन बनाएर प्रतिस्पर्धामा अघि बढिरहेका छन्।

मेयरका उम्मेदवार यादवलाई जसपाको असन्तुष्ट पक्षको साथ छ। यस्तै माओवादी केन्द्रले पनि साथ दिने आकलन गरिएको छ। उपमेयरकी स्वतन्त्र उमेदवार न्यौपानेलाई माओवादी केन्द्रले नै अघोषित रूपमा साथ दिएको छ। पार्टीबाटै साथ पाएकी न्यौपाने गठबन्धनमा आबद्ध जसपा र कांग्रेसको असन्तुष्ट पक्षले सहयोग गर्ने भन्दै निर्वाचन जित्नेमा आशावादी छिन्।

यस्तै मेयरका स्वतन्त्र उम्मेदवार यादवले पनि जसपाले मेयरमा उम्मेदवारी नदिएका कारण जसपाको असन्तुष्ट मत आफूलाई नै आउने, कांग्रेसलगायत अन्य दलका मधेसी मूलका मतदाताको मत आउने, माओवादी केन्द्र र नेकपा एसले पनि सघाउने भएकाले निर्वाचन जित्ने दाबी गर्दै आएका छन्।

गठबन्धनबाट उपमेयरका उमेदवार अमरेन्द्र यादवले विराटनगरमा पहाडी र मधेसी दुईवटा समुदाय रहेको र दुवैलाई समेटेर गठबन्धनले मेयर र उपमेयरको उम्मेदवार बनाएकाले जित निश्चित रहेको बताए। पहिलो र तेस्रो दलबीच मात्रै नभई अन्य दलहरू माओवादी केन्द्र र नेकपा एसले पनि सघाउने भएकाले निर्वाचन जित्न गाह्रो नहुने गठबन्धनका नेताहरूले बताउँदै आएका छन्।

दुवै उम्मेदवार विराटनगरका रैथाने र तल्लो तहसम्म परिचित भएकाले स्थानीय तहको निर्वाचन सजिलै जित्नेमा गठबन्धन ढुक्क छ। गठबन्धनबाट मेयरका उम्मेदवार कोइरालाले माओवादी केन्द्र र जसपा नेताकार्यकर्ताले एमाले उम्मेदवारलाई मतदान नगर्ने बताए।

उनले भने, ‘एमालेको व्यवहारबाट वाक्क भएर दुई तिहाइको सरकार छाडेर कांग्रेसलाई साथ दिन आएकाले विराटनगरमा माओवादी केन्द्र र नेकपा एसका मतदाताले गठबन्धनका उम्मेदवारलाई नै सघाउनुहुनेछ।’ गठबन्धनका नेताहरू अघिल्लो निर्वाचनको मत परिणामका आधारमा गठबन्धनका उमेदवारलाई चुनाव जित्न कुनै गाह्रो नभएको विश्लेषण गर्छन्।

कांग्रेस केन्द्रीय सदस्य तथा विराटनगर महानगरका मेयर भीम पराजुलीले विगतमा कांग्रेस एक्लै मेयर, उपमेयरसहित बहुमत वडामा विजयी भएकाले अहिलेका उम्मेदवारलाई जित्न कुनै गाह्रो नभएको बताउँछन्। विगतमा कांग्रेसले मेयरमा करिब २३ हजार मत र उपमेयरमा करिब २० हजार मत पाएर विजयी भएको, विराटनगरको तेस्रो दल जसपा र माओवादी केन्द्रको गठबन्धनले मेयरमा १४ हजार र उपमेयरमा ११ हजार मत प्राप्त गरेको, त्यसमाथि नेकपा एसको मत पनि थपिएको र नयाँ मतदाता पनि थपिएका कारण अहिले गठबन्धनको पक्षमा ४५ हजार मत निश्चित रहेको पराजुली बताउँछन्।

एमालेका नेता पनि स्थानीय तहको निर्वाचनमा आफ्नो पक्षमा परिणाम आउने दाबी गर्छन्। एमालेबाट विराटनगरको मेयरमा सागर थापा र उपमेयरमा शिल्पा कार्की उम्मेदवार छन्। स्थानीय तह निर्वाचनमा टिकट दिने बेला कांग्रेसमा चर्को प्रतिस्पर्धा भएकाले टिकट नपाएको समूहले आफूहरूलाई सघाउने एमालेको ठम्म्याइ छ।

यति मात्रै होइन, पाँच दलीय गठबन्धन भनिए पनि माओवादी केन्द्र र नेकपा एसले गठबन्धनलाई नभई आफ्ना उम्मेदवारलाई सघाउने एमालेको विश्वास छ। अघिल्लो निर्वाचनमा दोस्रो स्थानमा रहेको एमाले सत्ता गठबन्धनभित्रको किचलोका कारण असन्तुष्ट पक्षको मत आफ्ना उम्मेदवारलाई आउनेमा आशावादी छ।

कांग्रेस र जसपाभित्रको असन्तुष्ट मत र माओवादी केन्द्र र नेकपा एसको पनि केही मत आफ्ना उम्मेदवारलाई आउने भएकाले आफूहरू जितको नजिक रहेको एमाले उम्मेदवार थापाको दाबी छ। उनले आफू भुइँ मान्छे भएकाले दलका कार्यकर्ताबाहेक सबै जनताको साथ पाउने बताउँदै आएका छन्।

आफू विराटनगरका समस्यासँग राम्ररी परिचित भएको र आफूले जिते मात्रै यी समस्या सम्बोधन हुने थापाको भनाइ छ। उनले ‘म भुइँ मान्छे हुँ, भुइँ मान्छेले जिते मात्रै तल्लो तहसम्मका जनताको समस्या समाधान गर्न सक्छ’ भन्दै मतदाता फकाउँदै आएका छन्।

एमालेबाट उपमेयरको उम्मेदवार बनेकी शिल्पा कार्कीले गठबन्धनले मेयर र उपमेयर दुवै पदमा पुरुष उम्मेदवार बनाएका कारण महिलाको अधिकार स्थापित गर्न उपमेयरमा आफूलाई मतदान गर्न आह्वान गर्दै आएकी छन्।

विराटनगरमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका गठबन्धनका मेयर र उपमेयरका उम्मेदवारले पहिलोपटक स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिएका हुन्। यस्तै एमालेका थापा र कार्कीले पनि पहिलोपटक उम्मेदवारी दिएका हुन्। गठबन्धनबाट मेयरका उम्मेदवार कोइराला नेपाली कांग्रेसनिकट तरुण दलबाट राजनीतिमा आएका हुन्।

यस्तै उपमेयरका उम्मेदवार यादव जसपाका अध्यक्ष उपेन्द्र यादवका छोरा हुन्। उनी जसपाको विराटनगर महानगर समिति अध्यक्ष पनि हुन्। एमालेका थापा विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका हुन्। उनले महेन्द्र मोरङ क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारी सम्हालिसकेका छन्।

यस्तै कार्की व्यापारिक क्षेत्रबाट राजनीतिमा आएकी हुन्। विराटनगर महानगरपालिकामा दलहरू र स्वतन्त्रतर्फबाट गरी मेयरमा १६ र उपमेयरमा १५ जना उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित: २५ वैशाख २०७९ ००:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App