coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

दोलखाले दाग मेटाउला?

स्थानीय तह निर्वाचन

बिहीबार दिउँसो २ बजे:

चरिकोट स्थित व्यस्त सातदोबाटो चोकमा पिरो थुक्पा खान पाइने एउटा प्रख्यात होटल छ। त्यहीँ होटलमा सशस्त्र प्रहरीका तीन जवान युवती खाजा (थुक्पा) खान छिरे।  

उनीहरु चुनावको तयारीका लागि थप मद्धत स्वरुप दोलखा आएको उनीहरुको कुरानाकानीबाट बुझिन्थ्यो। त्यतिकैमा एक जनाको मोबाइलमा घण्टी बज्यो। ‘छोरी, के छ, खाजा खायौं?’ उताबाट महिलाको आवाज आयो– ‘सञ्चै छु आमा, खादैँछु’–  यताबाट उनले जवाफ फर्काइन्। फोन लाउड स्पिकरमा थियो।

‘ड्युटीमा दोलखा खटिइस, पिर लाग्छ, अघिल्लो चुनावमा पवटी र जुँगु भन्ने गाउँमा मान्छे मरेका थिए रे, ५/७ ओटा गाउँहरुमा चुनावमा मारपटि चल्छ रे, ड्युटीमा त्यता नजानु है, ज्यान जोगाएर काम गर्नु,’ ‘आमा के गर्नु, फौजीको जागिर जान्न भनेर सुख पाइँदैन, जहाँ पठायो त्यही जानुपर्छ’ – आमालाई त्यति भनेर बिट मारिन्।  

उनी एकाएक भावुक भइन्। साथीहरुसंग आक्रोश भावमा भनिन्, ‘जिल्ला यति सुन्दर छ, चुनाव चाही कति बदनामित है, चुनावमा मान्छे मर्ने जिल्लामा छोरी ड्युटी गर्न गई भनेर आमालाई कसले सुनाईदिएछ? पिर गरेको गर्‍यौ हुनुहुन्छ।’    

थुक्पा खान चरिकोटको एउटा होटलमा छिरेका ति महिला प्रहरी जवानहरुको गफ पल्लो छेउको टेबलमा बसेर मैले सुनिरहेको थिए। उनीहरुको म तिर ध्यान नभएकाले मैले सुनिरहेको छ भन्ने आभाष सायद उनीहरुलाई थिएन। तर उनीहरुको कुरा सुनिरहँदा मलाई एउटा बिषयले पिरोल्न थाल्यो– ‘के दोलखा हरेक चुनावमा बदनामित नै हो? यो निर्वाचनमा दोलखाले यो दाग मेटाउला?’

...

२०७४ को स्थानीय चुनावमा गौरीशंकर गाउँपालिकाको जुँगुमा एमाले र माओवादी केन्द्रका कार्यकर्ताबीचको झडपका क्रममा एक एमाले कार्यकर्ता मारिए। एमाले निकट अर्का स्थानीय शिक्षक गम्भीर घाइते भए। घटनामा संलग्नलाई कानुनी कठघरामा उभ्याएर कार्बाहीको पहल गर्नुको सट्टा एमालेले यो घटनालाई चुनावी स्वार्थ प्रयोग गर्ने अस्त्र बनायो। माओवादी केन्द्रका झण्डै ३ दर्जन बढी जिल्ला स्तरका प्रभावशालीदेखि घटनामा जोडिँदै नजोडिएकाहरुसम्मलाई दोषी बनाएर जाहेरी दिइयो। मुद्दा परेपछि माओवादी केन्द्रका स्थायी कमिटी सदस्यसहितका नेताहरुको भूमिगत भए। उनीहरु चुनावका दिन भोट खसाल्नै आएनन्। उक्त चुनावमा एमालेले यो गाउँपालिका त जित्यो। तर कुनै पनि दोषी पक्राउ परेनन्। म्याद सकिएपछि प्रहरीले मुद्दा अदालतमा पठायो। आरोपितहरु अदालतमै हाजिर भएर छुटे। राजनीतिक स्वार्थ पूरा गर्ने दाउमा मुद्दा फितलो बनाइँदा निहत्था र निर्दोष कार्यकर्ताको परिवारले न्याय पाएन।  

मेलुङ गाउँपालिकाको पवटीमा चुनावको दिन गोली चल्यो। मतदानका क्रममा विवाद बढेपछि त्यही निहुँमा कांग्रेस कार्यकर्ताले बुथमा जबर्जस्ती गर्न थालेपछि प्रहरीले गोली चलाउदा एक जनाको मृत्यु भयो। दर्जन बढीलाई प्रहरीको गोली लाग्यो।  

यि दुई घटना अघिल्लो स्थानीय निर्वाचानका प्रतिनिधि घटना हुन्। बुथ कब्जा गर्ने र शान्तिपूर्ण चुनाव हुनै नदिने संस्कृति दोलखाका कतिपय मतदान केन्द्रहरुमा हरेक निर्वाचनमा हुने गरेको छ। धाँधलीरहित र निष्पक्ष निर्वाचन हुने वातावरण खल्बल्याउन दलहरु आफैं सक्रिय हुन्छन्। बुथ कब्जा गर्न र धाँधली गर्न दोलखामा कुनै पनि दल अछुतो छैनन्।

निर्दोष कार्यकर्ताको ज्यान जाँदा समेत दलहरु जिल्लाको निर्वाचनलाई शान्तिपूर्ण बनाउन र लोकतन्त्रको आधार स्तम्भ जनताको अभिमत रक्षा गर्न तयार छैनन्। सार्वजनिक मञ्चहरुमा हरेक दलको जिल्ला नेतृत्व निष्पक्ष र धाँधलीरहित निर्वाचनको वकालत गर्छ। तर चुनावको दिन आफ्नो शक्ति जनमत कब्जा गर्न उतार्छन्।  

२०७४ को स्थानीय चुनावमा माओवादी केन्द्रले आफ्नो आधार ईलाका मान्ने गरेको जुँगुमा एमालेले शक्ति बढाउने टकरावका कारण एमालेका ति कार्यकर्ता मारिए। जुँगुमा प्रायः निर्वाचन अशान्त नै हुन्छ। यो माओवादी केन्द्रका जिल्ला स्तरीयदेखि केन्द्रीय तहसम्मका नेताहरुको गाउँ हो। जुँगुमा उसलाई काउण्टर दिन एमालेले हरेक शक्ति लगाउन खोज्दा अशान्त हुन्छ।  

गौरीशंकरकै सुरी संघीय सांसद पार्वत गुरुङको गृह गाउँ हो। एमालेको गढ यो गाउँमा झडप वा मारपिट त चलेको सुनिँदैन। तर यहाँ विपक्षीलाई रोक्न र फर्जी मत हाल्न एमाले सक्रिय हुने गरेको विपक्षीको आरोप छ। सोही गाउँपालिकाको मार्बु क्षेत्रमा एमाले कार्यकर्ताले बलजफ्ती गर्ने गर्छन्।  

नेकपा एमालेका पोलिटब्युरो सदस्य, पूर्व संचार मन्त्री एवं जिल्लाका सांसद पार्वत गुरुङ र नेकपा माओवादी केन्द्रका केन्द्रीय नेताहरु देवी खड्का, गंगा कार्की र वागमती प्रदेशका मन्त्री बिशाल खड्का साथै कांग्रेसका पूर्व जिल्ला सभापति रुद्रबहादुर खड्काको गृह गाउँ भएका कारण यहाँ उनीहरुको प्रतिष्ठामा कार्यकर्ता जुध्ने र मारपिटमा उत्रिने गर्छन्। यसपटक यो गाउँपालिकामा एमालेविरुद्ध कांग्रेस माओवादी गठबन्धन छ।    

वैत्येश्वरको गैरीमुदी क्षेत्रमा कांग्रेस र एमालेबीच टकराव बढ्छ। दुवैले आफ्नो शक्ति देखाउन खोज्दा हरेक निर्वाचनमा घटना हुने गरेको छ। अघिल्लो चुनावमा यहाँ कांग्रेसले बलजफ्ती गरेको थियो। २०७० सालको चुनावमा एमालेले एउटा र कांग्रेसले अर्को बुथमा बलजफ्ती गरेका थिए। अघिल्लो स्थानीय निर्वाचनमा यो गाउँपालिकामा एमालेले तीन, कांग्रेसले तीन र माओवादीले एउटा मतदान केन्द्रमा बलजफ्ती गरेका थिए। बलजफ्ती गर्दा विपक्षीलाई लखेटेर बुथ कब्जा गर्नेदेखि मतदान केन्द्रमा आफ्नो दबदबा बढाएर मृत्यु भएका र उपस्थित नभएका मतदाताको नाममा फर्जी मत खसाल्ने गरिन्छ। ‘दिउँसोसम्म शान्तिपूर्ण मतदान हुँदै थियो, मध्यान्हदेखि फर्जी रुपमा मत खसाल्न सुरु गरियो,’ वैतेश्वरको मैनापोखरीका एक स्थानीयले भने, ‘त्यो सैद्धान्तिक रुपमा गरिएको बुथ कब्जा थियो।’  

तामाकोशी गाउँपालिकाको जफेमा अघिल्लो निर्वाचनमा एमालेका पालिका अध्यक्षका उम्मेदवारलाई लखेटेर कांग्रेस कार्यकर्ताले बलजफ्ती गरेका थिए। सोही गाउँपालिकाको शहरेमा बेलुकी पख एमाले कार्यकर्ताले कांग्रेस र माओवादीका कार्यकर्ता लखेटेर थप मत हालेका थिए।  

स्थानीय पछि मंसिरमा भएको संघीय तथा प्रदेश सभा सदस्य निर्वाचनमा अशान्त रहने केही बुथहरु शान्त भए। तर केहीमा फर्जी मत हाल्ने र विपक्षलाई मतदान केन्द्रबाट भगाउने काम रोकिएन।  

दोलखामा निर्वाचनमा बलजफ्ती गर्ने र नियन्त्रण गर्ने काम बहुदल यता नै चल्दै आएको छ।  तर २०६४ सालको संविधान सभा निर्वाचनमा यो क्रम बढ्न थाल्यो। शान्ति प्रक्रियामा आएर पहिलो चुनावमा भाग लिएको तत्कालिन बिद्रोही माओवादीले जिल्लाका धेरै स्थानमा एमाले र कांग्रेसका उम्मेदवार र कार्यकर्ता लखेटे। थुप्रै स्थानमा झडप हुन्थ्यो।  

२०७० को चुनावमा यसले उग्र रुप लियो। तत्कालीन क्षेत्र नं १ अशान्त रह्यो। चुनावमा पैसा र गुण्डा भित्र्याउने संस्कृति त्यही निर्वाचनबाट सुरु भयो। गाउँहरुमा दर्जनौं मानिस घाईइते भएका थिए।  

दोलखाको निर्वाचन अशान्त हुने परम्परालाई लिएर जिल्लामा खटिएका निर्वाचन अधिकृतहरुले चिन्ता व्यक्त गरेका छन्। गत साता सदरमुकाममा चलेको एउटा बैठकमा ९ ओटै स्थानीय तहका अधिकृतहरुले बुथ कब्जा गर्ने र मतदातालाई गौडा ढुकेर फर्काउने, फर्जी मत हाल्ने जस्ता गतिविधि बन्द गर्न आग्रह गरे।

चुनाव शान्तिपूर्ण गर्न सुरक्षा निकाय सक्रिय छ। तर दलहरु प्रतिबद्ध नभए सम्म शान्तिपूर्ण हुनेमा स्थानीय अधिकारीहरु ढुक्क छैनन्। उनिहरु सुरक्षा व्यवस्था चुस्त दुरुस्त राख्न सक्रिय छन्। ‘पहिलेका घटनाहरु हेर्दा दलहरु नै शान्तिपूर्ण गर्न तयारहुनुपर्छ’ प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाले भने, ‘प्रशासनले आफ्नो तयारी त गरि हाल्छ नी, भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सबै अस्त्र प्रयोग गर्दैछौं।’ प्रजिअ खतिवडाले जिल्लाका मदतान स्थलहरुमा ६ सय जनपथ, ९ सय ४२ म्यादी गरेर मतदान केन्द्रको भित्री भागमा १५ सय सुरक्षाकर्मी खटिने सुनाए।  

यस्तै तीन सय बढी सशस्त्र प्रहरीले मध्यम घेरामा सुरक्षा दिँदैछन्। बाहिरी घेरामा नेपाली सेना परिचालन हुँदैछ। मोबाइल गस्ती उतिकै परिचालन हुँदैछ। सुरक्षा कडाई पारिने र बाहिरबाट युवा ल्याउन रोक्ने रणनीति प्रशासनको छ। यस्तै सुरक्षा कडाई पार्न चुनावको एक साता अघि शनिबार बिहानैदेखि मदिरा बिक्री वितरणमा प्रशासनले जिल्लाभरि नै रोक लगाउने निर्णय गरेको छ। २०७४ को निर्वाचनलाई विश्लेषण गरेर स्थानीय प्रशासनले ४१ ओटा मतदान केन्द्रलाई अति संवेदनशीलको सूचीमा राखेको छ।  

प्रमुख जिल्ला अधिकारी खतिवडाले यसपटक फर्जी मत हाल्ने, विदेश गएकाहरु र मरेको मान्छेको नाममा मत हाल्न रोकिने सुनाए। ‘दलहरुसंग विशेष छलफल गरिरहेका छौं,’ प्रजिअ खतिवडाले भने, ‘हरेक मतदान केन्द्रमा आधार घण्टा भित्र विशेष मोबाइल टोली पुग्ने गरी प्रबन्ध गरिरहेका छौं।’  

खतिवडा दोलखाको चुनावलाई भयरहित, स्वच्छ र शान्तिपूर्ण बनाएर दाग मेट्न सबै राजनीतिक दल, प्रशासन र जिल्लाबासी सचेत हुनुपर्ने बताए।

प्रकाशित: २४ वैशाख २०७९ ०६:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App