७ वैशाख २०८१ शुक्रबार
राजनीति

दोलखाको भीमेश्वर नगरमा कसले मार्ला बाजी?

जिल्लामा सबै भन्दा धेरै मतदाता रहेको र जिल्ला सदरमुकाम समेत जोडिएको दोलखाको भीमेश्वर नगरपालिकामा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिष्पर्धा हुँदैछ।

नगरका ९ वटा वडामा २६ हजार ८ सय मतदाता छन्। नगर क्षेत्रमा क्षेत्री, नेवार, तामाङ, थामी, ब्राम्हण, दलित, भुजेल, शेर्पा लगायतका समुदाय बस्छन्। नगरभित्र सबै भन्दा धेरै क्षेत्री ४० प्रतिशत, नेवार १४ प्रतिशत, तामाङ १२.५ प्रतिशत, थामी ११.९८ प्रतिशत, ब्राम्हण ८.८ प्रतिशत र दलित ६.८ प्रतिशत बसोबास छ।

सदरमुकाम चरिकोट जोडिएका कारण चुनावमा सबैको चासो भीमेश्वर नगरमा छ। नगर प्रमुखका लागि ८ जनाले उम्मेदवारी दिएका छन्। उपप्रमुख पदमा ५ जना प्रत्याशी छन्। ९ ओटा वडाका वडाध्यक्ष पदका लागि वडा नं १ मा ५ जना, २ मा ५ जना, ३ मा ३ जना,  ४ मा ५ जना,  ५ मा ४ जना, ६ मा ५ जना, ७ मा ४ जना,  ८ मा ४ जना र वडा नं ९ मा ४ जना गरेर ३९ जना जना मैदानमा छन्। नगर प्रमुख, उपप्रमुख, वडा अध्यक्ष र वडा सदस्य गरि ४६ जना जनप्रतिनिधि चुनिने वैशाख ३० को निर्वाचनमा १ सय ६४ जना मैदानमा छन्। वडा नं ९ मा दलित समुदाय नरहेका कारण उक्त वडामा दलित महिला सदस्य बाहेक वडा अध्यक्ष सहित ३ जना सदस्य गरेर ४ जना मात्र चुनिदैछन्।  

नगर प्रमुख पदका लागि गठबन्धनबाट कांग्रेसका उम्मेदवार ईश्वर मानन्धर र एमालेका उम्मेदवार हरिवंश चौलागाइबीच मुख्य प्रतिष्पर्धा हुँदैछ। मानन्धरलाई नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको दरिलो साथ छ। 

गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले उपमेयर पदमा संगिता पाख्रिनलाई उतारेको छ। एमालेले उपप्रमुखमा यस अघिकै उपमेयर कमला बस्नेतलाई दोहोर्‍याएको छ। अधिकांशमा वडा तहसम्मै गठबन्धन भएको छ। वडा नं २ र ९ का वडा अध्यक्षसहितका पदमा माओवादी र कांग्रेसका छुट्टा छुट्टै र वडा नं १ मा कांग्रेस र माओवादी केन्द्रबीच गठबन्धन भएपनि समाजवादीले वडा तहमा छुट्टै उम्मेदवार उठाएको छ। वडा नं ४ मा माओवादी केन्द्रले आफ्ना उम्मेदवारलाई रुख चिन्हबाट वडाअध्यक्ष पदमा उठाएर गठब्नधन गरेको छ। अन्य सबै वडाहरुमा गठबन्धन भएको छ।

यसअघि एमालेले जितेको यो नगरमा आफ्नो विरासत पुनः फर्काउने गरि उसले सबै शक्ति लगाएको छ। एमालेका वाहलवाला मेयर भरत केसीलाई उठाउने निर्णय जिल्लाबाट भएपनि विवाद बढेपछि केन्द्रले अन्तिम समयमा आएर चौलागाईलाई अघि सारेको थियो। चौलागाई नगरको ४ नं वडाका अध्यक्ष हुन्।

कांग्रेसका उम्म्मेदवार मानन्धर यसअघि २०७४ सालमा समेत मेयरमा प्रत्याशी थिए। त्यतिबेला करिब हजार मतको अन्तरले पराजित भएका उनी ५ वर्षको अवधिमा नगरभित्र प्रतिपक्षमा रहेर आफूले सञ्चय गरेको शक्ति नै जितको मुख्य आधार बनाएर मैदानमा होमिएका छन्। ५ वर्षअघि निर्वाचनमा पराजय भोगेदेखि नै मानन्धरले ५ वर्षपछि निर्वाचन जित्ने गरि तयारी थाल्दै आएका थिए।

खासै नयाँ कार्यक्रम भन्दा पनि भीमेश्वर नगरमा एमालेको अघिल्लो नेतृत्वले गरेका कामलाई निरन्तरता दिने र शिक्षा, स्वास्थ्य र पर्यटनमा नगरलाई अब्बल बनाउने एजेण्डा एमाले उम्मेदवार चौलागाईले मतदाता माझ लगेका छन्। ठूला सडकहरुको स्तरोन्नत्ती, बसपार्क निर्माण, कृषि र पर्यटन उनको प्राथमिकता छ। एमालेको अघिल्लो कार्यकालमा सुरु भएका ठूला पूर्वाधारको निरन्तरता र नगरबासीलाई सुशासन दिने नै उनको मुख्य एजेण्डा छ। आफू ग्रामिण ईलाका बाटै उदाएको र किसान र मजदुरको हित गर्ने उनको नारा छ।

कांग्रेस उम्मेदवार मानन्धर भने एमालेको अघिल्लो ५ वर्षे कार्यकालका भष्ट्राचार, अनियमितता, टेण्डर/ठेक्कामा सेटिङदेखि कमजोर सुशासनको जालो तोड्ने र नगरलाई अब्बल पर्यटकीय नगर बनाएर नगरबासीलाई सुशासन दिने आक्रामक नारा बोकेर अघिल्लो कार्यकालसंग असन्तुष्ट मतदाता आफूतिर आकर्षित गर्न लागिपरेका छन्।

५ वर्षको अवधिमा नगरबासीले तिर्दै आएको १ सय ५० रुपैयाँ करमा भारी वृद्धि गरेर ३८ सय ५० सम्म पुर्‍याउँदा कांग्रेसले आन्दोलनमार्फत फिर्ता गराएकोदेखि प्रतिपक्षमै रहेर नगरबासीका हरेक समस्या उठान र सामाधानमा अग्रसरता लिएको भन्दै मतदाता फकाउन मानन्धर सक्रिय छन्। ‘डिजिटलाईज’ रणनीतिसहित मतदाता आकर्षित गर्न आक्रामक चुनावी प्रचार गरिरहेका मानन्धरले डिजिटल घोषणा पत्रमार्फत पूर्वाधार, सडक, कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, खानेपानी, सरसफाई, सुशासन लगायतका विषयमा १० ओटा मुख्य नाराअघि सारेका छन्। उनले डिजिटल घोषणा पत्रमा अघिल्लो कार्यकालमा अल्पज्ञान र अल्पसोचका आधारमा बजेट व्यवस्थापन नगरी ठूला पूर्वाधार बनाउँदा ति अलपत्र परेको दाबी गरेका छन्।

एमाले उम्मेदवार चौलागाईले पार्टीको व्यवस्थित संगठन र नगरको राजनीतिमा आफूले लामो समयदेखि गरेको काम नै आफ्नो जित्ने आधार रहेको सुनाए। ‘राजनितिक जिवनको प्रारम्भदेखि नै नगरकै काममा सक्रिय छु, त्योसंगै यो नगरमा मेरो पार्टीको दरिलो संगठन छ, त्यही नै मेरो जित्ने आधार हो’, उनले भने। उनले नगरको ग्रामिण ईलाकाबाट उठेकाले नगर क्षेत्रका गाउँका किसान र मजदुरले आफूलाई सघाउने दाबी गरे।

कांग्रेसका उम्मेदवार मानन्धरले ३० वर्षदेखी नगरको राजनीतिमा आफ्नो निरन्तर सक्रियता र एमालेको अघिल्लो कार्यकालको कार्यशैलीका कारण असन्तुष्ट मतदाताको समर्थन नै आफ्नो जितको प्रमुख आधार रहेको सुनाए। ‘अघिल्लो पटक प्राविधिकरुपले निर्वाचन हारे पनि मैले यो ५ वर्ष नगरबासीको दु:ख सुखमासंगै बिताएर निरन्तर काम गरें’ उनले भने। त्यतीबेला १ हजार मतले निर्वाचन हारें तर १७ सय मत बदर भएको थियो, त्यो मेरो प्राविधिक हार थियो’ मानन्धरले त्यसैलाई कारण मानेर यसपटक आफ्नो चुनावी अभियानका क्रममा मतदाता शिक्षालाई जोड दिएका छन्। घर टोलमा मतदाता शिक्षा चलाउन नमुना मतपत्रसहित उनले ३ सय जना स्वयंसेवक नगरभरी परिचालन गरेका छन्। एमालेले ९ वटै वडा जित्ने दाबी गरेको छ। 

यसअघि जितेका ७ मध्ये १, ४, ५ ६, ७ र ८ मा कांग्रेसले समेत सुधार गरेको देखिन्छ। एमालेले जितेको ९ मा कांग्रेस एमाले र माओवादी केन्दबीच त्रिपक्षीय प्रतिष्पर्धा देखिन्छ। यसअघि कांग्रेसले जितेको २ मा एमाले, कांग्रेस र माओवादी केन्द्रबीच त्रिपक्षिय प्रतिष्पर्धा छ भने कांग्रेसको गढ मानिने चरिकोट बजार क्षेत्रको  वडा नं ३ मा कांग्रेस र एमालबीच प्रतिष्पर्धा हुँदैछ।

६० प्रतिशत जनजातीको बाहुल्यता रहेको नगरमा गठबन्धनबाट मेयर र उपमेयर दुवै जनजाती नै भएकाले एमालेलाई चुनौती रहेको कतिपयको बिश्लेषण छ। ३० वर्षदेखि कांग्रेसमा महासमिति सदस्य रहि संगठककारुपमा काम गर्दै आएका कांग्रेस उम्मेदवार मानन्धर बजार क्षेत्र र गाउँहरुमा लोकप्रिय रहेका छन्। कतिपयले अन्य उम्मेदवारको तुलनामा उनलाई ‘हेभीवेट’ ठान्ने गरेका छन्। कांग्रेसको संगठन समेत सुधार भएको, ५ वर्षको अवधिमा मानन्धरले मेहनत गरेको साथै माओवादी केन्द्र र एकीकृत समाजवादी संगको गठबन्धन यस पटक व्यवस्थित भएकाले त्यसैका आधारमा मानन्धरले जित निकाल्न सक्ने दाबी उनी निकटहरुको छ।

एमाले निकटहरुले चाही चौलागाई व्यक्तित्वका हिसाबले कम नरहेको तर्क गर्ने गरेका छन्। ‘दुई पटक एमालेको नगर कमिटि अध्यक्ष भईसकेको व्यक्ति नगरमा हेभिवेट नहुने तर्क गर्नै मिल्दैन’ एमाले निकट एक नगर नेताले भने। संगठनको विरासतनै जित्ने प्रमुख आधारकारुपमा एमालेले लिएको छ। तर टिकटको किचलोका कारण नगरभरीका कार्यकर्ताहरुमा उत्साह नदेखिएकाले चौलागाईलाई चुनौती रहेको ठम्याई कतिपयको छ।    

गठबन्धनकी उपमेयर उम्मेदवार संगिता पाख्रिन तामाङ समुदायमा लोकप्रिंय छिन्। आफ्नो समुदाय भित्रको लोकप्रियता र नयाँ अनुहार साथै व्यवस्थित गठबन्धनमा कांग्रेस र माओवादी केन्द्रका मतदाताको साथ हुने कारण एमालेकी उपमेयर उम्मेदवार कमला बस्नेतलाई उनले चुनौती दिने बिश्लेषण कतिपयको छ। मेयरमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट देवकी बुढाथोकी, मंगोल नेशनल अर्गनाईजेसनबाट कुमार तामाङ, जनता समाजवादी पार्टीबाट बिच्छीकुमार थामी साथै रुद्रप्रसाद पोखरेल, श्रीकृष्ण बस्नेत र सुवास रिजाल स्वतन्त्र उम्मेदवार बनेका छन्।

प्रकाशित: २३ वैशाख २०७९ ०६:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App