१३ मंसिर २०७९ मंगलबार
राजनीति

गुप्त सम्बन्धको दुर्गति

अमेरिकाको टाकोमा सहरको एउटा अखबारले रमाइलो खबर प्रकाशित गरेछ–‘सहरका ठाउँठाउँमा हाँसहरू मर्न थालेपछि त्यसको कारण थाहा पाउन चिकित्सकहरूले हजारौँ हाँस काटे।’

सहरका कफी हाउसहरूमा त्यो ‘हेडलाइन’ चर्चाको विषय भयो। नेपालमा ‘रुख चिह्न’ भएको दलले हँसिया–हथौडा पार्टीलाई मद्दत गर्न लाखौँ रुख काटेर हँसिया र हथौडाको बिड बनाउने उदारता प्रदर्शन गरेझैँ देखिन्छ अहिले। अचेल ठूला सहरदेखि सुदूर गाउँका चियापसल र घरघरमा चर्चा भइरहेका छन् यस्ता प्रसंगहरू। यो प्रहसनको सम्वाद जस्तो सुनिन्छ।

गाउँघरतिर पुरानो ठट्टा प्रसिद्ध छ, ‘सोमबारे औँसी के बार पर्‍यो, काटेको बोको के भएर मर्‍यो?’ सत्तरी वर्ष पुरानो होलसेल पसलका अर्बपति साहूले दोबाटोमा ऐना, काइँयो, ल्वाङ, सुपारी आदि बेच्ने नाङ्लो पसलेहरूसँग व्यापारिक साझेदारी गरे भने त्यो उदेक हुन्छ। अहिले नेपाली राजनीतिमा त्यस्ता उदेकलाग्दा दृश्य बग्रेल्ती देखिन्छन्। त्यसैले जनता हाँसिरहेका छन्।

शुक्राचार्य नीतिमा कठोर तर सत्यवाणी छन्। ‘राष्ट्र र जनताको रक्षा गर्छु भनेर प्रतिज्ञा गर्ने तर कर्तव्य नगर्ने राजा वा शासक जो भए पनि सबै जनता मिलेर बहुला कुकुरलाई झैँ मार्नुपर्छ’ भन्ने शुक्राचार्यको कथन छ। उनकै शब्दमा “रक्षिव्यामि वा इत्युक्त्वा यो न रक्षति भूमिपः। स संहत्या निहन्तव्य श्वेव सोन्माद आतुरः।। यसको अर्थ, हाम्रा सनातन ग्रन्थहरूमा राष्ट्रमा कोही पनि निरंकुश बन्न पाउँदैनन् भन्ने नै हो।

चर्च र राजाको द्वन्द्व हुँदा युरोपमा कहिले राजा त कहिले पोप तानाशाह भए। सयौँ वर्ष युद्ध भएको इतिहास छ, तानाशाह बन्ने रहरमा। जनताले नै अन्धभक्त भएर राजा र पोपमध्ये एउटालाई निरंकुश बनाउन चाहेझैँ नेपाली जनताले पनि “जनता सर्वशक्तिमान हुन्छ” भन्ने बिर्सेर दल र गुटको पिँजरामा बस्ने रहर गरे भने त्यसको दुष्परिणाम आफैँले भोग्नुपर्ने हुन्छ।

आजभन्दा पचपन्न वर्षअघिको कुरा हो। गाउँमा ‘नाठो’ पक्राउ परेको खबर हावाझैँ फैलियो। मेरो एउटा बालसखा दौडिँदै आएर भन्यो–“हाम्रा कान्छा काकाको घरछेउमा नाठो पक्रेर हातखुट्टा बाँधेर राखेको छ अरे। हेर्न जाँदैनस्?” म पनि चप्पल फ्याँकेर खाली खुट्टा दौडिएँ। तीनचार मिनेटको दौडमा मैले सोचेँ–“नाठो भनेको पक्कै डरलाग्दो जनावर होला। कुखुरा–बाख्रा चोर्न लाग्दा पक्राउ परेछ।”

“गाउँले भेला भएर नाठोलाई घेरेछन्” मगर्नी माइजूले भनिन्–पुलामी मगर उग्र भएर ‘यसलाई च्वाट्टै काट्नुपर्छ बज्ज्या’ भन्दै थिए। काइँला लिम्बूले उनकै लवजमा सम्झाए–हौ ताजु, काटिपठायो भने मान्छे मोर्छ। पुलिसले हामी सप्पैलाई झ्यालखानामा थुनिपठाउँछ।

पल्लो गाउँका मान्छे पनि नाठो हेर्न आइरहेका थिए, भोट हाल्न गएझैँ। सबैले घेरेको हुँदा नाठो देख्न पाइएन। बिस्तारै भीडमा घुस्रेर हेर्दा ‘नाठो’ देखियो। कान्छा महाजनको हली गोपाल पो रहेछ। म छक्क परेँ। उदेक लाग्यो।

कलेजमा पत्रकारिता पढाउने गुरुले ‘फाइभ डब्ल्यु–एच’ अर्थात को, किन, कसको, कहाँ, कहिले र कसरी भन्ने प्रश्नको उत्तर खुलेपछि मात्रै समाचार पूर्ण हुन्छ भनेर सिकाउनुहुन्थ्यो। शायद पत्रकार भएर जीविका चलाउने हस्तरेखा र नियतिले होला, ऊबेला पनि मलाई नाठोको इतिवृत्तान्त खोज्न मन लाग्यो।

थपिनी फुपूलाई सोधेँ–‘किन पक्रेको नि ती मामालाई?’ (गाउँका केटाकेटीहरू उनलाई मामा भन्थे।) फुपूले भनिन्–गोपाले मोरो तल्लाघरे बाहुनकी स्वास्नीसँग पल्केछ।’

शब्दार्थ नबुझेर मलाई पुनःआपत् पर्‍यो। ‘पल्केछ’ भनेको के हो? कुकुर खोले वा कुँडोमा पल्केछ भनेको त सुनेको हो। एक घन्टाको मेरो तहकीकातमा केही रहस्य खुल्यो। आठ/दशजनाको कुरा सुन्दा त्यो घटना अहिलेको ‘आइ लभ यु’ जस्तै ‘फन्डा’ रहेछ।

दलहरूमा वैधानिकभन्दा पनि धेरै ‘नाठो उम्मेदवार’ बढे भनेर टिप्पणी भइरहेको छ। संसद्को चुनावमा केन्द्रबाट टिकट लिएर नयाँ ठाउँमा उम्मेदवार हुनेलाई ‘टुरिस्ट उम्मेदवार’ भन्थे। गाउँ, नगरमा अर्कै दलका उम्मेदवारलाई भोट दिनू भनेर यसपालि केन्द्रका नेताहरूले उर्दी जारी गरेछन्। चितवनकी एकजना दिदीलाई सोध्दा उहाँले रन्केर जवाफ दिनुभयो–भाइ, म त रुखबाहेक अरूमा भोट हाल्दिनँ भनेर बसेकी। जे होस्, हाम्रै दलका मान्छेलाई भोट दिन्छु। नाठोलाई त कुनै जिल्लामा पनि जिताउनु हुन्न।

सहकार्य, गठबन्धन, भागबन्डा वा प्रतिस्पर्धा जे भने पनि सिद्धान्त, नीति, आदर्श नमिल्ने मान्छे घरैभित्र पसेर अनैतिक चरित्र देखाउँछ भने त्यो राजनीतिक नाठो हो भन्ने रत्ननगर चितवनकी दिदीको तर्क मन पर्‍यो।

एउटा कथा छ, ‘बन्चरो बोकेको दाउरे देखेपछि रुखले बन्चरोको बिँड हेरेर भनेछ, ‘हाम्रै जात र गोत्रको रहेछ।’ जब बन्चरोले रुख ढाल्यो, तब रुखको भ्रम निवारण भयो।

‘डेमोक्रयाटिक’ र ‘अन डेमोक्रयाटिक’ पृथक चरित्र भएकाले ती दुईबीच संसारमा ध्रुवीकरण हुँदै आएको छ। फ्रान्सको क्रान्तिपछि १०४ वर्षअघि (सन् १९१७) रसियामा राजतन्त्र मासेर कम्युनिस्टहरू सत्तामा आए। लेनिनको सिको गर्दै माओले चीनमा विद्रोह गरे। सन् १९४९ मा कम्युनिस्टले राज्यसत्ता कब्जा गरे। पुष्पकमल दाहालको कथन धेरैपल्ट मिडियामा आएको छ–अनेक रूप र आवरणमा सडक, संसद्, सरकार आदिको ‘उपयोग’ गर्दै कम्युनिस्ट शासन स्थापना गर्नेछौँ।

माओवादीले एमाले, कांग्रेस, राजतन्त्रवादी, तराईकेन्द्रित दल र अरू कम्युनिस्टहरूलाई ‘इस्तेमाल’ गर्‍यो, गरिरहेकै छ। गाउँ, नगर, प्रदेश र संसद्को चुनावसम्म इस्तेमाल (प्रयोग) गरिरहने रणनीति कति जाति र कति घाती हुने हो, त्यो समयले बताउला। कुनै बेला दिक्क मानेर ‘पुनः वनबास जान्छु’ भन्ने, कहिले ‘हतियार उठाउँछु’ भन्नेले २०७९ जेठको पहिलो हप्ता पक्कै पनि भन्न सक्छन्–गम्भीर षडयन्त्र भयो र हामी हार्‍यौँ।

समतावादी, वर्गविहीन र न्यायपूर्ण समाजको परिकल्पना गरिएको साम्यवाद राजनीतिक विचारधारा मात्रै होइन, छुट्टै आर्थिक–सामाजिक संरचना हो भनिन्थ्यो। झापाका पूर्व रापंस (सांसद) धर्मप्रसाद ढकाललगायत १३ जनाको हत्या गर्नेहरू हुन् वा लमजुङका मुक्तिनाथ अधिकारीलगायतलाई मार्नेहरू, सबैले त्यही भन्थे।

२०५२ फागुनदेखि दश वर्ष लगातार सत्र–अठार हजार जनता मारिए। सैनिक, प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीदेखि व्यापारी, नेता, धार्मिक व्यक्ति, उद्यमी, किसान, विद्यार्थी, शिक्षक र सर्वसाधारण मारिए। नाइकेले भने–सबै त होइन, पाँच हजार मान्छे मारेको जिम्मा लिन्छु।

एक सय रुपियाँ चोर्नेलाई समातेर गोद्ने प्रहरीमात्र होइन, सम्पूर्ण राज्यसत्ता मौन बस्यो। आफ्नै दलका हजारौँ साथी र समर्थकहरू मार्नेसँग सत्ता जोगाउन ‘प्रजातन्त्रवादी’ नेताको पनि माया बस्यो। आमा/बा मार्नेसँग छोराछोरीले गठबन्धन गरेर ‘उदारता’ देखाइरहेका छन्। छोरी–बहिनीको बिहे गर्दा केटाका गुण–अवगुणका बारेमा खोजी गर्ने चलन छ, हाम्रो समाजमा। जब मतदाता (जनता) चुनावमा दलहरूलाई राष्ट्र नै जिम्मा लाउँछन्, लाखौँले त्यतिबेला भने सोचविचारै गर्दैनन्। काका, मामा, फुपू, भिनाजु, छिमेकी, साला–जेठान, भान्जा–भान्जी वा सन्धिको दल भन्दै भोट दिन्छन्। कतिले त थोरै पैसा र एक माना रक्सीमा डेमोक्रेसी साटेर हल्लिँदै बाटो तताउँछन्। त्यो दुर्बुद्धिले राष्ट्र पटक/पटक बर्बाद भएको छ।

खुसुक्क र सुटुक्क पसेर ओछ्यानमै पुग्ने ‘विदेशी नाठो’ समूह ठूलो छ। कुनै त राष्ट्र संघमा ‘भिटो पावर’ बनेर पशुपतिनाथको बसाहाझैँ संसार ढाकेर बसेका छन्। ‘नाटो’ अर्थात नर्थ एटलान्टिक ट्रिटी अर्गनाइजेसन र विदेशी नाठो पसेपछि धेरै राष्ट्रमा फाटो परेको त जगजाहेरै छ।

विदेशी हस्तक्षेप शक्ति राष्ट्रहरूको बलमिच्चाइँले मात्र हुँदैन। लोभी/पापी र सत्ता मात्रै रुचाउने प्रवृत्तिको आँखा झिम्क्याइबाट पनि विदेशीहरू हस्तक्षेप गर्न आतुर बन्छन्। मानवता, सैनिक सहायता, उपकार–समृद्धि आदिका रसिला मिठाइमा मन्द विष हालेर सुडान, लेबनान, अफगानिस्तान, इराक, इथियोपिया, इन्डोनेसिया, कंगो, माली आदि राष्ट्रमा झैं हुँडार बनेर पस्छन्। कतै चिल्लो घस्छन्। कतै छुरी धस्छन्। नाटो र नाठो उस्तै हुन। कमजोरका घरमा पसेर घरै हल्लाउँछन्।

राष्ट्रलाई बलियो बनाउन स्वावलम्बी, आत्मविश्वासी, कर्मठ, इमानदार, राष्ट्रवादी जनता चाहिन्छ। उनीहरूले बेइमानलाई जिताउँदैनन्। ‘राष्ट्र सर्वोच्च हुन्छ’ भन्ने स्वाभिमानीहरूले बचाउँछन् राष्ट्र। भ्रष्टलाई नायक बनाएर राष्ट्र बलियो बन्दैन।

राजा वीरेन्द्रलाई पक्रिन भारतीय सेना बोलाउनुपर्छ भनेर माधव नेपालले २०४६ सालमा वामपन्थीहरूको भूमिगत बैठकमा प्रस्ताव राखेपछि मदन भण्डारीले नेपाललाई झपारेको प्रसंग छ–राधाकृष्ण मैनालीको पुस्तकमा। सो बैठकका प्रायः सबै सहभागी नेता जीवित हुनुहुन्छ। शक्तिशाली बन्नका लागि विदेशी सेना झिकाउनुपर्छ भन्ने प्रवृत्तिको निकृष्ट उदाहरण हो, सो प्रसंग।

पतिपत्नीबीचको सम्बन्ध दूषित बनाउन नाठो खलनायक बन्छ। शव्दकोशमा नाठोको अर्थ खुलाइएको छ–‘अरूले थाहा नपाउने गरी गुप्त किसिमले राखिएको पोइ। उपपति वा परपुरुष।’ पुरुषले त्यसरी बनाएका ‘उपपत्नी’ हुन् वा महिलाका ‘उपपति’, परिवार र समाजका लागि कलंक मानिन्छन्। तर विदेशीका लागि अवैध ढंगले काम गर्ने राष्ट्रघाती वा पञ्चमागी जस्तै विदेशीलाई सर्वाधिकार सुम्पन खोज्ने प्रवृत्ति संस्थागत बन्दै गएको छ।

कुनै दिन राज्य–संयन्त्र नै कब्जा गरेर विदेशीले नेपालमा अशान्ति, अस्थिरता र अराजकता फैलन नदिने बहानामा राष्ट्र संघकै सेना ल्याउने प्रपञ्च गरे भने रोक्ने र छेक्ने कसले? तसर्थ राष्ट्र हाँक्ने बलियो र स्थायी शक्ति स्थापित नभएसम्म केही वर्ष यसरी नै ‘बोकाको दाइँ’ चलिरहन्छ।

प्रकाशित: २३ वैशाख २०७९ ०७:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App