१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कागेश्वरी मनोहरामा नेकपा एस एक्लै

कांग्रेस–माओवादी केन्द्र गठबन्धन,नेकपा एमाले र नेकपा एसबीच त्रिपक्षीय भिडन्त

सत्तारूढ गठबन्धन अन्तर्गतको एक दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालको चुनावी क्षेत्र हो, काठमाडौं–२ को कागेश्वरी मनोहरा नगरपालिका।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा देशभरि चुनावी तालमेलको कसरतमा गठबन्धनका दलहरू सक्रिय रहेका बेला अध्यक्ष नेपालकै निर्वाचन क्षेत्रमा पर्ने कागेश्वरी मनोहरामा भने नेकपा एसले एक्लै भिड्नुपर्ने अवस्था आएको छ। नेपालले आफ्नो निर्वाचन क्षेत्रमा चुनावी गठबन्धन कायम राख्ने लामो समय प्रयास गरे पनि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले अलग्गै गठबन्धन गरेपछि अन्ततः नेकपा एस एक्लिएको हो। 

गठबन्धन दलहरूले तालमेल हुन नसकेको स्थानमा मित्रवत् प्रतिस्पर्धा गर्नेगरी केन्द्रमा सहमति गरेपछि नेकपा एसले कागेश्वरी मनोहरामा कांग्रेस र माओवादी केन्द्रसँग प्रतिस्पर्धामा उत्रिनुपर्ने परिस्थिति सिर्जना भएको हो। दुई दल एक ठाउँमा उभिएपछि नेकपा एस एक्लै परेको हो। कांग्रेसले मेयर र माओवादी केन्द्रले उपमेयरमा उम्मेदवारी दिएका छन् भने नेकपा एमाले र नेकपा एसले एकल्लाएक्लै उम्मेदवारी दिएका छन्। यउसो हुँदा त्यहाँ त्रिपक्षीय भिडन्त हुने अवस्था आएको छ।

नेकपा एसबाट निवर्तमान मेयर कृष्णहरि थापा निर्वाचनमा होमिएका छन् भने गठबन्धनबाट कांग्रेस नेता उपेन्द्र कार्की मैदान उत्रिएका छन्। २०७४ सालको स्थानीय निर्वाचनमा थोरै मतले पराजित कार्कीले यसपटक माओवादी केन्द्रसँग सहकार्य गर्दा सहज जित निकाल्न सक्ने विश्लेषण गरिएको छ। २०७४ सालको स्थानीय तहको निर्वाचनमा थापासँग ४ सय ८२ मतले मात्रै कार्की पराजित भएका थिए। त्यसमा एमालेका तर्फबाट निवर्तमान मेयर थापाले ८ हजार ९ सय १८ मत ल्याएर जित हासिल गरेका थिए भने कार्कीले ८ हजार ४ सय ८२ मत पाएका थिए। त्यतिबेला माओवादी केन्द्रले करिब ३ हजार मत ल्याएका थियो।

एमालेबाट रामशरण ढुंगाना उम्मेदवार बनेका छन्। एमालेबाट विभाजित भई नेकपा एस बनेको अवस्थामा सो पार्टीलाई अप्ठेरो पर्ने आकलन पनि गरिएको छ। तर उम्मेदवारको सन्तुलन मिलाएका कारण जित्ने अपेक्षा एमालेले राखेको छ। भद्रबासबाट मेयर गोठाटारबाट उपमेयरको उम्मेदवार तय गरेर सन्तुलन मिलाइएको एमाले दाबी छ। अहिले त्यहाँ १ लाख ३३ हजार जनसंख्या रहेको नगरपालिकामा ३५ हजार मतदाता छन्। २८ देखि ३० हजार मत खस्ने अनुमान गरिएको छ। १० देखि १२ हजार मत ल्याउनेले निर्वाचन जित्न सक्ने भनिएको छ।

त्यसमा एमाले र कांग्रेस नै मुख्य प्रतिस्पर्धी हुन्। दुवैले प्रतिस्पर्धा गरिरहँदा नेकपा एसले मत काट्ने हुँदा एमालेलाई अप्ठेरो पर्ने देखिएको छ। तर वडा ७ का वडाध्यक्ष एमालेमा प्रवेश गरेका छन्। जसले गर्दा एमालेलाई केही राहतको महसुस भएको छ। तर पनि उनले तान्ने मतले मात्रै एमालेलाई पुग्ने अवस्था छैन। सामान्यतया माओवादी केन्द्रले १२ देखि १५ सय मत कांग्रेसलाई थपिदिए सहज जित हुने गठबन्धनको बुझाइ छ। तर तीनैजना उम्मेदवारले आफूले जित्ने बताउँदै आएका छन्।

कांग्रेस उम्मेदवार कार्कीले स्थानीय तहलाई अधिकार सम्पन्न गराएर जनताको मर्म र भावानाअनुसार काम गर्ने बताएका छन्। अहिलेको मेयरले जनताको भावना र मर्मविपरीत काम गरेकाले जनता धेरै नै प्रताडित बन्नुपरेको बताउँदै पारदर्शिता र सुशासन कायम गर्ने आफ्नो पहिलो प्राथमिकता भएको बताएका छन्। नयाँ बस्ती विकासको अवधारणाअनुसार कृषि, पर्यटन, ढल निकासजस्ता समस्यालाई समाधन गर्नेगरी अघि बढ्ने उनको योजना छ। ‘पारदर्शिता र सुशासमा धेरै चुक्यो कागेश्वरी अब त्यस्तो हुन्न। कांग्रेस–माओवादी गठबन्धनले चुनाव जितेपछि पारदर्शिता र सुशासनलाई ध्यान दिनेछ। कागेश्वरी मनोहरा महानगरपालिकासँग जोडिएको छ। बस्तीलाई व्यस्थित बनाएर सुन्दर सहर बनाउनुपर्ने पहिलो दायित्व रहेको छ। हरेक वडामा नमुना बस्ती बसाउनु छ, हरेक वडामा खानेपानी समस्यालाई समाधान गर्नुछ,’ कांग्रेसका उम्मेदवार कार्कीले भने।

त्यसैगरी उनले नगरपालिकालाई स्पोर्टस सिटीका रूपमा पनि अघि बढाउने संकल्प गरेका छन्। सहरको ब्रान्डिङ गर्ने, स्पोर्ट सिटीका रूपमा विकास गर्ने, उत्पादनमा सहयोग गर्ने, दिगो विकासको लक्ष्यमा अघि बढ्ने योजना उनले बनाएका छन्। शिक्षा र स्वास्थ्यमा अब्बल सहरका रूपमा विकास गर्नेछौं’, कार्कीले भने ‘पूरा नहुने सपना बाँडेको छैन। सबै पूरा हुनेखालका वाचा छन्। जुन कुरा मैले भन्ने गरेको छु त्यही पूरा गर्नेछु।’ उनले राजनीतिक नेतृत्वमा अठोट र इच्छा हुनुपर्ने बताउँदै अवसरले प्रतिबद्धता बढाउने र सहयोगी टिम बनाउने चुनौती रहेको बताउँदै रिसोर्स आवश्यक रहेको पनि बताए। उनले यतिबेला ७ अर्ब खर्च भएको देखिएको र आगामी पाँच वर्षमा २५ अर्ब खर्च गर्ने वातावरण बनाउने दाबी गरे।

त्यसैगरी एमालेले २०४९ सालमा भद्रबास वडाध्यक्ष र गाविस अध्यक्ष भएर काम गरिसकेका ढुंगानालाई उम्मेदवार बनाएको छ। आफ्नो जित सुनिश्चित रहेको बताउने ढुंगाना एमालेको संगठन बलियो रहेको बताउँदै पार्टीले अघि सारेको घोषणापत्रअनुसार काम गर्ने बताए।

उनले सडक यातायात, सडक सुरक्षा, आवास व्यवस्था, कृषि तथा सहकारी, भूमि व्यवस्थापन र सहरी विकास, फोहोरमैला व्यवस्थापन र सरसफाइ, खानेपानी ढल निकास, स्वास्थ्य शिक्षा, सुुशासन र पारदर्शिता, श्रम रोजगारी र गरिबी निवारण, पर्यटन, कला, संस्कृति, आधुनिक ऊर्जा, विपद् जोखिम व्यवस्थापन, ज्येष्ठ नागरिक सम्मान, वन तथा वातावरणजस्ता विषयलाई प्राथमिकतामा राखेको बताए। गुणस्तरीय शिक्षाको अवधारणाअनुसार कागेश्वरी मनोहरामा कक्षा १० सम्म निःशुल्क शिक्षा दिने समेत योजना उनले बनाएका छन्।

खासगरी एमालेले केन्द्रीय स्तरमा अघि सारेको घोषणापत्र र स्थानीय तहमा राखिएको घोषणापत्रअनुसार नै जनताको काम गर्ने एमालेका उम्मेदवार ढुंगानाले बताए। ‘अहिले एमाले एक ढिक्का भएर निर्वाचनमा होमिएको छ, एमालेबाहेक अन्य पार्टीको उपस्थिति कमजोर रहेको छ। हाम्रो संगठन टोलटोलमा रहेको हरेक घरघरमा परेका समस्यासँग जुध्ने सामथ्र्य एमालेले मात्रै राख्छ। जनताको समस्यालाई समाधान गर्ने एक मात्र पार्टी एमाले हो। त्यसकारण एमालेको जित निश्चित छ,’ उनले भने। त्यसैगरी उनले सहरमा रहेका वृद्धवृद्धाको सामाजिक सुरक्षाको ग्यारेन्टी गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन्।

त्यसैगरी नेकपा एसबाट उम्मेदवार रहेका थापाले फेरि पनि चुनाव जित्नेमा आफू ढुक्क रहेको बताएका छन्। निवर्तमान मेयरसमेत रहेका उनले अघिल्लो कार्यकालमा अधुरा रहेका कामलाई पूरा गर्ने भन्दै जनतामाझ मत मागिरहेका छन्। ‘हामीसँग पाँच वर्ष काम गरेको अनुभव छ। जितेकै भोलिपल्ट काम गर्न सक्ने अवस्था हाम्रो बनेको छ।

अहिले गरेको विकास निर्माणकै कामका आधारमा मलाई नगरवासीले मतदान गर्नेछन्,’ थापाले भने। उनले दिगो विकासको लक्ष्य लिएको र पूर्वाधारको विकासको काम अघि बढेको बताउँदै त्यसकै आधारमा आफू जनतामाझ गएको बताए। ‘पाँच वर्ष जसरी खटिएको थिएँ, त्यही नै मेरो जित्ने आधार हो। कुन ठाउँमा के आवश्यकता हो भन्ने मलाई कण्ठै छ। कार्यकर्ताहरूले भन्दा पनि जनचाहना भएकै कारण मैले उम्मेदवारी दिएको हुँ। त्यसकारण मेरो जित निश्चित भएको हो,’ थापाले भने, ‘स्थानीय तहमा पार्टीभन्दा व्यक्ति हेर्ने हो। मेरो जित्ने आधार २५ प्रतिशत मत पार्टीको हो। बाँकी ७५ प्रतिशत भोट स्वतन्त्र हुन्छ। ती सबै मत मलाई आउनेछ।’

प्रकाशित: २३ वैशाख २०७९ ००:४० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App