coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थापितलाई आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा (एमाले)को काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितलाई निर्वाचन आयोगले आचारसंहिता उल्लंघन गरेको विषयमा २४ घण्टे स्पष्टीकरण सोधेको छ।

राजधानीको एक कलेजसहित विभिन्न ठाउँमा काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार स्थापितले दिएका अभिव्यक्तिले आचारसंहिता उल्लंघन गरेको भन्दै उजुरी परेपछि सोमबार आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको हो।

‘नेकपा एमालेको काठमाडौं महानगरपालिका मेयरका उम्मेदवार केशव स्थापितले वैशाख १५ गते धुम्बाराहीस्थित नेसनल कलेजले आयोजना गरेको छलफल कार्यक्रममा व्यक्त गर्नुभएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको छ,’ आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने, ‘निर्वाचन आचारसंहिताको दफा ४ को सबैले पालना गर्नुपर्ने आचरणको खण्ड (च), (ठ) र (ढ) साथै आचारसंहिताको दफा १२ को जुलुस, आमसभा, कोणसभा, बैठक एवं भेला गर्दा पालना गर्नुपर्ने आचरणको खण्ड (द) अनुकूल नभएकोले सो विषयमा आधारसहित २४ घण्टा भित्र स्पष्टीकरण पेस गर्न आयोगले निर्देश गर्दछ।’

महिला पुनस्र्थापना केन्द्र (ओरेक) ले काठमाडौं महानगरपालिकाका मेयरका उम्मेदवार स्थापित सम्बन्धमा वैशाख १६ जारी विज्ञप्ति भनी विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन भएको विषयमा आयोगको गम्भीर ध्यानाकर्षण भएको हुँदा निर्वाचन आचारसंहिताको दफा ११ को खण्ड (क) मा गैरसरकार वा निजी संस्था तथा त्यस्तो संस्थासँग सम्बद्ध पदाधिकारी तथा कर्मचारीले राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचारप्रसार गर्न नहुने समेत व्यवस्था भएकाले विज्ञप्ति सार्वजनिक भएको माध्यमबाट यथाशीघ्र हटाई प्रमाणसहित २४ घण्टा भित्र स्पष्टीकरण पेश गर्न आयोग निर्देशन दिएको छ। 

त्यस्तै, नेसनल कलेजमा आयोजित कार्यक्रममा काठमाडौँमा स्थानीय तह निर्वाचन सम्बन्धमा काठमाडौं महानगरपालिका र नागर्जुन नगरपालिकाका विभिन्न दल र स्वतन्त्रतर्फका समेत मेयरका उम्मेदवारहरूसँग राखेको छलफल कार्यक्रममा विभिन्न व्यक्तिले बोलेको भनी सार्वजनिक भएका विषयवस्तुहरू सम्बन्धमा आयोगको ध्यानाकर्षण भएको आयोगले जनाएको छ। सो कार्यक्रमको विस्तृत खुलाई आयोगमा पेस गर्न भनिएको छ।

नेशनल कलेजमा आयोजित कार्यक्रमा सहभागीले ‘मिटु’ आरोपबारे प्रश्न सोधेपछि स्थापित झोंक्किएका थिए। उनले काठमाडौं महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहमाथि समेत अभिव्यक्ति दिएका थिए। त्यसपछि स्थापितले दिएको अभिव्यक्तिले महिला हिंसालाई प्राथमिकता दिएको भन्दै ओरेकले विज्ञप्ति निकालेको थियो।

त्यस्तै, नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लाको प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ बाट निर्वाचित नेपाली कांग्रेसका उम्मेदवार शशांक कोइरालाले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ बमोजिम पेस गरेको निर्वाचन खर्चको विवरणमा २१ लाख ७५ हजार रूपैयाँ आयोगमा रहेको अभिलेखबाट देखिएकोमा नेता शशांक कोइरालाले सो निर्वाचनमा आफूले ६ करोड रूपैयाँ खर्च गरेको भनी दिएको अभिव्यक्ति विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालबाट संप्रेषित भई आयोगलाई जानकारी हुन आएपछि उनीसँग स्पष्टीकरण सोधेको थियो। नेता कोइरालाले दिएको अभिव्यक्ति आचारसंहिताको मूलआधारमाथि अनास्था पैदा हुने देखिएकाले त्यस्ता अभिव्यक्ति नदिन सचेत गराउँदै र सो जानकारी सम्बन्धित व्यक्तिलाई दिई सम्बद्ध राजनीतिक दललाई जानकारी दिने निर्णय आयोगले गरेको थियो।

आयोगको अनुगमन टोलीले राजधानीको रत्नपार्क, बागबजार, पुतलीसडक, टुँडिखेल, सहिदगेट, भोटाहिटी र घण्टाघर क्षेत्र वरपर अनुगमन गरी निर्वाचन आचारसंहिता प्रतिकूल हुने गरी प्रदर्शन गरिएका निर्वाचन सामग्री जफत गरेको थियो। निर्वाचनको मिति नजिकिँदै गएको समयमा इन्टरनेट सेवा प्रदायक संघ र नेपालले इन्टरनेट सेवा बन्द हुन सक्ने भनी दिएको चेतावनीप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको उनले जानकारी गराएका थिए। ‘विद्यमान सूचना र प्रविधिको युगमा इन्टरनेटको सहज र निरन्तर पहुँच प्राप्त गर्नु नागरिकको आधारभूत आवश्यकतासमेत भइसकेको छ,’ उनले भने, ‘इन्टरनेट सेवा अवरोध भएमा संविधानले प्रत्याभूत गरेको नागरिकको सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताप्रति बाधा पुग्नेतर्फ सम्बद्ध पक्षलाई आयोग ध्यानाकर्षण गराउन चाहन्छ।

देशभर सबै स्थानीय तहमा एकै पटक निर्वाचन सम्पन्न गर्ने तयारी भएको अवस्थामा इन्टरनेट सेवा बन्द हुने अवस्था आएमा निर्वाचनको ब्यवस्थापनमा गम्भीर असर पर्ने भएकोले नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र सम्बद्ध पक्षलाई यो अवस्था नआउने परिस्थिति बनाउन आयोगले निर्देशन दिन्छ।’

आयोगले स्थानीय तह निर्वाचनका लागि हालसम्म ६४ जिल्लाका लागि एक करोड ३२ लाख २१ हजार मतपत्र ढुवानी गरिएको छ। ‘७५३ वटा स्थानीय तहमा ६ हजार ७४३ दलित महिला सदस्य पदका लागि हुने निर्वाचनका लागि १ सय ७० दलित महिला सदस्य पदमा मनोनयन दर्ता भएको छैन,’ उनले भने, ‘३५३ जना उम्मेदवार विभिन्न पदमा निर्विरोध निर्वाचित भइसकेका छन्।’

प्रकाशित: २० वैशाख २०७९ ००:४४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App