८ वैशाख २०८१ शनिबार
राजनीति

उम्मेदवारविरुद्ध मिथ्या सूचना सम्प्रेषण गरे कारबाही

निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिएका राजनीतिक दल र उम्मेदवारविरुद्ध मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिनेलाई कारबाही गर्ने चेतावनी दिएको छ।

आयोगले आइतबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति पोस्ट भइरहेको पाइएको भन्दै यस्ता गतिविधि रोक्न चेतावनी दिएका हुन्।

उनले भने, ‘स्थानीय तह सदस्य निर्वाचनमा उम्मेदवार र राजनीतिक दलप्रति लक्षित गरी मिथ्या सूचना, दुष्प्रचार, द्वेषपूर्ण अभिव्यक्ति सामाजिक सञ्जालमा पोस्ट भइरहेको पाइएको छ। यस्ता गलत, भ्रामक, चरित्र हत्या हुने, व्यक्तिगत लाञ्छना लगाउने, मानहानि हुने वा यस्तै प्रकृतिका निर्वाचनलाई प्रत्यक्ष रूपमा प्रभाव पार्ने कुसामग्री सामाजिक सञ्जालमा पोस्ट हुँदा निर्वाचनको स्वच्छता, स्वतन्त्रता र गरिमामा आँच आउन सक्ने भएकाले यस्ता प्रकृतिका कार्य कुनै पनि हालतमा नगर्न नगराउन आयोग सबैलाई चेतावनी दिन्छ ।’ चुनावी आचारसंहिताविपरीत सामाजिक सञ्जालको प्रयोग गरेको पाइएमा निर्वाचन आयोग ऐन, २०७३ को दफा २३, निर्वाचन (कसुर तथा सजाय ऐन, २०७३ तथा प्रचलित कानुनबमोजिम कारबाही हुने उनले बताए।

‘निर्वाचनसम्बन्धी कुनै कार्य गर्दा गराउँदा कसैलाई हानि–नोक्सानी पुर्‍याउने नियत राखी वा नराखी वा सो सूचना झुटो हो भन्ने बुझी वा नबुझी सम्प्रेषित गरिएका भ्रामक सूचना वा जानकारीलाई मिथ्या सूचना भनिन्छ,’ उनले भने, ‘निर्वाचनसम्बन्धी रिपोर्टिङमा भएका सामान्य गल्तीबाहेक आफूलाई लाभ र अरू कसैलाई हानि–नोक्सानी पुर्‍याउने र आममानिसलाई छक्काउने बदनियतका साथ जानीजानी गलत वा भ्रामक सूचना सम्प्रेषण गर्ने कार्यलाई दुष्प्रचार मानिनेछ।’ उनका अनुसार प्रत्यक्ष वा परोक्ष रूपमा जाति, राष्ट्रिय वा जातीय उत्पत्ति, धर्म, लैंगिकता, उमेर, अपांगता वा अन्य अपरिवर्तनीय समूहलाई इंगित गर्दै असहिष्णुता वा घृणा फैलाउने वा हिंसालाई बढावा दिने किसिमका वचन, लिखत वा व्यवहारलाई द्वेषपूर्ण अभिव्यक्ति मानिनेछ।

आयोगले सीमावर्ती क्षेत्रमा छिमेकी देशका प्रसारण माध्यमबाट निर्वाचनमा नकारात्मक प्रभाव पार्नेखालका सामग्री प्रसारण गर्न वा कुनै उम्मेदवार वा राजनीतिक दलका पक्ष वा विपक्षमा समाचार, टिप्पणी, विचार वा यस्तै प्रकृतिका सामग्री प्रसारण गर्न वा राजनीतिक विज्ञापन हुन नदिन छिमेकी देशका सरकारलाई अनुरोध गरी पठाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको जानकारी पौडेलले दिए।

त्यस्तै आयोगले राजनीतिक दल र उम्मेदवारलाई निर्वाचन आचारसंहिताको परिधिभित्र रही प्रचारप्रसार गर्न सामाजिक सञ्जाल प्रयोग गर्ने भए त्यसको विवरण उम्मेदवारको अन्तिम सूची प्रकाशन भएको २४ घन्टाभित्र राजनीतिक दलको हकमा निर्वाचन आयोग र उम्मेदवारको हकमा सम्बन्धित निर्वाचन अधिकृत कार्यालयमा जानकारी गराउन भनेको छ।

आयोगले चुनावी आचारसंहिता कार्यान्वयनमा प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघलाई पनि आवश्यक कदम चाल्न र प्रभावकारी अनुगमन गर्न आग्रह गरेको छ।

‘निर्वाचन आयोगले जारी गरेको निर्वाचन व्यवस्थापनमा सामाजिक सञ्जालको उपयोगसम्बन्धी नीति तथा निर्वाचन आचारसंहिताबमोजिम सामाजिक सञ्जालको नियमनलाई प्रभावकारी बनाउने सन्दर्भमा फेसबुक, ट्विटर, टिकटक, भाइबर र गुगलका कार्यालयसँग सम्पर्क स्थापना र सहकार्यका लागि प्रयास गरिएको छ,’ पौडेले भने।

आयोगले मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्तिका सामग्रीको प्रचारप्रसार रोक्न इन्टरनेट सेवा प्रदायक, भ्यालु एडेड सर्भिस दिने सेवा प्रदायक र केवल टेलिभिजन नेटवर्कलाई निर्देशन दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र नेपाल दूर सञ्चार प्राधिकरणलाई पत्राचार गरेको जानकारी पनि उनले दिए। मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिएर निर्वाचन आचारसंहिताको उल्लंघन गरेको पाइए मौखिक, लिखित, सामाजिक सञ्जाल, विद्युतीय माध्यम वा अन्य कुनै तरिकाबाट आयोगलाई जानकारी गराउन भनिएको छ।

आयोगका प्रवक्ता पौडेलका अनुसार स्वतन्त्र उम्मेदवारको संख्या धेरै भएका मधेस प्रदेशसहितका ३० भन्दा बढी पालिकामा करिब ६ लाख मतपत्र पुनः छाप्ने निर्णय भएको छ। ‘६ वटा महानगरपालिका र भक्तपुर जिल्लाको चारवटा पालिकाको मतपत्र छपाइ सुरू भइसकेको छ,’ उनले भने, ‘३० पालिकामा करिब ६ लाख मतपत्र पुनः छाप्नुपर्ने भएको छ।’ सर्लाहीको बरहथवा नगरपालिका, बलरा नगरपालिका, रामनगर गाउँपालिका, चक्रघट्टा गाउँपालिका र ब्रम्हपुरी गाउँपालिकालगायतमा पुनः मतपत्र छाप्नुपर्ने भएको हो। आयोगले ती पालिकाका लागि ४४ लहरको मतपत्र छापिसकेको थियो। जसमा राष्ट्रिय मान्यता प्राप्त ६ दलसहित ३६ वटा दलको क्रमैसँग र त्यसपछि नौ वटा स्वतन्त्र उम्मेदवारका लागि प्रदान गरिने चिन्ह छन्।

स्वतन्त्रमा धेरै उम्मेदवारी परेपछि निर्वाचन चिन्ह थपेर पुनः मतपत्र छाप्नुपर्ने भएको आयोगले जनाएको छ। आयोगले ६ वटा महानगरपालिका र भक्तपुर जिल्लाका चार पालिकाबाहेक अन्य स्थानका लागि एक करोड ८० लाख ४५ हजार मतपत्र छपाइ गरिसकेको थियो। ‘स्थानीय तह निर्वाचनका लागि ४९ जिल्लाका लागि ९१ लाख ११ हजार मतपत्र ढुवानी भइसकेको छ,’ उनले भने, ‘कर्णाली र सुदूर पश्चिमका सबै जिल्ला, प्रदेश १ का मोरङबाहेक सबै जिल्ला र गण्डकी प्रदेशको पोखरा महानगरपालिकाबाहेक सबै जिल्ला र बागमती प्रदेशका पाँच जिल्लामा मतपत्र पुगिसकेका छन्,’ उनले भने, ‘स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका एक लाख ५३ हजार २७३ जनामध्ये करिब आठ हजारले उम्मेदवारी फिर्ता लिएका छन्।’

प्रकाशित: १९ वैशाख २०७९ ००:३४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App