coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गुट, गठबन्धन र व्यक्तिविरुद्ध बागी उम्मेदवारी

यी हुन् पार्टीका विद्रोही कल्पना अधिकारी, गोकर्ण रुपाखेती, दिनेश रमण आचार्य र उत्तम अधिकारी।

स्थानीय तहको उम्मेदवार छनोटमा प्रदेश र केन्द्रीय नेतृत्वले हस्तक्षेप गरेपछि धादिङमा बागी उम्मेदवार बनेका छन्। धेरैजसो बागी सत्तारुढ कांग्रेसका छन्। एमाले र माओवादीका कार्यकर्ताले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।  

पार्टी र गठबन्धनविरुद्ध उम्मेदवारी दिनेलाई दलले कारबाही गर्ने चेतावनी दिएपनि स्वतन्त्र उम्मेदवारले मनोनयन झिकेका छैनन्। प्राय चर्चित नेताहरुकै पालिका र वडामा बागी धेरै छन्।  

नेपाली कांग्रेसका जिल्ला सभापति र चर्चित नेता भीम ढुंगानाकै गृह नगरमा महिला नेतृ कल्पना अधिकारीले कांग्रेसविरुद्ध बागी उम्मेदवारी कायमै राखेका छिन्। गठबन्धनमा नेकपा माओवादी केन्द्रको भागमा परेको उपप्रमुख पदमा कांग्रेसविरुद्ध अधिकारीले स्वतन्त्र उम्मेदवारी दिएकी हुन्। ‘आफू जित्नको लागि मात्रै गरेको विद्रोह होइन, मेरो संघर्ष सिंगो महिला वर्गको उपेक्षाविरुद्ध हो’ अधिकारी भन्छिन्,‘४० प्रतिशत महिलाले संविधान तह अधिकार पाउनुपर्ने अवस्थामा महिला विमुख हुन नदिनका लागि मेरो विद्रोह हो।’

कांग्रेस महासमिति सदस्य समेत रहेका अधिकारीलाई गठबन्धन गर्ने नाममा पहिलो निर्वाचनमा पनि कांग्रेसले व्याक गराएको थियो। गठबन्धन जोगाउने नाममा गुट र उपगुटका हावी भएकै कारण पनि पुरुष हावी भएको उनले बताएकी छन्। ‘पार्टीले कारबाही गर्ला मलाई त्योसंग सवाल छैन, पार्टीभित्र बसेर काम गरेर आफ्नो अस्तित्व कायम राख्न सकिएन भने त्यो भन्दा ठूलो कारबाही केही हुन सक्दैन,’ उनले भनिन्।

पृवी राजमार्ग जोडिएको थाक्रे गाउँपालिकाको अध्यक्षमा पनि नेकपा एमालेबाट गोकर्ण रुपाखेती विद्रोहमा उत्रिएका छन्। एमालेले उठाएको समृद्धि, संलग्नता र सुखी नेपालीको राष्ट्रिय आकांक्षा पुरा गर्न चाहने कार्यकर्ताहरुको भावना विपरित विगतमा टेस्टेड भइसकेका उम्मेदवारकोविरुद्ध आफु बागी उठेको रुपाखेतीले बताए।  

विकास विरोधी हर्कतको भण्डाफोर गर्दै आर्थिक परिवर्तनका एजेन्डासहित बागी उम्मेदवारको रुपमा एमालेले उम्मेदवार बनाएको रामकुमार आचार्यकोविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएर प्रतिस्पर्धामा उत्रिएको रुपाखेतीले बताए। ‘पालिकामा नेतृत्व परिवर्तन जरुरी छ, नेतृत्व परिवर्तन हुन सकेन भने थाक्रेको विकास र समृद्धि सम्भव छैन भन्ने निष्कर्ष सहित प्रतिस्पर्धामा उत्रिएको छु,’ उनले भने।

कांग्रेस र एमालेका बागी उम्मेदवारी दिने अधिकारी र रुपाखेती उदाहरण मात्रै हुन्। पालिका अध्यक्ष उपाध्यक्षदेखि वडाअध्यक्ष र सदस्यहरुमा समेत बागी उम्मेदवारले उम्मेदवारी फिर्ता गरेका छैनन्। शुक्रबार साँझ ५ बजेसम्म फिर्ता लिनेहरुको लागि समय भएपनि नेत्रावती डबजोङ गाउँपालिका अध्यक्षमा एमालेबाट बागी उठेका उत्तम अधिकारीले फिर्ता लिएनन्।  

ज्वालामुखी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट बागी परेका युवा दिनेश रमण आचार्यले पनि मनोनयन फिर्ता गरेका छैनन्। आचार्य ज्वालामुखी,६ का युवा हुन्। नेतृत्वमा देखिएको गुटबन्दी, नातावाद, कृपावाद र अराजकताकोविरुद्ध आफूहरुले स्वतन्त्र उम्मेदवारी नछोडेको उनीहरुले बताएका छन्।  

वडाध्यक्षमा पनि बागीको बलियो प्रतिस्पर्धा 

दुई ठूला दल नेकपा एमाले र नेपाली कांग्रेसमा वडा तहमा पनि बागी उम्मेदवार दरो प्रतिस्पर्धीका रुपमा देखिएका छन्। नीलकण्ठ नगरपालिका वडा नम्बर ८ मा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार रमेश कोइरालाविरुद्ध प्रकासकुमार श्रेष्ठले उम्मेदवारी कायम राखेका छन्।  

कोइराला र श्रेष्ठ पहिलो स्थानीय निर्वाचनमा कांग्रेसबाट वडासदस्यका विजयी जनप्रतिनिधि हुन्। दुबैजना जनप्रतिनिधि भइसकेका उम्मेदवार भएकाले कांग्रेसको आधिकारिक उम्मेदवार कोइराला र कांग्रेससँगै विद्रोह गरेर स्वतन्त्र उम्मेदवारी कायम राखेका श्रेष्ठबीच दरिलो प्रतिस्पर्धा हुने आँकलन गरिएको छ।  

जिल्लाका एक सय चार ओटा वडा मध्य नीलकण्ठ,८ मा कांग्रेसविरुद्ध स्वतन्त्र उम्मेदवार श्रेष्ठलाई सबैभन्दा दरिलो मानेका छन्। नीलकण्ठ नगरपालिकाको मेयरका उम्मेदवार भीमप्रसाद ढुंगानाको जन्मस्थल रहेको यो वडा कांग्रेसको सबैभन्दा बलियो वडा पनि हो।

प्रकाशित: १६ वैशाख २०७९ १५:०६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App