coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

समाजवादीका कामनपा उपमेयर उम्मेदवार भन्छन्ः शिक्षा र स्वास्थ्य प्राथमिकतामा छन्

काठमाडौं महानगरपालिकामा सत्ता गठबन्धनबाट उपमेयरका उम्मेदवार बनेका रामेश्वर श्रेष्ठले आफ्नो मुख्य एजेण्डामा शिक्षा र स्वास्थ्यलाई राखेका छन्। ‘मेरो मुख्य एजेण्डा यी नै हुन्, यी क्षेत्रलाई समेटेर योजना बनाउँछु,’ उनले नागरिक न्यूजसँग भने।    

पाँचदलीय गठबन्धनकोतर्फबाट नेकपा (एकीकृत समाजवादी)को सिफारिसमा उपप्रमुखको उम्मेदवार श्रेष्ठले जनताले विश्वास गरे शिक्षा र स्वास्थ्यलाई प्राथामिकता दिएर काम गर्ने बताए।

‘हाम्रो प्राथामिकता नै शिक्षा र स्वास्थ्य हुन्छ। महानगरको आफ्नै अस्पताल बनाएर जेष्ठ नागरिक गरिबलाई सेवा दिन्छौं,’ उनले भने, ‘महानगरभित्र रहेका ९९ वटै सामुदायिक विद्यालयको अवस्था सुधारमा मैले विशेष प्राथमिकतामा राखेर योजना बनाएको छुँ। योजना अनुसार नै काम गर्नेछु।’

महानगरभित्रका सरकारी र सामुदायिक विद्यालयको शैक्षिकस्तर सुधारमा विशेष ध्यान दिएर निजी विद्यालयसँग प्रतिस्पर्धा गर्न सक्ने बनाउने योजना उनको छ। श्रेष्ठले भने, ‘सामुदायिक विद्यालय सुधार गर्नु हाम्रो प्राथामिकता हुनेछ। त्यस्ता विद्यालयलाई आधुनिकीकरण गर्छौं। निजी विद्यालयसँग प्रतिस्पर्धायोग्य बनाउँछौं।’  

आफ्नो पार्टीबाट काठमाडौं महानगरपालिका स्तरीय अध्यक्ष समेत रहेका श्रेष्ठ पार्टीका सम्मानित नेता झलनाथ खनाल निकट मानिन्छन्। काठमाडौं महानगरको भित्री क्षेत्रमा पर्ने १२ नम्बर वडाका बासिन्दा उनी राम्रो जनसम्पर्क भएका नेता मानिन्छन्।

तीन दशकदेखि नेकपा एमालेभित्र विभिन्न क्षेत्रमा योगदान पुर्‍याएको भए पनि पार्टीले उचित मूल्यांकन नगरेको गुनासो गरे। ‘एमालेको युथफोर्स गठनका बेला उक्त संगठनको सहइन्चार्ज थिए। उपत्यका प्रमुख पनि थिए। तत्कालीन समयमा आफूसँगै काम गरेका महेश बस्नेत अध्यक्ष थिए,’ उनी भन्छन्, ‘त्यसपछि म गुटभित्रको सिकार भएँ।’ तर, पार्टीले पछिल्लो समय आफ्नो योगदानको उचित मूल्यांकन गरेको भन्दै उनी खुसी व्यक्त गर्छन्।  

काठमाडौंमा गठबन्धनबाट प्रमुखमा कांग्रेसकी सिर्जना सिंहले उम्मेदवारी दर्ता गराएकी छन्। विगतदेखि नै श्रेष्ठसँगको आफ्नो सम्बन्ध सुमधुर रहेको बताउँदै उनले प्रमुख र उपप्रमुखबीच विवाद झिकेर आफूहरूले समय खेर नफाल्ने बताए। ‘मैले हाम्रो प्रमुखको उम्मेदवार बनेका सिर्जनासँग कुरा गरेँ। विवाद गरेर हामी समय खेर फाल्दैँनौं। जनताको काममा ध्यान दिन्छौँ। मेरो योजना अनुसार उहाँले काम गर्नुहुन्छ भन्नेमा म ढुक्क छु,’ उनले भने।

काठमाडौं महानगरपालिकामा उपमेयर पदका लागि उम्मेदवारी दर्ता गराएका अन्य उम्मेदवारमध्ये आफ्नो मुख्य प्रतिस्प्रर्धी कोही नभएको उनी बताउँछन्। एमालेको उम्मेदवारी मुख्य प्रतिस्पर्धी जस्तो लागे पनि एमालेले उठाएको उम्मेदवार एमाले नै नभएको उनको भनाइ छ। एमालेबाट उपमेयरमा उम्मेदवारी दर्ता गराएकी सुनिता डंगोलबारे टिप्पणी गर्दै उनले भने, ‘अस्तिसम्म मेयरमा उठ्नुभएको थियो। अहिले भने एमाले भनेर उपमेयरमा आउनुभएको छ। एमाले त पक्कै होइन। किनभने उहाँसँग न एमालेको संगठित सदस्यता छ।’ एमालेका आम कार्यकर्ताबीच अहिले असन्तुष्टि झ्याँगिएको उनको विश्लेषण छ।

प्रकाशित: १६ वैशाख २०७९ ११:४४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App