७ वैशाख २०८१ शुक्रबार
राजनीति

इन्जिनियरबाट र्‍यापर हुँदै नेता बन्ने प्रयासमा ‘बालेन’

बालेन्द्र शाह उर्फ बालेन। बालेन ‘हिपहप’ जगतका लागि चिरपरिचित नाम हो। उनको र्‍यापलाई मन पराउने युवा जमात ठूलो छ। उनै र्‍यापर बालेन शाह पछिल्लो समय फरक किसिमले चर्चामा छन्। सरकारले स्थानीय निकायमा चुनावको घोषणा गरेदेखि नै काठमाडौं महानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवार घोषणा गरेका बालेनको चर्चा अझै बढेको हो।

वैशाखमा ३० मा हुने स्थानीय तह निर्वाचनका लागि काठमाडाैं महानगरपालिकाको मेयरका लागि ५६ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेका छन्। महानगरको मेयर पदका लागि नेपाली कांग्रेसबाट सिर्जना सिंह, नेकपा एमालेबाट केशव स्थापित, राष्ट्रिय प्रजातन्त्रबाट मदनदास श्रेष्ठ, विवेकशील साझा पार्टीबाट समीक्षा बाँस्कोटाको चर्चा हुँदै गर्दा स्वतन्त्र उम्मेदवार बालेन शाह पनि उत्तिकै चर्चित नाम बन्न पुगेकाे छ।

ठूला राजनीतिक पार्टीका चर्चित नेताले महानगरको मेयर पदमा उम्मेदवारी दर्ता गराइरहँदा स्वतन्त्र उम्मेदवार बालेन भने आफ्नो प्रतिस्पर्धी कोही नभएको बताउँछन्। ‘मेरो मुख्य प्रतिस्पर्धी मैले कसैलाई पनि मान्दिनँ। किनकि हामीले जित्ने हार्ने आफ्नै कारणले हो। हामी हार्‍यौं भने हाम्रो मिहिनेत हाम्रो प्रयासमा कमी देखिन्छ भने जित्यौ भने हाम्रो प्रयास पुग्यो भन्ने हुन्छ,’ उनले भने।

एमालेबाट मेयर पदमा उम्मेदवारी दर्ता गराउँदै गर्दा केशव स्थापितले आफूले प्राप्त गर्ने भोटबारे दिएको तथ्याङ्क उनलाई सुनाउँदा बालेन भन्छन्, ‘हामीले ९० हजार ८३५ भन्यौ उहाँहरूले ८० हजार जति भन्नुभयो। त्यो अंकमा नै उहाँले आफूलाई कम आंकलन गरिसक्नुभएको छ।’

मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन नयाँ पुस्ताको चिन्ता गरेर पुरानै पुस्तालाई भोट गर्नु उचित नहुने बताउँछन्। ‘राजनीतिक दल र नेताहरूलाई गाली गर्नुको कारण देख्छु– नयाँ पुस्ताको चिन्ता। अहिलेको पुस्ताले परिवर्तन ल्यायो, जनताको छोरो शासन सत्तामा पुग्ने भयो। अब छोराछोरीको भविष्यको चिन्ता छ। शिक्षा र स्वास्थ्यमा परिवर्तन चाहिएको छ,’ उनी भन्छन्, ‘आशा छ, नयाँ पुस्ताको चिन्ता गर्नेहरूले नयाँ पुस्तालाई नै भोट दिनुहुन्छ।’

निर्वाचन आयोगमा उम्मेदवार दर्ता गर्दै गर्दा बालेनले २८ बुँदे घोषणापत्र सार्वजनिक समेत गरेका छन्। शिक्षामा सूचना प्रविधि, सीप, उद्यमशीलतालाई जोड दिने, स्वास्थ्यमा प्रत्येक वडामा नियमित स्वास्थ्य परीक्षणका लागि क्लिनिकको सुरुवात गर्ने, ७० वर्ष माथिका नागरिकको उनीहरूकै घरमा निःशुल्क स्वास्थ्य परीक्षण गर्ने लगायतका विषय उनको घोषणापत्रमा समावेश छन्।

पूर्वाधार विकास, यातायात व्यवस्थापन, पानीको व्यवस्थापन गर्ने लगायतका विषयलाई पनि उनले घोषणापत्रमा समावेश गरेका छन्। प्रदूषण नियन्त्रण, फोहोर व्यवस्थापन सँगसँगै काठमाडौंको संस्कृतिको थप विकास गर्ने र सम्पदा संरक्षण गर्ने उनको प्रतिबद्धता छ। खुला ठाउँलाई हरियाली बनाउने, जन्मदर्ता, विवाहदर्ता, मृत्युदर्ताको प्रमाणपत्र घरमै पुगेर दिने, वृद्धभत्ता घरमै गएर दिने उनको योजना छ।

बालेनले ‘आइडिया बैंक’ को अवधारणा पनि ल्याएका छन्। जहाँबाट अदक्ष र दक्ष जनशक्तिहरूको तथ्याङ्क संकलन गरी रोजगारी र उद्यमशीलताका अवसरहरू खोज्ने, स्थानीय उत्पादन, साना र घरलु उद्योगमा जोड दिने भनिएको छ। आइडिया बैंक मार्फत युवाहरूलाई व्यक्तिगत करिअर मार्ग पत्ता लगाउन परामर्श र कोचिङ दिने पनि शाहको घोषणापत्रमा उल्लेख छ।

आफूले सार्वजनिक गरेको घोषणापत्र र अन्य उम्मेदवारका घोषणा पत्रमा समानता हुन सक्ने बताएका छन्। तर, घोषणापत्रभन्दा काम गर्न सक्ने व्यक्तिलाई निर्वाचित गर्नुपर्ने उनको बुझाइ छ। ‘भिजन एजेण्डा कसैको समान पनि हुन सक्ला। फरक पनि हुन सक्ला। स्कुल पढ्दा पाठ्यक्रम त सबैको एउटै हुनसक्छ नि तर एउटै कक्षामा कोही फस्ट हुन्छन् कोही फेल। त्यसकारण स्थानीय निर्वाचनमा पार्टीलाई होइन व्यक्तिलाई हेर्नुपर्छ,’ उनले भने।

‘युवा भएर मात्र भोट मागेका छैनौं। दृष्टिकोण बनाएका छौं, सोहीअनुसार काम गर्छौं भनेर भोट मागेका छौं,’ बालेनले भने, ‘स्थानीय निर्वाचन निर्दलीय हुनुपर्छ भन्ने हाम्रो सिद्धान्त हो।’ काठमाडौं महानगरपालिका प्रत्येक भोटरमा कुनै न कुनै माध्यमबाट पुग्ने प्रयास आफूले गरेको उनले जनाए।

युवा जमातका साथ भएका इञ्जिनियर तथा र्‍यापर ३१ वर्षीय शाहलाई काठमाडौ महानगरको मेयरका लागि विभिन्न क्षेत्रका सेलिब्रिटीहरूले खुलेरै साथ दिँदै आएको देखिन्छ। सम्भवत काठमाडौं महानगरपालिकाको सबैभन्दा पहिला मेयर पदका लागि उम्मेदवारी घोषणा गरेका बालेन अहिलेसम्म खासै केही खर्च नगरेको बताउँछन्।

उनले भने, ‘इभेन्टहरू हामी आफैंले गरेका छैँनौँ। प्रायः विभिन्न समूह वा क्याम्पसका प्रमुखहरूले फोन गरेर बोलाउनुहुन्छ। उहाँहरूले अहिलेको युवाहरूलाई राजनीतिप्रति एकदमै घृणा छ भन्नुहुन्छ। तपाईको उम्मेदवारीले कक्षामा बल्ल राजनीतिको कुरा गर्न थाले। सबैजना विदेश मात्रै जान खोज्छन्, तपाईले पनि केही सल्लाहसुझाव दिनुपर्‍यो भन्नुहुन्छ। क्याम्पसले गरेका कार्यक्रममा खर्च नै हुँदैन।’

स्वतन्त्रमा उम्मेदवारी दर्ताका लागि तयारीका बेला विभिन्न पार्टीहरूबाट समेत टिकटको प्रस्ताव आएको उनी बताउँछन्। ‘ठूला, वैकल्पिक र साना सबै पार्टीको पहिलो विकल्प उहाँहरूको बालेन नै थियो। अहिले जति पनि उठ्नु भएको उहाँहरूको सबै दोस्रो विकल्प हो,' उनले भने।

प्रकाशित: १४ वैशाख २०७९ १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App