१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

चेम्जोङले मेयरको टिकट पाएपछि एमाले कार्यालयको तालाबन्दी खुल्यो

इलाम नगरपालिकाको मेयरमा उम्मेदवारी दिएका धीरेन चेम्जोङलाई बधाई दिँदै नेता नरेन्द्रनाथ भट्टराई। तस्बिर: नागरिक

नेपाल कम्युनिस्ट पार्टी (एमाले) का असन्तुष्ट नेता–कार्यकर्ताले जिल्ला पार्टी जिल्ला कार्यालयमा गरेको तालाबन्दी खुलेको छ। इलाम नगरको उम्मेदवारमा धीरेन चेम्जोङले टिकट पाएपछि तालाबन्दी खुलेको हो।  

चेम्जोङले टिकट नपाउँदा नगर कमिटीका असन्तुष्ट नेता–कार्यकर्ताले आइतबार राति जिल्ला कार्यालयमै तालबन्दी गरेका थिए। उनीहरूले सामूहिक राजीनामासमेत दिएका थिए। चम्जोङले मेयरमा पार्टीको आधिकारिक उम्मेदवारका रूपमा मनोनयनपत्र दर्ता गराएको नगर कमिटी सचिव ठाकुरनारायण श्रेष्ठले जानकारी दिए।  

यसअघि नगरको मेयरमा नरेन्द्रनाथ भट्टराईको चर्चा भइ प्रदेशबाट नामसमेत आएको बताइएको थियो। तर, पुनः चेम्जोङले टिकट पाएपछि भट्टराईले मनोनयनस्थलमै पुगेर चेम्जोङलाई बधाई र शुभकामना दिएका छन्। ‘पार्टीको नगर र जिल्ला कमिटीबाट मेरोसमेत नाम मेयरका लागि सिफारिस भएकै थियो, प्रदेश कमिटीले पनि केन्द्रसँगको समन्वयमा मेरो नाममा टिकट पठाएको थियो,’  भट्टराईले भने, ‘तर, मेरो नाम आउनेबित्तिकै पार्टीमा राजीनामा, नाराबाजी, तालाबन्दीजस्ता काम भए, यी कार्यले पार्टीलाई गम्भीर असर नपुगोस् भनेर मैले नै टिकट फिर्ता गरेको हुँ।’  

भट्टराईले अब पार्टीको मेयरका उम्मेदवार चेम्जोङको टिमलाई आफूले सबै हिसाबले सहयोग गर्ने बताए। ‘मलाई कतिपयले पैसा खाएर टिकट बेच्यो भन्ने आरोप पनि लगाएका छन्,’ उनले भने, ‘त्यो आरोप निराधार हो, कल्पनाबाहिरको हो, मैले आफूले पाएको उम्मेदवारी त्यागेर भएपनि पार्टी जोगाउन टिकट फिर्ता गरेको हुँ। अब सबै हिसाबले धीरेनजीको टिमलाई मेरो सहयोग हुन्छ।’

एमालेबाट इलाम नगरको उपमेयरमा सीता रिजालले उम्मेदवारी दर्ता गरेकी छिन्। उनी यसअघि कार्यपालिका सदस्य थिइन्। इलाम नगरमा नेपाली काङ्ग्रेसका केदार थापा र विष्णुकुमारी दाहालले उम्मेदवारी दिएका छन्। इलाम नगरमा सत्ता गठबन्धनमै रहेको नेकपा (एकीकृत समाजवादी) ले भने उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ। यसअघि गठबन्धनको बैठकमा इलाम नगरको मेयर र उपमेयर दुवै काङ्ग्रेसलाई दिने सहमति भएको भनिएको थियो। तर, उपमेयरमा एकीकृत समाजवादीका डिकेन्द्र दाहालले उम्मेदवारी दर्ता गराएका हुन्।

प्रकाशित: १२ वैशाख २०७९ १३:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App