७ वैशाख २०८१ शुक्रबार
राजनीति

कांग्रेस र एमालेले टुंगायो भक्तपुरमा उम्मेदवारी

नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले भक्तपुरका चार नगरपालिकाका प्रमुख तथा उपप्रमुखको उम्मेदवारको टुंगो लगाएको छ।

कांग्रेसले भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा सुरेन्द्र श्रेष्ठ, सूर्यविनायकमा निशान ढुंगेल, चाँगुनारायणमा जीवन खत्री र भक्तपुर नगरपालिकामा राम कासुलालाई मेयरको उम्मेदवार बनाउने निर्णय गरेको हो।

त्यसैगरी कांग्रेसले चाँगुनारायण नगरपालिकामा उपप्रमुख सुभद्रा काफ्लेलाई बनाउने निर्णय गरेको छ। सतारुढ गठबन्धनकोबीचमा भक्तपुर, मध्यपुरथिमि र सूर्यविनायकमा गठबन्धन दलका अरु पार्टीलाई दिने सहमति भएको छ।

चार नगरपालिकामध्ये मध्यपुर थिमिको उपप्रमुख नेकपा माओवादी केन्द्रलाई र नेकपा एकिकृत समाजवादीलाई भक्तपुर र सूर्यविनायक नगरपालिकाको उपप्रमुख दिने गठबन्धन दलबीच सहमति भएको थियो। यता एमालेले मध्यपुरथिमिमा मदनसुन्दर श्रेष्ठलाई प्रमुख र उत्तरा नेपाललाई उपप्रमुख दिने टुंगाएको छ।

यसरी नै सूर्यविनायकमा वासुदेव थापा प्रमुख र सरिता भट्टराई उपप्रमुख, भक्तपुरमा रविन्द्र लाछिमस्यु प्रमुख र रञ्जना खर्बुजा उपप्रमुख र चाँगुनारायणमा बिना बाँस्तोला प्रमुख र रमेश बुढाथोकी उपप्रमुखमा उठाउने टुंगो लगाएको हो।

मदनसुन्दर मध्यपुर थिमिका हालका प्रमुख हुन् भने बासुदेव सूर्यविनायक नगरपालिकाका हालका प्रमुख हुन्। विना चाँंगुनारायण नगरपालिकाका हालका उपप्रमख हुन्। उनीहरु तिनैजना एमालेबाट विजयी भएका थिए। उनीहरु तीन नै जनाले निर्वाचन लड्नका लागि राजीनामा दिइसकेका छन्।

प्रकाशित: १२ वैशाख २०७९ ०७:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App