coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

काठमाडौं र पोखरामा के होला?

सत्तारूढ पाँच राजनीतिक दलले महानगरपालिका र उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा भागबन्डा गरेसँगै सबैको ध्यान काठमाडौं र पोखरा महानगरपालिकामा केन्द्रित भएको छ।

उम्मेदवार मनोनयन दर्ताको समय नजिक आइसक्दा पनि गठबन्धन दलले आफ्ना उम्मेदवार छनोट गरेका छैनन्। प्रमुख प्रतिपक्षी एमालेमातहतका कमिटीबाट काठमाडौंसहित ६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका लागि उम्मेदवार सिफारिस भइसकेका छन्। भरतपुर, ललितपुर र वीरगन्ज महानगरपालिकाका लागि भने एकल उम्मेदवार छनोट गरी सिफारिस गरिएको छ। सिफारिस उम्मेदवारलाई केन्द्रले अनुमोदन गर्न बाँकी छ।

घोषणापत्र निर्माणमा लागेको एमाले मूल नेतृत्वले महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा सकेसम्म विवादरहित उम्मेदवार छनोट गर्ने तयारी गरेको छ। उसले विगतको मत परिणाम र प्रतिस्पर्धी कांग्रेस वा गठबन्धनका सम्भावित उम्मेदवारलाई हेरेर मात्रै आफ्ना उम्मेदवार तोक्नेछ। एमालेले अन्य स्थानीय तहमा पनि उम्मेदवारको सूची बनाइसकेको छ।

एमालेले काठमाडौं महानगरपालिकाको मेयरमा संघीय सांसद रामवीर मानन्धर, वर्तमान मेयर विद्यासुन्दर शाक्य, पूर्वमेयर केशव स्थापित, निर्मल देउला र इन्दिरा पन्तलाई सिफारिस गरेको छ। त्यसैगरी उपमेयरमा सांसद रत्ना गुरुङ, पेम्बा लामा, मीना काफ्ले सिफारिस भएका छन्। एमालेबाट ललितपुर महानगरपालिकाको मेयरमा हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य सिफारिस भएका छन्। भरतपुरको मेयरमा विजय सुवेदी र वीरगन्जको मेयरमा जसपाबाट भर्खरै प्रवेश गरेका विजय सराबगी सिफारिस भएका छन्। भरतपुर र वीरगन्जमा उपमेयरका उम्मेदवार टुंगिन बाँकी छ।

पोखरा महानगरपालिकाको मेयरको उम्मेदवारका लागि दर्शन लामा, दीपकबहादुर पौडेल, कृष्णबहादुर थापा, राजीव पहारी, रश्मि आचार्य, मीनाकुमारी गुरुङ, पुष्पज्योति ढुंगाना, भीमबहादुर कार्की, सावित्री भण्डारी, कल्याण पराजुली, बालकृष्ण काउछा मगर र पुष्पराज अधिकारीको नाम सिफारिस भएको छ। पोखराको उम्मेदवार चयन निकै सकस हुने देखिएको छ।

पोखराको उपमेयरमा विनकुमारी गुरुङ, सुष्मा पौडेल, देवका पहारी त्रिपाठी, टीकाराम पंगेनी, तेजनारायण अधिकारी, जीवनप्रसाद आचार्य, बलराम गायक, शोभामोहन पौडेल र वामदेव ढुंगाना सिफारिस भएका छन्। विराटनगरमा मेयरको उम्मेदवारका लागि रामलाल साह, बाबुराम कार्की, सागर थापा, परशुराम बस्नेत र महेश भट्टराई सिफारिस भएका छन्। उपमेयरमा शिल्पा कार्की, विमला घिमिरे दाहाल, अञ्जु उपाध्याय ‘शिला’ सिफारिस भएका छन्।

२०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले सबैभन्दा ठुलो दल भएको थियो। त्यतिबेला एमालेले दुई, कांग्रेसले दुई, माओवादी केन्द्रले एक, तत्कालीन संघीय समाजवादी फोरमले एक महानगरपालिकाको नेतृत्व हात पारेका थिए। एमालेले काठमाडौं र पोखरा, कांग्रेसले ललितपुर र विराटनगर, माओवादी केन्द्रले भरतपुर र संघीय समाजवादी फोरमले वीरगन्ज महानगरपालिकामा प्रमुख जितेका थिए। त्यतिबेलाको अवस्था र अहिलेको अवस्था केही परिवर्तन भएको छ।

अहिले पाँचदलीय सत्ता गठबन्धन र एमालेबीच कडा प्रतिस्पर्धा हुने अवस्था छ। ‘त्यतिबेलाको अवस्था र अहिलेको अवस्थामा केही फरक आएको छ। नयाँ मतदाता पनि थपिएका छन्। तर पनि एमालेको उपस्थिति बलियो रहन्छ। एमालेले निर्वाचन जित्छ’, एमाले कार्यालय सचिव भीष्म अधिकारीले भने।

एमालेबाट विभाजित भएर बनेको नेकपा एकीकृत समाजवादीको प्रभाव काठमाडौंमा निकै कम रहेको एमालेका एक नेताको दाबी छ। काडमाडौंमा नेकपा एसले १५ हजार मत कटाउन नसक्ने ती नेताको विश्लेषण छ। २०७४ सालमा काठमाडौंमा एमालेले प्रमुख र राप्रपाले उपप्रमुख लिएर गठबन्धन गरेका थिए। गठबन्धन भए पनि उपमेयरमा कांग्रेसकी हरिप्रभा खड्गीले जितिन्।

मेयरमा एमालेका विद्या सुन्दर शाक्य विजयी भए। शाक्यले ६४ हजार ९१३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका राजुराज जोशीले ४५ हजार २६९ मत पाए। उपप्रमुखमा कांग्रेसकी खड्गी ५८ हजार ९५२ र उनका निकटतम प्रत्यासी राप्रपाका राजाराम श्रेष्ठले ३४ हजार ८५४ मत पाए। त्यतिबेला विवेकशील नेपाली दलकी रञ्जु दर्शनाले २३ हजार ४३९ मत, साझा पार्टीका किशोर थापाले १८ हजार ४९६ मत, माओवादी केन्द्रका उम्मेदवारले ७ हजार ९०६ मत र नयाँ शक्ति पार्टी, नेपालका उम्मेदवारले ६ हजार ५० मत पाएका थिए।

काठमाडौंमा यसअघि चुनाव लडेकाबाहेक अहिले पूर्वडिआइजी रमेश खरेल, अटेरी समूह, पूर्व मिस नेपालसमेतले उम्मेदवारी घोषणा गरिसकेका छन्। परम्परागत रूपमा आउने मतबाहेक नयाँ पुस्ताको मत पूर्वडिआइजी खरेल, अटेरी समूह, पूर्वमिस नेपालमा बाँडिने सम्भावना छ। यसबाट एमालेलाई सहज हुने सो पार्टीका नेता बताउँछन्।

कास्कीमा पनि गठबन्धनकै कारण एमालेलाई सहज हुने दाबी गरिएको छ। पोखरा कांग्रेसजनको इच्छाविपरीत पोखरामा नेकपा एसले मेयर पाउने भएपछि त्यहाँ एमालेका लागि सहज भएको बताउन थालिएको छ। पोखरामा यसअघि कांग्रेस–माओवादी तालमेल हुँदा १३ हजार मतले जितेको एमालेलाई अहिले नेकपा एस आउँदा झन् फाइदा हुने बताइएको छ। नेकपा एसले आफ्नो १५ हजार मत रहेको दाबी गरे पनि थोरैमात्रै कार्यकर्ता ऊतिर गएकाले त्यति असर नपर्ने एमालेको दाबी छ। पोखरामा एमालेको बलियो प्रतिस्पर्धी कांग्रेस नै हो। तर कांग्रेसकै उम्मेदवार मैदानमा नरहने भएकाले एमालेलाई केही सजिलो हुन सक्छ।

२०७४ सालको चुनावमा पोखरामा १ लाख ६८ हजार ६७ मतदाता थिए। अहिले ३९ हजार ६४५ मतदाता थपिएपछि यो संख्या २ लाख ७ हजार ७१२ पुगेको छ। २०७४ सालमा १ लाख २५ हजार ८५३ मत खसेको थियो। त्यतिबेला कांग्रेस र माओवादीबीच गठबन्धन हुँदा पनि एमालेका उम्मेदवार मानबहादुर जिसी १३ हजार ७०२ मतान्तरले विजयी भएका थिए।

उनले ६० हजार ११८ मत पाउँदा कांग्रेस उम्मेदवार रामजी कुँवरले ४६ हजार ४१६ मत पाए। तत्कालीन संघीय समाजवादी फोरम (हाल जनता समाजवादी पार्टी) का उम्मेदवार हुमबहादुर गुरुङले ३१ सय ७० मत ल्याएका थिए। गुरुङ अहिले एमाले प्रवेश गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर बनेकी गीता गुरुङले २२ सय ७२ पाएकी थिइन्। जसपाले गत निर्वाचनमा ल्याएको मत गठबन्धनमा रहनेगरी हिसाब गर्दा पनि एमाले अझै १० हजार मतले गठबन्धनभन्दा अगाडि छ।

प्रकाशित: ८ वैशाख २०७९ ०१:५९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App