८ वैशाख २०८१ शनिबार
राजनीति

इटहरीमा कांग्रेसका मेयरमा ११ र उपमेयरमा १५ जना आकांक्षी

वैशाख ३० गते हुन लागेको निर्वाचनमा इटहरीमा कांग्रेसका मेयरमा ११ जना र उपमेयरमा १५ जनाले आकांक्ष देखाएका छन्। आकांक्ष राख्नेमा नगरसभापति, जिल्ला समितिमा रहेका, महाधिवेसन प्रतिनिधी, प्रदेश कार्यसमिति सदस्यदेखि केन्द्रीय सदस्यसम्म छन्।

इटहरीमा पार्टीका उपमहानगर सभापति हेमकर्ण पौडेल, २०७४ को स्थानीय तहको निर्वाचनमा मेयरका उम्मेदवार रोहित प्रसाईं, महाधिवेसन प्रतिनिधी भीम बहादुर पौडेल, युवा नेता तथा महाधिवेसन प्रतिनिधी विकाश केसी, प्रदेश सदस्य सूर्य राई र जिल्ला उपसभापति नागेशचन्द्र राईले इच्छा देखाएका छन्।

यस्तै, कांग्रेसकै पुराना नेता रामरोहन चौधरी, विष्णु बहादुर डाँगी, रेखा प्रसाईं कौर र महाधिवेसन प्रतिनिधी रमेश पोखरेलले चुनाव लड्ने इच्छा देखाएका छन्। मेयरका लागि केन्द्रीय सदस्य कल्पना चौधरीले दावेदारी प्रस्तुत गरेकी छिन्।

उपमहानगर कमिटीले भने आकांक्षी उम्मेदवारमध्ये पाँच जनासम्मको नामावाली जिल्ला कमिटीसमक्ष सिफारिस गर्ने तयारी गरेको छ। उपमहानगर कमिटीले आकांक्षीमध्ये हेमकर्ण पौडेल, रोहित प्रसाई, भिमबहादुर पौडेल, विकास केसी र कल्पना चौधरीको नाम सिफारिस गर्ने तयारी गरेको जानकारी दिइयो।

शुक्रबार बैठक बसेर नाम सिफारिस गर्ने तयारी छ। उपमेयरमा अघिल्लो निर्वाचनमा उम्मेदवार भएकी महाधिवेसन प्रतिनिधी विमला ढकालसहित उर्मिला चौधरी, बबिता चौधरी, निर्मला चौधरी, गीता श्रेष्ठ, कौशीला सुनुवार चौधरी, सुशीला लेखी, सुशीला चौधरी, रुपा कार्की, मेनुका गिरी, शिला गजमेरलगायत १५ जनाले आकांक्ष राखेका छन्।

उपमहानगर कमिटीले उपमेयरमा पनि पाँचै जना बिमला ढकाल, गीता श्रेष्ठ, निर्मला चौधरी, सुशीला चौधरी र उर्मिला चौधरीको नाम सिफारिस गर्ने तयारी गरेको छ। निर्वाचनमा पाँच दलीय गठबन्धन मिलेर जाने तयारी भइरहेपनि इटहरीमा प्रमुख पद भने कुनै हालतमा अरु दललाई छाड्न नसक्ने निर्णय भइ सकेको उपमहानगर सभापति हेमकर्ण पौडेलले बताए।

पूर्वकै उदाउँदो सहर इटहरी उपमहानगरपालिकामा अहिलेसम्म कांग्रेसले नेतृत्व लिन सकेको छैन्। पछिल्लो समय भने इटहरीमा कांग्रेसका संगठन बलियो बनेको छ। जसले गर्दा पनि आकांक्षीले पार्टी सभापति शेरबहादुर देउवासहित पदाधिकारी समक्ष लबिङ् गर्ने होडबाजीमा लागेका छन्। सबैभन्दा बढी मेयरमा टिकट ल्याउन पौडेल द्दय र प्रसाईं सक्रिय भएर लागेका छन्।

२०७४ सालको निर्वाचनमा एमालेका मेयरमा द्दारिकलाल चौधरी र उपमेयरमा लक्ष्मी गौतम विजयी भएकी थिइन्। चौधरीले २२ हजार ६८९ मत ल्याएर बिजयी भएका थिए भने गौतमले २१ हजार ८४२ मत ल्याएर विजयी भएकी थिइन्। त्यो बेला नेपाली कांग्रेसका रोहितकुमार प्रसाईंले १९ हजार ९८५ र उपमेयरमा बिमला ढकालले १८ हजार ३५२ मत ल्याएकी थिइन्।

२०७४ सालको निर्वाचनमा इटहरीमा एमालेले मेयर–उपमेयरसँगै आठवटा वडा २, ४, ५, ९, १८, १९, १३ र १४ मा जितेको थियो। नेपाली कांग्रेसले वडा नं. १, ३, ६, ७, ८, ११, १२, १५, १६, १७ र  २० मा जितेको थियो। त्यो बेला लोकतान्त्रिक फोरम नेपालका तर्फबाट वडा नं. १० मा जितेका वडाअध्यक्ष अहिले कांग्रेसमा समायोजन भइ सकेका छन्।

इटहरी नगरपालिका छँदा २०५४ को निर्वाचनमा एमालेका सर्वध्वज साँवाले मेयर जितेका थिए। त्यो  निर्वाचनमा उपमेयरसहित आठ वटा वडामा पनि एमालेले नै जितेको थियो। वडा नं. ७ मा भने नेपाली कांग्रेसले जितेको थियो।

प्रकाशित: १ वैशाख २०७९ १०:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App