७ वैशाख २०८१ शुक्रबार
राजनीति

धरानमा एमालेलाई चुनौती

वैशाख ३० गतेको स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा धरान उपमहानगरपालिकामा पनि सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले आआफ्नो चुनावी रणनीति बनाउन जुटेका छन्।

सत्ता गठबन्धनमा रहेका दलले कुन वडा कसलाई भनेर भागबन्डा मिलाउन गृहकार्य गरिहेका छन्। एमाले भने २ वर्षअघिको उपनिर्वाचनमा गुमाएको विरासत फर्काउने कसरतमा छ। यद्यपि सत्ता गठबन्धनलाई तोडेर आफ्नो विरासत फर्काउन एमालेलाई चुनौती छ।

पञ्चायतकालमा पनि वामपन्थी उम्मेदवारले जितेको धरानमा २०४६ सालमा प्रजातन्त्र पुनस्र्थापना भएपछि हरेक निर्वाचनमा कम्युनिस्टले जित्दै आएको थियो। २०४८ र २०५४ सालको स्थानीय निर्वाचनमा धरानमा एमालेले मेयर, उपमेयरसहित बहुमत वडामा जितेको थियो।

लामो समयपछि २०७४ सालमा भएको स्थानीय तह निर्वाचनमा पनि एमालेले मेयर, उपमेयर जितेको थियो भने २० वटा वडामध्ये १४ वटामा विजयी भएको थियो। मेयर तारा सुब्बाको निर्वाचनको एक वर्षपछि नै मृत्यु भएपछि २०७६ सालमा भएको उपनिर्वाचनमा भने कम्युनिस्टको विरासत गुमेको थियो।

एमाले र माओवादी केन्द्रबीच एकता भएकाले पनि उपनिर्वाचनमा परिणाम आफ्नो पक्षमा आउनेमा तत्कालीन नेकपा ढुक्क थियो। तर परिणाम भने कांग्रेसको पक्षमा आयो। कम्युनिस्ट उम्मेदवार प्रकाश राईलाई हराउँदै कांग्रेसबाट तिलक राई मेयरमा विजयी भए।

अहिले स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा एमाले आफ्नो गुमेको विरासत फर्काउन हरसम्भव प्रयत्नमा छ। पछिल्लो एक सातामा केन्द्र र प्रदेशका नेताहरू धरानमा आएर रिपोर्टिङ लिने र योजना बनाउने काम गरे।

एक नेताका अनुसार १ नम्बर प्रदेश कमिटीका पदाधिकारी धरान आएर नगर कमिटीका पदाधिकारीसँग छलफल गरेका थिए भने एमाले स्थायी कमिटी सदस्य तथा १ नम्बर प्रदेश इन्चार्ज देवराज अधिकारी पनि धरान आएर प्रदेश र जिल्ला कमिटीका नेताहरूसँग छलफल गरेका थिए।

यस्तै स्थायी कमिटी सदस्य तथा प्रदेश सहइन्चार्ज शेरधन राई पनि धरान आएर नेताहरूसँग भेटघाट गरी चुनावी छलफल गरेका थिए। केन्द्रीय सदस्य तथा सुनसरी जिल्ला इन्चार्ज जगदीश कुसियतसमेत धरान आएर रिपोर्टिङ लिने, छलफल गर्ने र योजना बनाउने काम गरेको एक नेताले बताए।

एमाले जिल्ला कमिटी सदस्य नवराज राई धरानमा एमालेको विरासत फर्काउन चुनौती भए पनि विगतको भन्दा व्यवस्थित र गतिशील संगठन भएकोले जित हासिल हुने दाबी गर्छन्। २०७४ सालमा निर्वाचित एमाले नेतृत्वले धरानको विकासमा अघि बढाएको दीर्घकालीन योजना उपनिर्वाचनबाट कांग्रेसको नेतृत्व आएपछि अधुरो रहेको उनको भनाइ छ।

‘ती योजनालाई निरन्तरता दिलाउन फेरि एमाले नेतृत्व आवश्यक छ भनेर जनतामा जान्छौं’, उनले भने, ‘उपनिर्वाचनबाट विजयी भएका नगर प्रमुखले चुनावी प्रतिबद्धता कुनै पनि पूरा गर्न सकेनन्। यसले पनि मतदाताले पुनः एमालेलाई भोट दिन्छन्।’

नेताहरूले यसो भन्दै गर्दा पनि एमालेलाई विरासत फर्काउन सहज भने छैन। २०७६ को उपनिर्वाचनमा एमाले र माओवादी केन्द्र एकीकरण भएर बनेको नेकपालाई कांग्रेस एक्लैले पराजित गरेको थियो। अहिले सत्ता गठबन्धनका दलहरू चुनावमा पनि गठबन्धन गरेरै लड्ने गृहकार्यमा भएकाले एमालेलाई सहज छैन।

नेपाली कांग्रेसका सभापति श्याम पोखरेल धरानमा एमालेको विरासत फर्कन नसक्ने बताउँछन्। उनले भने, ‘दुईटा कम्युनिस्ट पार्टी मिलेको बेला हामीले एक्लै लड्दा पनि जित्यौं। अहिले त हाम्रो संगठन झन् राम्रो भएको छ। त्यसैले एक्लै लड्दा पनि जित्छौं। गठबन्धन भएकोले झन् सहजै मेयर, उपमेयर र वडामा पनि जित्छौं।’

पोखरेलका अनुसार सोमबारसम्म गठबन्धनमा रहेका दलहरूबीच कुन वडा कुन पार्टीले लिने भनेर भागबन्डा मिल्नेछ। त्यसपछि गठबन्धनका दलहरू चुनावी अभियानमा लाग्ने उनले बताए। ‘मेयर कांग्रेसलाई र उपमेयर माओवादी केन्द्रलाई दिने हो, वडाहरूको पनि भोलि सोमबारसम्म भागबन्डा मिल्छ,’ उनले भने, ‘गठबन्धनको कुरा मिलेपछि आआफ्नो पार्टीले उम्मेदवार छान्न गाह्रो छैन।’

आकांक्षीको नाम सिफारि

विरासत फर्काउने कसरत गरिरहेको नेकपा एमालेले धरान उपमहानगरपालिकाको मेयरका लागि ११ जना र उपमेयरका लागि ६ जनाको नाम सिफारिस गरेको छ। सहमति जुट्न नसकेपछि आइतबार धरान उपमहानगर कमिटीले मेयर र उपमेयरका आकांक्षी सबैको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो।

‘सहमति नजुटेपछि जोजो आकांक्षी हुनुहुन्थ्यो, सबैको नाम पार्टीको जिम्मेवारीको आधारमा राखेर जिल्ला कमिटीमा सिफारिस गर्ने निर्णय गरिएको छ,’ एमाले धरानका अध्यक्ष हर्कजंग एभेङले भने।

एमालेबाट धरानको मेयरका लागि मन्जु भन्डारी, मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की, मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला र तीर्थ मास्केको नाम सिफारिस भएको छ।

मञ्जु भण्डारी केन्द्रीय सदस्यका साथै हालकी उपमेयर हुन्। मनोजकुमार मेन्याङ्बो, विजय राई, प्रकाश राई, मोतिराज सुनुवार, दोर्पध्वज राई, किशोरकुमार कार्की प्रदेश कमिटी सदस्य हुन्।

यस्तै मीन सुब्बा, नारायण सुवेदी, राजमणि निरौला जिल्ला कमिटी सदस्य हुन् भने तीर्थ मास्के पूर्वजिल्ला कमिटी सदस्य हुन्। यसैगरी उपमेयरका लागि सुशीला पहाडी, लहरू जिमी, पदम इस्वो लिम्बु, इन्द्रकला राई, सविता चाम्लिङ र लीला राईको नाम सिफारिस गरिएको छ।

पहाडी र जिमी प्रदेश कमिटी सदस्य हुन् भने पदम इस्वो,  इन्द्रकला राई, सविता चाम्लिङ र लीला राई जिल्ला कमिटी सदस्य हुन्। उपमहानगर कमिटीबाट सिफारिस भएका आकांक्षीको नाम जिल्ला र प्रदेश कमिटीले काँटछाट गरेर केन्द्रमा सिफारिस गर्ने एमाले नेताहरूले बताएका छन्।

प्रकाशित: २८ चैत्र २०७८ ०७:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App