coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महिला आकांक्षी किन कम?

वैशाख ३० मा हुने निर्वाचन जितेर स्थानीय तह हाँक्ने आकांक्षा धेरै जनाले राखेका छन्। राजनीतिमा लामो समयदेखि सक्रिय त आंकाक्षी हुने नै भए, सँगसँगै व्यवसायी, प्राध्यापकसम्म स्थानीय तहमा मुख्य पदमा उम्मेदवार बन्न इच्छुक छन्।

आकांक्षीहरू आफ्नो पक्षमा पार्टीबाट निर्णय गराउन भेटघाट र दौडधुपमा व्यस्त छन्। राजनीतिक वृत्तसँगै सामाजिक सञ्जाल र सञ्चारमाध्यममा पनि उम्मेदवारका आकांक्षीबारे चर्चा हुन थालेको छ। विभिन्न दलबाट पालिकामा उम्मेदवार बन्न चाहनेको लामो सूची छ। तर यो सूचीमा धेरैजसो पुरुष छन्।

महिला आकांक्षीमध्ये एकाधबाहेक अरूको चर्चा पनि कम छ। महिला आकांक्षी भए पनि पुरुषजस्तो खुलेका छैनन्। पोखरा महानगरपालिकाको मेयरमा एमालेभित्र बहालवाला उपमेयर मञ्जुदेवी गुरुङको चर्चा छ। त्यस्तै कांग्रेसभित्र मेयरका लागि सरस्वती गुरुङ चर्चामा छिन्। सरस्वती अघिल्लो पटक मञ्जुदेवीसँग पराजित भएकी थिइन्।

अरू दलमा त महिला आकांक्षीको नामै कम सुनिन्छ। मुख्य दलमा महिला आकांक्षी सीमितमात्र खुलेका छन्। अन्य दलमा त महिला आकांक्षी निकै कम छन्। महिला आकांक्षी किन कम भएका हुन् वा के महिलाले उम्मेदवार बन्ने चाहना नै नराखेका हुन् त ?

यस विषयमा महिला नै भन्छन्, ‘प्रमुख दलमा महिला आकांक्षी त छन् तर पुरुषसरह खुल्न सकेका छैनन्। हामीलाई उम्मेदवार बन्नै दिँदैनन् भन्ने खालको सोचाइ महिलामा छ।’ उपमेयर मञ्जुदेवी महिला स्वयंले मुख्य पदमा आफूहरूलाई उम्मेदवार हुन दिँदैनन् भन्ने सोच राखेकैले आकांक्षी कम देखिएको हुनसक्ने बताउँछिन्।

उनले भनिन्, ‘जसले जे भने पनि महिलालाई मुख्य पदमा उम्मेदवार बन्न दिन दलहरू नै तयार छैनन् भन्ने सोचाइ महिलामा छ।’ सुरुदेखि नै महिला कम आशावादी भएकाले चर्चा पनि कम हुने गरेको उनले बताइन्। ‘हामीलाई कुनै हालतमा उम्मेदवार बन्न दिँदैनन् भनेर महिलाले सोचेको हुन सक्छ। अहिले पुरुष अकांक्षीबारे मात्र चर्चा छ, महिलाको चर्चा कमै सुनिन्छ,’ उनले भनिन्।

मञ्जुदेवीको बुझाइमा महिलाले उम्मेदवार बन्ने आकांक्षा राखे पनि सबैतिर भन्दै हिँड्दैनन्, उम्मेदवारी दिने बेलामा उनीहरूले दाबी गर्न सक्छन्। ‘अरू बेला पुरुषले जस्तो नभनेको मात्र हो। तर चाहना नै नभएको भन्ने होइन,’ उनले भनिन्, ‘अब त सबै क्षेत्रमा महिला अघि सरेका छन्, दाबी मात्र नपुगेको हुन सक्छ।’ पोखरा महानगरपालिकामा अब मेयरको उम्मेदवारका रूपमा हेरिएकी मञ्जुदेवीले आफूले उम्मेदवार बन्न पाउनुपर्छ भनेर नभनेको बताइन्।

‘म आफैंले उम्मेदवार बन्न पाउनुपर्छ भनेकी छैन। तर पार्टीले मूल्यांकन गरेमा म मेयरको उम्मेदवार बन्न तयार छु,’ उनले भनिन्, ‘मलाई नै पद चाहिन्छ भनेर दाबाचाहिँ गर्दिनँ। जो सुकै उम्मेदवार भए पनि पार्टीले चुनाव जित्नुपर्छ भनेकी छु।’ कांग्रेसभित्र मेयरको आकांक्षीमा सरस्वती गुरुङको चर्चा छ। उनी महिलालाई नेता नमान्ने सोच हाबी हुँदा चर्चा कम भएको बताउँछिन्।

‘सबैभन्दा बढी मतदाता महिला छन् तर महिला आकांक्षी कम छन्, देखिएका आकांक्षीको पनि चर्चा कम छ,’ उनले भनिन्, ‘महिलालाई कमजोर ढंगले हेर्ने दृष्टिकोण अझै फराकिलो हुन सकेको छैन, साँघुरो नै छ। स्थानीय तहमा प्रमुख वा उपप्रमुखमध्ये एक महिला हुनुपर्ने अनिवार्य कानुनी व्यवस्था नभएको भए सायद महिलाले यो अवसर पाउने थिएनन्। कानुनी व्यवस्था भएपछि मात्र यो बाध्यकारी भएको हो। राजनीति आफैंमा नराम्रो हो कि भनेर कतिपय महिला आकांक्षी नखुलेको हुन सक्छ।’

महिला घरायसी काममा बढी व्यस्त हुने भएकाले पनि आकांक्षी कम भएको हुनसक्ने उनले बताइन्। ‘महिलाले नेतृत्व गर्नै नसक्ने होइन, तर वातावरण बनेको छैन। पुरुषले नेतृत्व गरेका स्थानीय तहभन्दा महिलाले जितेका ठाउँको परिवर्तन बढी छ,’ उनले भनिन्, ‘सामाजिक परिवेशले महिलालाई ओझेलमा पारेको हुन सक्छ।’

उनले आफू पोखरा महानगरपालिकामा मेयरको दाबेदार भएको बताइन्। ‘दलभित्र मेयरका धेरै आकांक्षी छन्, म पनि दाबेदार हुँ। पार्टीले टिकट दिए चुनाव लड्न तयार छु,’ उनले भनिन्, ‘अहिलेसम्म उपप्रमुखमा मात्र महिलाको नाम सुनिने गरेको छ। तर दाबेदारी त प्रमुखमा पनि हो। हामी महिला कमजोर छैनौं।’

राजनीतिक विश्लेषक सुरेन्द्र थापामगर राजनीतिक दलका नेतामा महिलालाई अवसर दिनै नपरे हुन्थ्यो भन्ने सोच हाबी भएको बताउँछन्। ‘राजनीतिक दल पुरुष हाबी छन्,’ थापाले भने, ‘संविधानले व्यवस्था गरेको प्रावधानअनुसार प्रमुख र उपप्रमुखमा एक महिला हुनुपर्छ। तर हामीले उपप्रमुखमात्र महिलाको ठाउँ रहेको भन्ने बुझ्यौं, जुन गलत छ।’

समाज, संस्कृति, धर्म, परम्पराले पनि महिलालाई कमजोर देखाउने गरेको छ, यसमा सुधार ल्याउनुपर्छ। ‘उम्मेदवार बन्न महिला आकांक्षी कम देखिनुमा पुरुषलाई मात्र अवसर हो कि भन्ने सोचले पनि काम गरेको छ। महिलालाई दोस्रो दर्जाको नागरिकका रूपमा हेर्ने सोच पनि यसको कारक हो,’ उनले भने। उनले आकांक्षी महिला आफैं पनि सक्रिय हुनुपर्ने बताए। ‘हामी पनि काम गर्न सक्छौं भनेर सबै दलमा महिला अघि सर्नुपर्नेमा त्यो हुन नसक्नु कमजोरी हो,’ उनले भने।

प्रकाशित: २८ चैत्र २०७८ ०१:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App