coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘नेकपा एसमा जनलहर बढ्दो’

नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीको पक्षमा जनलहर बढ्दै गएको बताएका छन्।

नेकपा एसद्वारा शनिबार राजधानी काठमाडौंमा आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले यस्तो दाबी गरेका हुन्। उनले सुदूरपश्चिम, कर्णाली र मधेस प्रदेशमा आफ्नो दल एमालेभन्दा बलियो भएको तर्क राखे।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै अरूले गफ गर्ने तर आफूले काम गर्ने बताए। ‘गफभन्दा काम गरेर देखाउनुस्, जसले तपाईंप्रति जनताको विश्वास आर्जन गर्छ,’ नेपालले भने। उनले नेकपा एसका पक्षमा व्यापक जनलहर आएकाले विरोधीहरूमा तरंग उत्पन्न भएको बताए।

‘हाम्रो पार्टीले समाजमा विचारको नयाँ तरंग उब्जाएको छ, जसले गर्दा विरोधी अत्तालिएका छन्,’ नेपालले भने, ‘हामीले विचार र व्यवहारमा नयाँ उदाहरण प्रस्तुत गरेका छौं। विश्वासका साथ अघि बढौं, हाम्रो पार्टीको भविष्य छ, यही पार्टीको भविष्य छ।’

निरास मान्छेले गरिखान नसक्ने भन्दै अध्यक्ष नेपालले आँटका साथ अघि बढ्न नेताकार्यकर्तालाई आग्रह गरे। ‘गफाडीहरूको कुनै काम छैन। गफाडीलाई गफ गर्न दिनुस्, अरूको अपमान गर्न दिनुस्। हामीले काम गरेर देखाउने हो। इमानदारी र निष्ठाका साथ देश रूपान्तरणमा हामी अघि बढ्ने हो,’ उनले भने। उनले जिल्लामा अन्य पार्टी छाडेर नेकपा एसमा प्रवेश गर्ने लहर चलिरहेको बताए।

‘हिजो मात्रै काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट, वरिष्ठ अधिवक्ताजस्ता व्यक्तिहरू हाम्रो पार्टीमा प्रवेश गर्नुभयो। पूर्वमा इटहरिदेखि सर्लाही र बारासम्मको माहोल पनि हाम्रो पक्षमा छ,’ उनले भने, ‘सुदूरपश्चिममा हामी पहिलो छौं। मधेस प्रदेशमा पनि केपी ओलीको पार्टीलाई हामीले पछाडि धकेलिसकेका छौं। कर्णाली प्रदेशका जिल्लामा व्यापक संगठन भइरहेको छ, जनलहर हाम्रो पक्षमा छ, हामी बलियो छौं।’

‘एमाले क्विन्टल भए हामी टन’

कार्यक्रममा नेकपा एसका सम्मानित नेता झलनाथ खनालले एमाले क्विन्टल भए आफूहरूको पार्टी टन भएको बताए। नेता खनालले ओलीलाई नेकपा एस दसौंं टनको बनेको हेर्न जिल्लाजिल्लामा जान चुनौती दिए। उनले सत्तारुढ पाँचदलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा जाने स्पष्ट पारे।

उनले स्थानीय तह निर्वाचन प्रचार अभियानमा जुटन पनि नेताकार्यकर्तालाई निर्देशन दिए। एमालेबाट विभाजन भएर माधव नेपालको अध्यक्षतामा नेकपा एस गठन भएपछि काठमाडौंमा पहिलोपटक खुला सभा भएको हो।

प्रकाशित: २७ चैत्र २०७८ ०१:२१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App