coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

२० देशमा राजदूत सिफारिस

सरकारले विभिन्न २० मुलुकमा राजदूत नियुक्तिका लागि सिफारिस गरेको छ। मन्त्रिपरिषद्को बिहीबारको बैठकले यस्तोे निर्णय गरेको हो। मन्त्रिपरिषद् बैठकमा चार दर्जनभन्दा बढी प्रस्ताव लगिएको थियो। परराष्ट्रमन्त्री नारायण खड्काले राजदूत नियुक्ति सिफारिससम्बन्धी ठाडो प्रस्ताव लगेका थिए।

विभिन्न देशमा राजदूत नियुक्तिका लागि सिफारिस भएकामा परराष्ट्र सेवाका आठ र राजनीतिक कोटाका १२ जना रहेको जानकारी एक मन्त्रीले दिए। यसरी सिफारिस हुनेमा परराष्ट्र सेवाका निर्मलकुमार काफ्ले ब्राजिल, दुर्गाबहादुर सुवेदी जापान, भरतकुमार रेग्मी अस्ट्रिया, सुशीलकुमार लम्साल इजिप्ट, घनश्याम भण्डारी बंगलादेश, डोरनाथ अर्याल ओमान, तीर्थराज वाग्ले म्यानमार र हरिषचन्द्र घिमिरे बहराइन छन्।

राजनीतिक कोटामा माओवादी केन्द्रबाट विष्णुपुकार श्रेष्ठ चीन, जनता समाजवादी पार्टीबाट नवराज सुवेदी साउदी अरेबिया र डा. रामस्वार्थ राय यादव डेनमार्क, नेकपा एकीकृत समाजवादीबाट मिलन तुलाधर रुस, कैलाश पोखरेल अस्ट्रेलिया र डिल्लीराज पौडेल मलेसियाका लागि राजदूत सिफारिस भएका छन्। यस्तै शर्मिला पराजुली ढकाल स्पेन, शान्ता रिजाल इजरायल, ज्योति प्याकुरेल दक्षिण कोरिया, वासुदेव मिश्र श्रीलंका, दानबहादुर तामाङ दक्षिण अफ्रिका र नरेशविक्रम ढकाल कतारका लागि राजदूत सिफारिस भएका छन्।

संसदीय सुनुवाइ समितिले राजदूतमा सिफारिस नाम अनुमोदन गर्नुपर्ने व्यवस्था छ। सरकारले स्थानीय तह निर्वाचन आचारसंहिता लागु हुनुभन्दा पहिले  राजदूत नियुक्तिका लागि सिफारिस गरेको हो। वर्तमान सरकार बनेलगत्तै विभिन्न मुलुकमा कार्यरत राजदूतलाई फिर्ता बोलाइएको थियो।

सातामा २ दिन बिदा

मन्त्रिपरिषद् बैठकले इन्धन जोगाउन तथा सार्वजनिक खर्चमा कटौती गर्न सातामा दुई दिन बिदा दिने निर्णय गरेको जानकारी एक मन्त्रीले दिए। ती मन्त्रीकाअनुसार अहिले दिइएका सार्वजनिक बिदा कटौती गरेर सातामा दुई दिन बिदा दिने निर्णय भएको हो। ‘कुनकुन सार्वजनिक बिदा कटौती गर्ने भन्ने विषयमा अध्ययन गर्न गृहमन्त्रीको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गर्ने निर्णय गरिएको छ’, ती मन्त्रीले भने। कार्यदलमा अर्थमन्त्री र संघीय मामिलामन्त्री पनि सदस्य रहनेछन्।

सार्वजनिक बिदा कटौती नगरेर सातामा २ दिन बिदा दिएमा नेपालमा धेरै बिदा हुने भएकाले २ दिन बिदा घोषणा गर्नुअघि सार्वजनिक बिदा कटौती गर्न लागिएको सरकारको भनाइ छ। ‘अहिले सातामा २ दिन बिदा घोषणा गर्‍यौं भने नेपालमा बिदैबिदा मात्र हुन्छ। त्यसैले सार्वजनिक बिदा कटौती गरी त्यसलाई कभर गर्न २ दिन बिदा दिन दिने निर्णय गरेका हौं’, अर्का एक मन्त्रीले भने। कार्यदलले प्रतिवेदन बुझाउनेबित्तिकै २ दिन बिदा दिने निर्णय लागु हुने उनको भनाइ छ।

करिब २२ वर्षअघि पनि सातामा २ दिन बिदा दिने निर्णय लागु भएको थियो। तर त्यो निर्णय धेरै दिन कार्यान्वयन भएन। सातामा २ दिन बिदा दिने निर्णयको सबैतिर आलोचना भएपछि खारेज भएको थियो।यसपटक सरकारले इन्धन तथा सार्वजनिक खर्च कटौती गर्न २ दिन बिदा दिने निर्णय गर्न लागेको हो।

यसअघि योगेश भट्टराई पर्यटनमन्त्री भएको बेला उनले हप्तामा २ दिन सार्वजनिक बिदा दिन अध्ययनका लागि एउटा कार्यदल बनाएका थिए। उक्त कार्यदलले हप्तामा २ दिन बिदा दिने निर्णय कायान्र्वयन गर्न सिफारिस गरेको थियो। तर उक्त प्रतिवेदन मन्त्रिपरिषद्मा समेत पुगेन। मन्त्रिपरिषद्मा प्रस्ताव लैजानुअघि नै उक्त प्रतिवेदनको विरोध भएको थियो। सरकारी कर्मचारीलाई आन्तरिक पर्यटनमा पठाउन हप्तामा २ दिन बिदा दिन उपयुक्त हुने सल्लाह पर्यटन मन्त्रालयको थियो।

२०६६ सालमा सरकारले सार्वजनिक बिदा घोषणा गर्ने सम्बन्धमा तत्कालीन गृहसचिव गोविन्द कुुसुमको संयोजकत्वमा एउटा कार्यदल गठन गरेको थियो। उक्त कार्यदलले पनि हप्तामा २ दिन बिदा दिन सरकारलाई सिफारिस गरेको थियो। उक्त प्रतिवेदन पनि कार्यान्वयन भएन। प्रशासनविद्ले नेपालमा दिइएका सार्वजनिक बिदा धेरै भएको बताउँदै आएका छन्।

प्रकाशित: २५ चैत्र २०७८ ०१:०२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App