coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमाले अध्यक्ष ओली चुनावी दौडधुपमा

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको ध्यान मधेसमा दिन थालेका छन्। मधेस प्रदेशमा एमालेको संगठन कमजोर देखिएको अवस्थामा उनले पार्टीको ध्यानमा मधेस प्रदेशमा लगाए।

स्थानीय तहको निर्वाचन नजिक आएसँगै ओली मधेसको केन्द्र रहेको पर्सामा मात्रै दुईपटक पुगिसकेका छन्। एमालेले मधेसमा आफ्नो सम्बन्ध सुधार गर्न चाहेकै कारण उनी पटकपटक मधेस जान थालेको मधेसको राजनीतिमा जानकार राख्ने मधेस विज्ञहरूले बताएका छन्। अघिल्लोपटक एमालेको विपक्षमा माहोल भएका कारण मधेसमा एमालेलाई कठिन भएको तथा अहिले चाहिँ ओलीलाई सहज भएका कारण पनि उनी पटकपटक मधेस झरेका हुन्।

‘जतिबेला एमालेलाई अप्ठेरो थियो त्यतिबेला एमालेका नेताहरूले मधेसवादी दलहरूलाई सरकारमा ल्याए, त्यसको परिणाम मधेसका नेताहरूले नै ओलीलाई स्विकारेर नेता मान्न थालेपछि कार्यकर्ताहरूले पनि ओलीलाई स्वीकार गरेको देखिन्छ,’ मधेस मामिला जानकार तुलनारायण शाहले भने।

उनका अनुसार मधेसमा आफ्नो प्रभाव देखाउन र सन्तुलन कायम गर्न पनि पटकपटक एमाले अध्यक्ष मधेसका कार्यक्रममा सहभागी भएका हुन्। एमाले अध्यक्ष ओलीले मधेसमा क्रियाशील दलका नेता कार्यकर्तालाई पार्टीमा ल्याउन पार्टीको सम्पूर्ण शक्ति खर्च गरिरहेका छन्। सत्तारुढ दलहरूले एमालेविरुद्ध गठबन्धन गरिरहँदा मधेसमै क्रियाशील रहेका दलसँग सहकार्य वा पार्टीमा ल्याउने काममा लागेका छन्।

मधेससँगै एमाले अध्यक्ष ओलीले चुनाव केन्द्रित कार्यक्रम र सभाहरूलाई सम्बोधन गर्न थालेका छन्। गत शनिबार खोटाङ पुगेर हलेसीमा आयोजित कार्यक्रमलाई सम्बोधन गरेका ओलीले त्यहाँ पनि केही मानिसहरूलाई पार्टी प्रवेश गराउँदै आफ्नो सरकारको पालामा गरेका कामको चर्चा गरेका थिए।

त्यही दिन काठमाडौं फर्केका ओलीले नीजि निवासमा कार्यकर्ताहरूसँग भेटघाट गरेका थिए। त्यसैगरी, आइतबार काठमाडौंको टोखामा भएको बुद्धिजीवीको भेलालाई सम्बोधन गरे, साँझ एमालेकै भ्रातृ संगठन सामाजिक सेवा केन्द्रको घोषणा सभामा पुगेर भाषण गर्न भ्याए। सोमबार दिनभर पार्टी प्रवेशका काम र भेटघाटमा व्यस्त भए।  

पार्टी अध्यक्ष ओली मंगलबार वीरगन्ज पुगे। विरगन्ज पुगेर ओलीले लोडसेडिङ हटाउनमा आफ्नो भूमिका रहेको चर्चा गरेका थिए। उनले त्यहाँ पनि विभिन्न दलबाट आएका व्यक्तिहरूलाई पार्टी प्रवेश गराएका थिए। 

विगतमा मधेस प्रदेशमा एमालेलाई निषेध गर्ने अवस्था थियो अहिले भने एमालेलाई स्वागत गर्ने अवस्था बनेको भन्दै ओलीले मधेसी दल तथा कांग्रेसका गढ इलाका भत्काउने योजनामा रहेका छन्। खासगरी एमालेले माओवादी र मधेसवादी दलका नेताहरूलाई पार्टीमा ल्याएर कांग्रेसमाथि प्रहार गर्ने योजना बनाएको छ। ‘मधेसका केही स्थानमा बाहेक एमाले कमजोर रहेको थियो, मधेसमा क्षेत्रीय दल र कांग्रेस बलियो हो अहिले परिस्थिति बदलिएको छ त्यही कारण एमालेले आफ्नो ध्यान केन्द्रित गरेको हो,’ एमालेका एक मधेसवादी नेताले भने।

चैत महिनामै मोरङको रंगेली नगरपालिकाका मेयर दिलीपकुमार बगडिया (अग्रवाल) र उपमेयर केशवकुमारी खराललाई ओलीले पार्टीमा ल्याए। सत्ताबाट बाहिरिएर प्रतिपक्षमा पुगेको नेकपा एमालेले सत्ताधारी दल नेकपा माओवादी केन्द्रबाट निर्वाचित मेयर र उपमेयरलाई ल्याएर जती चर्चा पाएनन् त्योभन्दा बढी मधेस प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जका मेयर विजयकुमार सरावगीलाई पार्टीमा ल्याएपछि चर्चा पाए वीरगन्जको प्रसौनीबिर्तामा सरावगीलाई एमाले अध्यक्ष ओलीले गम्छा पहिराएर पार्टी प्रवेश गराउँदै गर्दा लोसपा नेता राजेशमान सिंह एमाले प्रवेशको तयारीलाई रोकेर बसेका छन्।

सरावागी २०७४ सालको स्थानीय तहको निर्वाचनमा सरावगी तत्कालीन संघीय समाजवादी फोरमबाट मेयरमा निर्वाचित भएका थिए। त्यसअघि सरावगीको राजनीतिक पहिचान थिएन। उनी उद्योगी व्यावसायी थिए। २०७२ को तेस्रो मधेस आन्दोलनताका राजनीतिमा सक्रिय सरावगी तत्कालीन संघीय समाजवादी फोरममा प्रवेशसँगै वीरगन्ज महानगरको मेयरमा निर्वाचित भएका थिए।

जसपा छाडेर नेपाली कांग्रेसमा प्रवेश गर्ने सोच बनाएका सरावगी अचानक नेकपा एमालेमा प्रवेश गरेका हुन्। उनलाई पूर्वमन्त्री मोती दुगडले अध्यक्ष ओलीसँग भेट गराएपछि एमाले प्रवेश गरेका थिए। बाराको आदर्श कोतवाल गाउँपालिका अध्यक्ष मुस्तुफा अन्सारीलाई नेकपा एमालेका अध्यक्ष ओलीले पार्टीमा ल्याएका छन्। पालिका अध्यक्ष मुस्तुफा जनता समाजवादी पार्टी त्याग गरेर एमालेमा प्रवेश गरेका हुन्। 

मधेस सरकारको नेतृत्व गर्ने यस प्रदेशको ठूलो पार्टी जसपाका जनप्रतिनिधिलाई पार्टीमा ल्याउँदै ओलीले मधेसमा आफूले गरेको विकासको फेहरिस्त प्रस्तुत गरेका थिए। हुलाकी सडक, सिँचाइका थुप्रै काम आफू नेतृत्वको सरकारले अघि बढाएको उनको भनाइ थियो। मधेस केन्द्रित दलले जोडदार रूपमा उठाउँदै आएको नागरिकताको समस्याको समाधान पनि एमालेले नै गर्ने उनको दाबी थियो। मधेसकै ठूलो दल जसपाभित्र मतभेद चुलिएको बेला यस पार्टीका असन्तुष्ट नेता तान्न एमाले केन्द्रित भएको पाइन्छ।

२०७२ को मधेस आन्दोलनबाट एमाले मधेसमा करिब करिब जनमत गुमाइसकेको थियो। तर मधेस केन्द्रीत दलकै सत्तास्वार्थ कारण एमाले मधेसमा ‘कमब्याक’ गरेको विश्लेषकहरू बताउँछन्। ‘विगतमा मधेसवादी दलहरूले ओली सरकारमा सहभागी भएर ओलीलाई नेता मानेपछि अहिले यो अवस्था सिर्जना भएको हो’, मधेस मामिला विश्लेषक साहले भने। मधेस आन्दोलनका बखत संघीय समाजवादी फोरम र राजपाबीच मधेसी गठबन्धन बनेको थियो। अहिले त्यो शक्ति कमजोर बनेको छ।

अहिले मधेसमै मधेसवादी शक्तिहरू कमजोर बनेको अवस्थामा एमालेका अध्यक्ष ओलीले फाइदा लिइरहेका छन्। ओलीले त्यति मात्र होइन पञ्चालयतकालदेखि नै पार्टी र रंग बदल्न खप्पिस रहेका जामिल मियाँलाई पनि एमालेमा ल्याएका छन्। मियाँले पैसा तिरेको हेलिकोप्टर चढेर मियाँलाई खादा र माला लगाई एमालेमा प्रवेश गराएका हुन्। अहिले पनि पर्सामा ठूलो संख्या भेला पारेर ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।  

मधेसमा एमालेभित्रै विवाद  

पार्टी अध्यक्ष ओलीले नयाँ मान्छेहरूलाई पार्टीमा आमन्त्रण गरे पनि स्थानीय संगठित कार्यकर्ता भने त्यति सन्तुष्ट छैनन। मधेसमा माओवादीका नेता प्रभु साहलाई पार्टीमा ल्याएपछि आठवटा मध्ये धेरै जिल्लामा विवाद देखिँदा पार्टी अध्यक्ष ओलीले धनुषा, पर्सा जस्ता जिल्लामा आफ्नो उपस्थिति देखाइरहेका छन्। रौतहटमा एक प्रकारले समानन्तर जिल्ला कमिटी नै सञ्चालनमा रहेका छन्। पार्टीको केन्द्रीय कमिटीको बैठकमा केन्द्रीय सदस्य रेखाकुमारी झाले उजुरी नै दर्ता गरेकी थिएन। मधेसमा एमालेभित्र समस्या रहेको सो समाधन गर्न भन्दै पार्टी अध्यक्षलाई उजुरी गरेकी थिइन्। तर ओलीले सो विषयमा ध्यान दिएनन्।

पछिल्लो समय रौतहटका सबै विवादहरू थाती राखेर ओलीले मधेस प्रदेशमा एमालेको उपस्थिति बलियो बनाउने कोसिस गरेका छन्। मधेस प्रदेशमा अन्य दलको भन्दा प्रभु साहको कुरा सुनुवाइ हुन्छ। साहको अगाडि एमालेका नेताहरू पुरुषोत्तम पौडेल, अच्यूत मैनाली लीला श्रेष्ठलगायतका नेताहरू छाँयामा परेका छन्।

साहले बारा पर्सा, रौतहट, महोत्तरी, धनुषा, सिराह सप्तरीलगायतका आठवटै जिल्ला हेर्न पाउनु पर्ने माग गरेका छन्। तर ओलीले रघुवीर महासेठलाई सचिव बनाएर प्रदेशको अघोषित जिम्मेवारी दिएका छन्। अहिले महासेठ र साहबीच अघोषित शीतयुद्ध चलिरहेको छ। तर यी सबै विषयलाई टाढा राखेर ओलीले मधेसलाई बढी प्राथमिकतामा राखेका छन्।

प्रकाशित: २४ चैत्र २०७८ ००:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App