८ वैशाख २०८१ शनिबार
राजनीति

चुनावको मुखैमा मेयर र उपमेयरको तोक आदेशमा डेढ करोड बाडिँदै

भीमेश्वर नगरपालिकाकाे कार्यलय।

चुनावको मुखैमा जिल्लाको भीमेश्वर नगरपालिकाले तोक आदेशका भरमा निकट कार्यकर्तालाई डेढ करोड रुपैयाँ बाँड्न सुरु गरेको छ। नगरपालिकामा जनतासंग मेयर र उपमेयर जस्ता कार्यक्रम शिर्षक राखेर मेयर र उपमेयरको ठाडो तोक आदेशका भरमा धमाधम रकम वितरण भईरहेको छ।  

उपभोक्ताको लागत सहभागिता समेत देखाएर रकम वितरण भईरहेको जनतासंग मेयर कार्यक्रममा १५ हजार रुपैयाँदेखी ४ लाख रुपैयाँसम्म बाँडिएको छ। नगरको वडा नं २ मा बंगुर खोर निर्माणका लागि १५ हजार र वडा नं ९ मा खानेपानी आयोजना निर्माणका लागि १५ हजार रुपैयाँ निकासा दिईएको छ। खानेपानी आयोजना भनेर १५ हजार रुपैयाँ दिनु भन्ने तोक आदेशपछि प्रक्रिया अगाडी बढाए उक्त वडाका शेरबहादुर श्रेष्ठले फागुन १९ गते रकम निकासा लगेका छन्। सोही वडाको टाहार खानेपानी आयोजना भनेर २० हजार रुपैयाँ निकासा दिईएको छ। ‘१५/२० हजार रुपैयाँमा खानेपानी आयोजना बन्छ भन्नु नै आफैंमा हास्यास्पद हो’ जिल्लाको एक सरकारी अड्डाका प्राविधिकले भने।

नगर सभाबाट निर्धारण गरिएकै योजनामा समेत ‘डुप्लीकेसन’ हुने गरी जनतासंग मेयर कार्यक्रमबाट तोक आदेशमा रकम थपिएको छ। सुचनाको हक सम्बन्धी ऐन प्रयोग गरेर नागरिकन्युजलाई प्राप्त विवरण अनुसार रकम लैजानेमा प्राय एमाले कार्यकर्ता छन्। जनतासंग मेयर कार्यक्रममा प्राय पूर्वाधारका योजना मात्र समेटिएको छ। उक्त कार्यक्रमबाट ६९ लाख रुपैयाँ बाँडिसकिएको छ। विनियोजन ऐन बनाउने बेलामा बजेट शिर्षक नै तोक्नुपर्ने सैद्धान्तिक मान्यता रहेपनि जनता संग मेयर र उपमेयर कार्यक्रम राखेर नगर प्रमुख र उपप्रमुखले हुण्डी बाडिरहेका छन्।  

महिला संग उपमेयर कार्यक्रम अन्तर्गत हाल सम्म १९ लाख रुपैयाँ बाँडिसकिएको छ। गोठ बनाउन भन्दै उपमेयर कमला बस्नेतको तोक आदेशमा उनकै वडाकी कल्याणी बस्नेतलाई १३ हजार रुपैयाँ दिईएको छ। यस्तै चरिकोटकी एमाले कार्यकर्ता जानुका न्यौपानेलाई चुनावको मुखमा नेतृत्व विकास तालिम सञ्चालन गर्न २ लाख ५० हजार रुपैयाँ छुट्याईएको छ। एमाले जिल्ला पार्टी कार्यालयमा कार्यरत कर्मचारी भीमसेन नेपालीलाई माउ बाख्रा खरिद गर्न ३० हजार रुपैयाँ अनुदान दिईएको छ।  

नगरका प्रमुख भरत बहादुर केसीले काम गरेरै रकम भुक्तानी दिईएको सुनाए। ‘काम गर्दै जादा उपभोक्ताहरुलाई रकम नपुग्ने र नयाँ साना तिना काम गर्न बजेट मागेर मेयरको कार्यकक्षमा आउने समस्या बढेपछि अफ्ठयारोमा नगरबासीलाई पूर्वाधारको काममा सहयोग गर्न सकियोस भनेर जनता संग मेयर कार्यक्रम राखेका हौं’ उनले भने, ‘यो कुनै हुण्डी वा रकम बाड्ने उद्धेश्य होईन’। उनले तोक आदेशपछि ईष्टमेट गरेर प्राविधिक मार्फत फिल्ड हेरेर मात्र रकम भुक्तानी दिने गरेको सुनाए। दुवै कार्यक्रमका लागी करिब डेढ करोड रुपैयाँ बजेट नगरमा रहेको छ।

जनतासंग मेयर र महिलासंग उपमेयर कार्यक्रम अन्तर्गत बाडिएको विवरण:

 

प्रकाशित: १५ चैत्र २०७८ ०५:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App