७ वैशाख २०८१ शुक्रबार
राजनीति

के-के गरेर फर्किए चिनियाँ विदेशमन्त्री?

दक्षिण एसियाली मुलुकहरू पाकिस्तान, अफगानिस्तान र भारतको भ्रमण सकेर चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यी तीन दिने नेपाल भ्रमणका लागि गत शुक्रबार अपराह्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरे। शुक्रबार साँझ ५ बजेका लागि तय भएको विदेशमन्त्री वाङसहितको उच्चस्तरीय भ्रमण टोली दिउँसो ३ः५५ बजे नै विमानस्थल अवतरण गरेको थियो। विदेशमन्त्रीको स्वागत उनका समकक्षी डा. नारायण खड्कासहितको टोलीले गरेको थियो।

विमानस्थलबाट सोझै बत्तीसपुतलीस्थित होटेल द्वारिका पुगेका विदेशमन्त्री वाङ शुक्रबार कुनै पनि औपचारिक कार्यक्रममा सहभागी भएनन्। भ्रमणको दोस्रो दिन वाङ शनिबार बिहान शिवपुरीमा ‘हाइकिङ’ गरेर अपराह्न ३ः४५ मा सिंहदरबार आइपुगे। सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको हलमा औपचारिक भेटवार्ता अघि चिनियाँ विदेशमन्त्री वाङ र सकमक्षी परराष्ट्रमन्त्री डा. नारायण खड्काबीच भेटवार्ता भएको थियो। लगत्तैको औपचारिक वार्तामा वाङ नेतृत्वको चिनियाँ टोली र खड्का नेतृत्वको नेपाली टोली सहभागी थियो। प्रतिनिधिमण्डलस्तरीय वार्तापछि दुई परराष्ट्रमन्त्रीले आफ्नो रोहबरमा विभिन्न नौ वटा विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर आदानप्रदान गरेका थिए। वार्ता र हस्ताक्षर कार्यक्रम साढे एक घण्टाभन्दा बढी चलेको थियो।

यसमा नेपाल चीन अन्तरदेशीय रेल निर्माणको संभाव्यता अध्ययन, नेपाल चीन अन्तरदेशीय विद्युत प्रशारण लाइन निर्माणको संभाव्यता अध्ययन, नेपालमा उत्पादित सामग्रीलाई भन्सार छुट दिनेसहितका सम्झौताहरु रहेका छन्। त्यसैगरी नेपालमा उत्पादन भएको हेलेग घाँस निर्यात, नेपाल चीनबीच आर्थिक तथा प्राविधिक सहयोग, अरनिको राजमार्ग मर्मत संभारसम्बन्धी दीर्घकालीन परियोजनाको तेस्रो चरण संचालन गर्नेसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।

चिनियाँ परराष्ट्रमन्त्री वाङ र नेपाली सकमक्षी डा. नारायण खड्काको उपस्थितिमा चीनको आर्थिक तथा प्राविधिक सहयोगसम्बन्धी सम्झौता र अन्तरदेशीय रेल निर्माणसम्बन्धी सम्झौतामा अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनी र नेपालका लागि चिनियाँ राजदूत हाउ यान्छीबीच हस्ताक्षर भयो।

तत्पश्चात प्रधानमन्त्री शेरबहादुर देउवासँग शिष्टाचार भेटका लागि बालुवाटार पुगेका चिनियाँ विदेशमन्त्री वाङ र प्रधानमन्त्रीबीच झण्डै एक घण्टा भेटवार्ता भयो। बालुवाटार स्रोतका अनुसार प्रधानमन्त्री देउवाले मन्त्री वाङलाई नेपाललाई अनुदानमा आधारित परियोजनामा सहयोग गर्न आग्रह समेत गरेका थिए।

यसैक्रममा प्रधानमन्त्री देउवाको उपस्थितिमा चिनियाँ परराष्ट्रमन्त्री वाङले नेपाली सकमक्षी डा. नारायण खड्कालाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको सांकेतिक चाबी समेत हस्तान्तरण गरेका थिए। चीनको आर्थिक सहयोगमा निर्माण भइरहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल हस्तान्तरण गरेका हुन्। नेपालले चीनको एक्जिम बैंकबाट विमानस्थल निर्माणका लागि ०७३ मा २१ करोड ५९ लाख ६० हजार अमेरिकी डलर ऋण लिएको थियो। वार्षिक दुई प्रतिशत ब्याजमा २० वर्षका लागि चिनियाँ ऋण लिएर निर्माण भइरहेको विमानस्थलको हालसम्म ९३ प्रतिशत काम सकिएको छ भने आगामी जुलाईसम्म निर्माण सम्पन्न हुनेछ।

भ्रमणको अन्तिम दिन मन्त्री वाङले आइतबार बिहान शीतल निवास पुगेर राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेटवार्ता गरेका थिए। तत्पश्चात एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग पनि भेटवार्ता गरेका थिए।

उनले पूर्वप्रधानमन्त्री दाहालसँगको भेटमा कोरोनाको कारण नाका खोल्न समस्या भएको बताएका थिए। सोहीक्रममा दाहालले चीनसँगको बढ्दो व्यापार असन्तुलनको विषयमा समेत चिनियाँ पक्षको ध्यानाकर्षण गराएका थिए।

एमाले अध्यक्ष तथा प्रमुख प्रतिपक्षी दलका नेता ओलीले बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) अन्तर्गतका परियोजना छिटो अघि बढाउनेसहित नेपाल सरोकारका आधा दर्जन विषयमा परराष्ट्रमन्त्री वाङसँगको छलफलमा उठाएका थिए। करिब ५० मिनेटको भेटमा अध्यक्ष ओलीले बन्द रहेका नाकाहरु खोल्न, कोरोनाका कारण बीचमै अध्ययन छाडेर नेपाल फर्किएका विद्यार्थीहरुले अध्ययन पूरा गर्ने वातावरण बनाउन, हुम्लाको सीमा क्षेत्रमा अलपत्र परेका नेपालीहरुलाई फर्किने वातावरण बनाउन लगाएत विषयमा सहयोगका लागि छलफल गरेका थिए।

चिनियाँ विदेशमन्त्री वाङ आजै आफ्नो तीन दिने भ्रममण सकेर दिउँसो करिब साढे २ बजे स्वदेश फर्किएका छन्।

प्रकाशित: १३ चैत्र २०७८ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App