४ वैशाख २०८१ मंगलबार
राजनीति

स्थानीय तह निर्वाचनः यी हुन् इलाममा चुनाव चिह्न पाउने दल

आउँदो वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि इलाममा १८ दलले चुनाव चिह्न पाउने सम्भावना देखिएको छ। यद्यपि, निर्वाचन आयोगले राजनीतिक दल र जिल्ला निर्वाचन कार्यालयले पठाएको विवरण ‘अध्ययन’ गरिरहेकाले यो संख्या केही तलमाथि हुनसक्ने छ।

राष्ट्रिय मान्यताप्राप्त ६ दलमध्ये इलाममा ५ मात्रै छन्। राष्ट्रिय मान्यता प्राप्तबाहेक साना १२ दलले जिल्लामा आफ्नो समिति रहेको विवरण निर्वाचन आयोगलाई दिएका छन्। पछिल्लो पटक चैत ६ सम्मको म्याद तोकेर मागिएको दलको विवरण संकलन भइसकेको तर अध्ययन क्रममै रहेको आयोगले जनाएको छ।

नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टी मान्यताप्राप्त राष्ट्रिय दल हुन्। यीमध्ये इलाममा लोकतान्त्रिक समाजवादी पार्टीले जिल्लामा आफ्नो समिति भए÷नभएको विवरण आयोगको जिल्ला कार्यालयमा बुझाएको छैन। यो दलले इलाममा चाह्रि स्थानीय तह निर्वाचनमा भाग लिने वा नलिने भन्ने टुंगो लागिसकेको छैन।

निर्वाचन आयोगले गत फागुन ५ देखि १० सम्मको म्याद दिएर स्थानीय तह निर्वाचनमा सहभागी हुन इच्छुक दललाई विवरण बुझाउन भनेको थियो। त्यसमा ८० दलले विवरण बुझाएकामा ७९ दलको विवरणलाई आयोगले मान्यता दिएको छ। त्यसपछि आयोगले राष्ट्रिय मान्यता प्राप्तबाहेकका ७३ दललाई जिल्लास्तरको संगठन संरचना (जिल्ला समिति)को विवरण बुझाउन चैत ६ सम्मको म्याद दिएर पत्राचार गरेको थियो। सम्बन्धित दलका केन्द्रीय पदाधिकारीले प्रमाणित गरेको विवरण आयोगले मागेको थियो।  त्यसबाहेक जिल्ला निर्वाचन कार्यालयमा समेत विवरण बुझाउन भनिएको थियो।

आयोगको पत्रानुसार जिल्ला निर्वाचन कार्यालयमा १२ दलले जिल्ला समितिको विवरण बुझाएका हुन्। यसरी विवरण बुझाउनेमा मंगोल नेसनल अर्गनाइजेसन, राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत शक्ति नेपाल, राष्ट्रिय जनमुक्ति पार्टी, सामाजिक एकता पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, मौलिक जरोकिलो पार्टी, किरात खम्बुवान् साझा पार्टी, उन्नत लोकतान्त्रिक पार्टी, जनसमाजवादी पार्टी नेपाल, राप्रपा नेपाल र आमूल परिवर्तन मसिह पार्टी नेपाल छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार यसअघि इलाममा १६ दल क्रियाशील रहेको विवरण कार्यालयले संकलन गरेको थियो। कार्यालयका अनुसार जिल्लामा एमाले, का्रग्रेस, माओवादी केन्द्र, जसपा, राप्रपा, मंगोल नेसनल अर्गनाइजेसन, नेकपा (एस), संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, खम्बुवान् राष्ट्रिय मोर्चा नेपाल, एकीकृत शक्ति नेपाल, संघीय लिम्बुवान राज्य परिषद्, नेकपा (माले), राजमुपा, नेकपा, देशभक्त गणतान्त्रिक मोर्चा र नेपाल पूर्वराष्ट्रसेवक लोकतान्त्रिक पार्टी क्रियाशील दलका रूपमा छन्। कार्यालयका सूचना अधिकारी कृष्ण लिम्बूले यसअघिका निर्वाचन लगायतमा सहभागिताका आधारमा ती दल क्रियाशील दलका रूपमा सूचीकृत रहेको जनाए।

आयोगले पछिल्लो सूचना अनुसार देशभर ५८ दलले जिल्लाको विवरण बुझाएका छन्। यो विवरण दलका केन्द्रीय समितिले आयोगमा बुझाएका हुन्। जिल्ला निर्वाचन कार्यालयमा ती दलले बुझाएको विवरण पनि आयोगमा पुगेपछि आयोगले कुनकुन दललाई चुनाव चिह्न दिने भन्नेबारे निर्णय गर्ने लिम्बूले जानकारी दिए। ‘दलहरूले आयोगमा बुझाएको र जिल्ला निर्वाचन कार्यालयले पठाएको ती दलको विवरण रुजु गरेपछि चुनाव चिह्न प्रदान गरिन्छ,’ उनले भने, ‘अहिले संकलित विवरण अध्ययन क्रममा रहेको आयोगले जनाएको छ।’

तोकिएको समयभित्र विवरण नबुझाउने दलको उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव चिह्न प्रदान गरिने आयोगको सूचनामा उल्लेख छ।

प्रकाशित: ९ चैत्र २०७८ ०५:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App