coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

गठबन्धनमा तालमेल तयारी: महानगरमा भागबन्डा, अन्यमा स्थानीय आवश्यकता अनुसार

नेपाली कांग्रेसले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा काठमाडौंसहित मुलुकका ६ वटा महानगरपालिकामा सत्ता गठबन्धन दलहरूसँग तालमेलको तयारी गरेको छ। कांग्रेसले स्थानीय तह निर्वाचनमा गठबन्धन दलहरूसँग तालमेल गर्नेसहितका विषयमा छलफल गरी निर्णय लिन यही चैत ११ गतेका लागि केन्द्रीय समितिको बैठक बोलाएको छ।

काठमाडौं, ललितपुर लगायतका ६ वटा महानगरपालिकामा गठबन्धन दलहरूबीच भागबन्डा गर्ने र बाँकी स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा निर्णय गर्नेगरी पार्टीका तल्लो तहलाई नै अधिकार प्रत्यायोजन गर्ने तयारी कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासहितका नेताको रहेको स्रोतको दाबी छ। स्थानीय तह निर्वाचनमा महानगरपालिकासहित मुख्यमुख्य ठाउँमा चुनावी तालमेल हुने जानकारी दिँदै कांग्रेसका एक पदाधिकारीले भने, ‘महानगरपालिकामा भागबन्डा गर्ने र अन्य स्थानीय तहमा स्थानीय आवश्यकताका आधारमा तालमेल गरेर अघि बढ्ने निर्णय बैठकले गर्नेछ।

पार्टीको तल्लो तहका नेता तथा कार्यकर्ता सत्ता गठबन्धनमा रहेका र नरहेका दलसँग चुनावी तालमेलको पक्षमा देखिएका छैनन् तर सभापति देउवा स्थानीय निर्वाचनमा सत्ता गठबन्धन दलबीच तालमेल गर्ने पक्षमा रहेको स्रोतको दाबी छ। ‘अहिलेको सत्ता गठबन्धनलाई कायमै राखेर निर्वाचनमा तालमेल गरेर जानुपर्ने पक्षमा सभापति देउवा देखिनुहुन्छ,’ उनी निकट एक नेताले भने, ‘केन्द्रीय समितिको बैठकले त्योभन्दा अलग निर्णय लिनसक्ने देखिँदैन।’

मुलुकमा काठमाडौं, भरतपुर, पोखरा, ललितपुर, विराटनगर र वीरगन्ज महानगरपालिका छन्। भरतपुर र वीरगन्ज महानगरपालिकाको प्रमुख कांग्रेसले सत्ता गठबन्धनमा रहेका अन्य दललाई छाड्न सक्ने ती नेताले बताए। अहिले सबैको चासो भरतपुर महानगरपालिका रहेको भन्दै ती नेताले भने, ‘त्यहाँ माओवादीलाई नछाडी गठबन्धनमा रहेका दलहरूबीच तालमेलको सम्भावना देखिँदैन। त्यसो गर्दा कांग्रेसमा ठूलो विद्रोह हुन्छ। अन्य स्थानीय तहमा गरेको तालमेल पनि भत्किन सक्छ।

’पार्टी केन्द्रीय कार्यालय सानेपामा चैत ११ गते २ बजेका लागि बोलाइएको केन्द्रीय समितिको बैठकमा फागुन २९ देखि सुरु भएको एक महिने देशव्यापी अभियानको प्रारम्भिक समीक्षा पनि हुनेछ। बैठकमा पार्टीका केही भ्रातृ संगठनको केन्द्रीय नेतृत्व तोक्ने संस्थापन पक्षको तयारी छ। बैठकले उम्मेदवार छनोटका आधार तय गरी संसदीय समिति पनि गठन गर्ने तयारी छ।

प्रकाशित: ५ चैत्र २०७८ ०४:५८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App