coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बैठकमा एमसीसीविरुद्ध लिखित असहमति राख्दै श्रेष्ठ पक्ष

संसद्बाट व्याख्यात्मक टिप्पणीसहित अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन भएपछि माओवादी केन्द्रभित्र चुलिएको मतभेदलाई लिएर असन्तुष्ट पक्षले लिखित रूपमै असहमतिको प्रस्ताव राख्ने भएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल पार्टीको महाधिवेशनबाट पारित म्यान्डेटबाहिर गई एमसीसी पास गर्न सहयोग गरेको आरोप लगाउँदै लिखित रूपमा फरक मत प्रस्ताव राख्ने तयारी भइरहेको हो। शुक्रबारबाट राष्ट्रिय सभागृहमा बस्न लागेको पार्टीको केन्द्रीय समिति बैठकमा असन्तुष्ट वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ पक्षले एमसीसी अनुमोदन हुँदा संसद्मै बसेर त्यसको विरोध गरेका थिए। 

त्यति मात्र होइन, श्रेष्ठ स्वयंले पनि संघर्ष जारी राख्ने बताउँदै एमसीसी अनुमोदन भएपछि त्यसलाई कालो दिनका रूपमा चित्रण गरेका थिए। तर पार्टी अध्यक्ष दाहालले श्रेष्ठको टिप्पणीप्रति असहमति जनाउँदै राजनीति स्वतन्त्र ढंगले गर्न पनि छुट रहेको बताउँदै पार्टीमा एमसीसी विरोधी धारणा राख्दा पपुलर नहुने र नेताकार्यकर्ता श्रेष्ठको पछि नलाग्ने जनाएका थिए।

दाहालले श्रेष्ठको सो अभिव्यक्तिले वामदेव गौतमकै जस्तो हाल हुने भन्दै टिप्पणीसमेत गरेका थिए। दाहालको सो अभिव्यक्तिबाट चिढिएका श्रेष्ठले आफूनिकट नेताहरूसँग आन्तरिक छलफल गरेका थिए। श्रेष्ठ पक्षीय नेताहरूले पनि श्रेष्ठलाई दाहालको अभिव्यक्तिले पार्टीभित्र बस्न असहज भएको भन्दै विकल्प सोच्न सुझाएका थिए।

श्रेष्ठले निरन्तर छलफल थालेपछि दाहालले त्यसलाई रोक्न पहल गरेका थिए। उनले बुधबार र बिहीबार दुई दिन श्रेष्ठलाई भेटेर पार्टी छाडेर नजान आग्रह गरेका थिए। त्यसका बाबजुद बिहीबार श्रेष्ठले पार्टीभित्रको विवादलाई धेरै अतिरञ्जना नगर्न आग्रहसमेत गरेका थिए। संसद्मा व्याख्यात्मक घोषणासहित एमसीसी अनुमोदनको निर्णय लिएर पार्टीको म्यान्डेटसमेत उल्लंघन गरेको आरोप श्रेष्ठ पक्षले अध्यक्ष दाहालमाथि लगाएको छ।

विवाद उत्कर्षमा पुगेका बेला पार्टीका शक्तिशाली नेता मानिएका वर्षमान पुनले श्रेष्ठसँग भेटघाट गरेका थिए। त्यसक्रममा असन्तुष्टिलाई लिएर पार्टीभित्रै असहमति राख्न आग्रह गरिएको थियो। त्यसपछि श्रेष्ठ शुक्रबारको केन्द्रीय समितिको बैठकमा लिखित रूपमा असहमति राख्न तत्पर भएका हुन्।

‘उहाँहरूले अहसमति राख्ने स्थान केन्द्रीय समितको बैठक हो। त्यही बैठकमा असहमतिका पक्षहरू केके हुन्, त्यही राखौं, त्यही छलफल गरौ भन्ने कुरा भएको छ,’ अध्यक्ष दाहालनिकट एक नेताले भने। तर दाहालले संसदीय दलबाटै ह्विपसम्म लगाएपछि नेता श्रेष्ठ पक्षले त्यसमा अहमित जनाएको थियो। 

त्यति मात्र होइन, संसद्मै विरोध र विपक्षमा समेत उभिएर मत जाहेर गरेपछि अध्यक्ष दाहालले पार्टीको अनुशासन उल्लंघन भएको टिप्पणी गरेका थिए। गत पुसमा सम्पन्न माओवादी केन्द्रको महाधिवेशनले यथास्थितिमा एमसीसी पारित गरेर जान नसकिने निर्णय गरेको थियो। तर एमसीसी सदनबाट माओवादी केन्द्रकै कारण पारित भएको भन्दै नारायणकाजी श्रेष्ठ पक्षीय नेताहरूले तत्काल केन्द्रीय समितिबाट राजीनामा दिएर अलग ढंगले संघर्षमा जानुपर्ने आवाज उठाउन थालेका छन्। केहीले त शुक्रबारको बैठकमा जान नहुने तर्क पनि गरिरहेको स्रोतले जनाएको छ।

‘शुक्रबारको बैठकमा सहभागी हुने कि नहुने भन्नेबारे हामीले छलफल गरेका थियौं। सुरुमा लिखित रूपमा आफ्ना धारणा राखौं, त्यसमा सम्बोधन हुन नसक्ने अवस्था आए विकल्प सोचौं भन्ने कुरा आएको छ। त्यसकारण शुक्रबारको केन्द्रीय समितिमा भाग लिनेछौं,’ श्रेष्ठ पक्षका एक नेताले भने।

बुधबार यता श्रेष्ठले आफू निकटका नेताहरूसँग निरन्तर संवाद गरिरहेका छन्। पार्टी केन्द्रीय समितिमा रहेका नेताहरूका बीचमा छलफल जारी छ। बिहीबार रातिसम्म पनि श्रेष्ठनिकट नेताहरूले आन्तरिक छलफल गरेका थिए। स्रोतका अनुसार आन्तरिक छलफलमा श्रेष्ठसँगै रहेका जनमोर्चा धारका नेताहरू सहभागी छन्।

लीलामणि पोखरेल, शशी श्रेष्ठलगायत नेताहरू पनि सहभागी रहेको स्रोतको दाबी छ। शशी श्रेष्ठ हाल शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्रीसमेत छिन्। स्रोतका अनुसार वरिष्ठ नेता श्रेष्ठलाई पूर्वजनमोर्चा धारका नेताहरूले दाहालले पेल्न थालेको, सम्झौतावादी भएको, आफूलाई केन्द्रमा राखेर काम गर्न थालेको र आफूहरूलाई सधै दोस्रो दर्जाका रूपमा राखेको भन्दै पार्टीबाट अलग रहन दबाब दिइरहेका छन्।

श्रेष्ठले चलाइको छलफलमा पूर्वसभामुख कृष्णबहादुर महारा भने सहभागी छैनन्। संसद्मा महराका साथै रेखा शर्मा, जयपुरी घर्ती, यशोदा सुवेदी गुरुङले सदन बहिष्कार गरेका थिए। यशोदा भने माओवादी संसदीय दलका प्रमुख सचेतक देव गुरुङकी पत्नी समेत हुन्। एमसीसीको चर्को विरोध गर्नेमा गुरुङ दम्पतीमध्ये देव गुरुङले भने पक्षमा मत दिएका थिए। तर महरासँगै यशोदाले भने बहिष्कार गरेकी थिइन्।

त्यस्तै गिरिराजमणि पोखरेल र अञ्जना विशंखेले भने सदनबाटै उठेर विपक्षमा हात उठाएका थिए। महरासहित सात सांसदले पार्टीको ह्विप उल्लंघन गरेको विषयमा पनि शुक्रबारको बैठकमा छलफल हुने भएको छ। माओवादी केन्द्रभित्र ठुलै पंक्ति एमसीसीको विरोधमा रहँदा पनि दाहालले व्याख्यात्मक टिप्पणीलाई सदनमा राखेर अनुमोदन गराएपछि श्रेष्ठ पक्षले त्यसलाई तत्कालै विरोध जनाएको थियो।

तर दाहालले यसलाई बैठकमा राखौं बाहिर नलैजाऔं भन्दाभन्दै श्रेष्ठले नमानेका कारण दाहालले सोमबार श्रेष्ठले अलग धारणा राख्न पाउने तर पार्टीको अनुशासन उल्लंघन गर्न नपाउने भन्दै पार्टी छाडेर गए वामदेव गौतमको हालत हुने चेतावनीपूर्ण भाषा प्रयोग गरेपछि श्रेष्ठ पक्ष निकै अक्रोशित भएर आन्तरिक छलफलमा जुटेको थियो।

‘पार्टीभित्र विमति हुनु स्वाभाविभक थियो तर अध्यक्षको अभिव्यक्तिले विमतिलाई टाढा धकेलिदियो। यसबाट असहजता पैदा भएको छ,’ श्रेष्ठनिकट एक नेताले भने। उनका अनुसार पार्टीभित्र आफ्ना मत राख्न नपाइने हो भने यो विचार समूह पार्टीभित्र आवश्यक छैन। तर दाहालले श्रेष्ठलाई भेटेर पार्टी छाडेर जाने आशयले त्यस्तो अभिव्यक्ति नदिएको भन्दै मंगलबार फकाउन खोजेका थिए।

यद्यपि, बिहीबार बिहान पनि दुई नेताहरूबीच भेटघाट भएको थियो। सो भेटघाटपछि वरिष्ठ नेता श्रेष्ठले सामाजिक सञ्जालमा अतिरञ्जित ढंगले नबुझ्न आग्रह गरेका छन्। ‘हाम्रो पार्टीभित्र देखिएको मतभेद र अन्तरविरोधलाई लिएर विभिन्न सञ्चारमाध्यम मार्फत विभिन्न ढंगले प्रचार भइरहेको सम्बन्धमा विषयलाई अतिरञ्जित ढंगले नबुझ्न सबैसँग अनुरोध गर्छ। अध्यक्ष दाहाल र मेरो बीचमा छलफल जारी छ र अन्य नेतृत्वदायी कमरेडहरूसँग पनि छलफल भइरहेको छ,’ वरिष्ठ नेता श्रेष्ठले भनेका छन्।

प्रकाशित: २० फाल्गुन २०७८ ०१:३२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App