भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवविरुद्ध नेपाली कांग्रेसका नेता एवं तत्कालिन संविधानसभा सदस्य रञ्जित कर्णले हुलाकमार्फत जिल्ला प्रहरी कार्यालय गौरमा जाहेरी दरखास्त दिएका छन्।
मन्त्री यादवले साम्प्रदायिक द्वन्द्व फैलिने अभिव्यक्ति दिएको कर्णले पठाएको जाहेरी पत्रमा उल्लेख छ। मन्त्री यादवबिरुद्ध राज्यविरुद्धको कसूरमा अनुसन्धान गरि कैद र जरिवाना तोक्न जाहेरीमा उल्लेख गरिएको छ।
कर्णले जाहेरीमा उल्लेख गरेका छन, ‘बहालवाला मन्त्रीको अभिव्यक्तिले दुई समुदायबीच द्वन्द्व सृजना भई सोबाट जातिय, धार्मिक, क्षेत्रीय, साम्प्रदायिक दंगा फैलाउने दुई समुदायबीच राष्ट्रिय एकतामासमेत असर पर्ने भएकाले अन्यायी मन्त्रीको अभिव्यक्ति मुलुकी अपराध संहिता २०७४ को दफा ४९ (४) विरुद्ध रहेकाले ऐ. सहितको दफा ५ (ग) बमोजिम हदैसम्मको कैद र जरिवानासमेत गरि पाउँ।’
मन्त्री यादवले ५ माघमा रौतहटको गौरमा आयोजित मधेश बलिदानी दिवसलाई सम्बोधन गर्ने क्रममा दिएको अभिव्यक्ति विवादित बनेको छ। मन्त्री यादवको उक्त भनाईलाई लक्ष्य गरी कर्णले जिल्ला प्रशासन कार्यालय सप्तरी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र समेत पठाएको छ। कर्णले बिहीबार सप्तरीका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतममार्फत् प्रधानमन्त्री शेरबहादुर देउवालाई पनि ज्ञापन पत्र पठाएर कारवाही गर्न भनेको छ।
जाहेरी पत्र।


प्रकाशित: १३ माघ २०७८ १६:३२ बिहीबार