coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

कांग्रेसभित्र सधै वञ्चित हुने शर्मा बने राष्ट्रियसभा सदस्य

लुम्बिनी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित कांग्रेस नेता युवराज शर्मा। तस्बिरः नागरिक

नेपाली कांग्रेस बाँकेका पूर्वसभापति युवराज शर्मा अन्ततः राष्ट्रियसभा सदस्य बनेका छन्। कांग्रेसमा पूराना नेताको रुपमा परिचित शर्मा राष्ट्रियसभामा निर्वाचित भएसँगै उनको परिचय बद्लिएको छ। दाङमा बुधबार सम्पन्न निर्वाचनमा शर्मा निर्वाचित भएका हुन्।

निर्वाचित भएपछि उनले संवैधानिक र पार्टीप्रतिको दुबै दायित्व र कर्तव्य पूरा गर्ने बताएका छन्। ‘मेरो कुरा प्रष्ट नै छ, अब मैले संवैधानिक र पार्टीले मलाई दिएको जिम्मेवारी अनुसार पार्टीप्रतिको दायित्व र कर्तव्य पूरा गर्नेछु,’ शर्माले भने।

७१ वर्षीय शर्माले पार्टी राजनीतिमा करिव पाँच दशक बिताइसकेका छन्। उनलाई कांग्रेसले ढिलै भएपनि राष्ट्रियसभाको उम्मेदवार बनाई निर्वाचित गराएर न्याय गरेको यहाँका अधिकांस नेता, कार्यकर्ताको टिप्पणी छ। शर्मा २०४५ देखि २०४९ सालसम्म कांग्रेस बाँकेको सभापति भएर काम गरेका थिए। पार्टीमा योगदान धेरै भएपनि विगतदेखी हरेक अवसरबाट उनी वञ्चित हुँदै आएका थिए। पञ्चायत विरोधी गतिविधी गरेका कारण शर्मा २०२४ सालमा पहिलोपटक जेल परेका थिए। २०२४ सालपछि पटक–पटक गरेर आफु ३/४ वर्षजति जेल बसेको उनी सम्झिन्छन्।  

२०२५ सालमा विपी कोइरालासँग भारतको गोरखपुरमा उनको पहिलो पटक भेट भएको थियो। विपी कोइरालासँग बाक्लो भेटघाट हुन थालेपछि उनकै विचारबाट धेरै प्रभावित भएर कांग्रेसको राजनीतिमा लागेका हुन्। उनी सुरुमा पढाईको शिलशिला भारतको बनारसमा गएका थिए। त्यहाँ विपी कोइरालाका विचार सुनेर प्रभावित भई नेपाल विद्यार्थी संघ र कांग्रेसको राजनीतिमा लागे। २०२७ सालमा भारतको बनारसबाट प्रतिनिधि भएर नेपाल विद्यार्थी संघको काठमाडौं महाधिवेशनमा सहभागी भएका थिए। २०२८ सालमा शेरबहादुर देउवा नेपाल विद्यार्थी संघको केन्द्रीय अध्यक्ष हुँदा शर्मा उपाध्यक्ष थिए। राजनीतिसँगै केही वर्ष शिक्षण पेशामा समेत संलग्न रहेका उनी नेपाल शिक्षक संगठनको राष्ट्रिय महासचिव समेत भएका थिए।  

२०३३ सालमा तत्कालीन महामन्त्री गिरिजाप्रसाद कोइरालाले रणेन्द्रबहादुर हमाललाई कांग्रेस बाँकेको जिल्ला सभापति बनाएका थिए। त्यसपछि यिनै शर्मा कांग्रेस बाँकेको जिल्ला सचिव र सुशिल कोइराला जिल्ला कार्यसमिति सदस्य थिए। ‘गिरिजा बाबुले सुशिल जीलाई जिल्ला कार्यसमिति सदस्यमा राखिदिनुपर्यो भन्नुभयो, रणेन्द्रबहादुर हमाल सभापति, म सचिव र सुशिल दाई चाही जिल्ला कार्यसमितिको सदस्य हुनुहुन्थ्यो,’ शर्माले विगतलाई स्मरण गर्दै भने ‘हामीले नै सुशिल जीलाई स्थापित गरेका हौं।’  

कोइरालासँग सुरुमा शर्माको राम्रै सम्बन्ध थियो। २०४८ सालपछि भने कोइरालासँग वैचारिक द्वन्द्व सुरु भयो। कोइराला राजनीतिमा अगाडी बढ्दै गए। तर, शर्माले पार्टीको जिल्ला सभापति बाहेक अरु कुनैपनि पाएनन्। कोइराला र शर्माबीच द्वन्द्व यसरी बढ्यो कि उनलाई हरेक अवसरबाट वञ्चित गराइयो।  

कोइरालाले शर्माको ठाउँमा अन्य नेतालाई अगाडी सारेर सांसद बनाए। शर्माले भने सांसदको टिकट कहिल्यै पाएनन्। पार्टीले टिकट नदिएपछि उनी २०५१ सालमा क्षेत्र नम्बर १ र २ बाट स्वतन्त्र उम्मेदवार समेत बनेका थिए। कोइरालासँग शर्मा कहिल्यै झुकेनन् र कोइरालाले पनि उनलाई हरेक अवसरबाट वञ्चित गरिरहे।  

‘सुशिल जीसँग मेरो वैचारिक द्वन्द्व भयो, उहाँसँग मेरो विवाद भएपछि गिरिजा बाबुले पनि मलाई रुचाउनु भएन, विगतमा मलाई हरेक अवसरबाट वञ्चित गराइयो, अहिले मलाई पार्टीले जुन हिसाबले मूल्यांकनत गरेको छ, यसप्रति म धेरै नै आभारी छु,’ उनी भन्छन्। नेपालगन्ज निवासी शर्माले बाँकेको क्षेत्र नम्बर ३ बाट पार्टीको राजनीति गर्दै आएका छन्।

प्रकाशित: १२ माघ २०७८ १५:१७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App