४ वैशाख २०८१ मंगलबार
राजनीति

राष्ट्रियसभा निर्वाचनको तयारी पूरा

राष्ट्रियसभा सदस्य पदका लागि बुधबार हुने निर्वाचनको तयारी पूरा भएको छ। राष्ट्रियसभा निर्वाचनको सबै तयारी पूरा भइसकेको र मतदान स्थललाई समेत व्यवस्थित पारिसकिएको प्रदेश १ निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।  

निर्वाचनका लागि सुरक्षा व्यवस्था, मतदान स्थलको व्यवस्थापनलगायतका सबैखालका तयारी सम्पन्न भइसकेको छ। मंगलबार सुरक्षाकर्मी, प्रमुख जिल्ला अधिकारी, राजनीतिक दललगायतको बैठक राखेर निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको राष्ट्रियसभा निर्वाचन प्रदेश १ का निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए। उनले भने, ‘निर्वाचनको सबै तयारी पूरा भइसकेको र मंगलबार प्रमुख जिल्ला अधिकारी, सुरक्षा नियकाका प्रमुखहरू, राजनीतिक दलका प्रतिनिधिहरूको बैठक बसेर निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष र शान्तिपूर्ण रुपमा सम्पन्न गर्ने निर्णय गरिएको छ।’

निर्वाचनको मौन अवधि सुरू भइसकेकाले प्रचार–प्रसार रोकिएको छ। निर्वाचनमा खटिने सुरक्षाकर्मी, निर्वाचन कर्मचारी र स्वास्थ्यकर्मीसहितको टोलीको व्यवस्थापन भइसकेको छ। प्रदेश १ मा विराटनगर स्थित प्रदेश निर्वाचन कार्यालय र बाली संरक्षण प्रयोगशालाको कार्यालयको प्राङ्गनमा मतदान स्थल तोकिएको छ। प्रदेश १ मा ३ पदका लागि ८ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सत्तारुढ गठबन्धन, नेकपा एमाले र राप्रपाका तर्फबाट उमेदवारी दिइएको छ।

सत्तारुढ गठबन्धनको तर्फबाट काँग्रेसका गोपाल बस्नेत, नेकपा एकीकृत समाजवादीकी जयन्ती राई र जनता समाजवादीका हेमराज थुलुङ राई चुनावी प्रतिष्पर्धामा छन्। यस्तै एमालेबाट गुरुप्रसाद बराल, सुमित्रा भण्डारी र सोनाम ग्याल्जेन शेर्पाले उम्मेदवार छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट अमर विष्ट र रञ्जु प्याकुरेल प्रतिष्पर्धामा छन्। प्रदेश १ मा अन्य १, महिला १ र अपाङ्ग अल्पसंख्यक १ गरी ३ सिटका लागि निर्वाचन हुन लागेको हो।

राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश १ मा स्थानीय तहका प्रमुुख, उप–प्रमुख र प्रदेशसभाका सदस्य गरी कुल ३ सय ६४ मतदाता छन्। निर्वाचनमा प्रदेशसभाका ९३ जना मतदाता हुनुपर्नेमा टङ्क आङ्बुहाङ माओवादी केन्द्रको कारबाहीमा परेपछि हाल उनको पद रिक्त रहेको छ। बाँकी १ सय ३७ स्थानीय तहमा २ सय ७४ मतदाता हुनुपर्नेमा २ जनाको निधन भएको कारण स्थानीय तहको कुल मतदाता २ सय ७२ मात्र छन्।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको मतभार ४८ र स्थानीय तहका जनप्रतिनिधिको मतभार १८ हुने कानूनी व्यवस्था छ। जसअनुसार प्रदेश १ मा ९२ प्रदेशसभा सदस्यहरुको मतभार ४ हजार ४ सय १६ र २ सय ७२ स्थानीय तहका जनप्रतिनिधिको मतभार ४ हजार ८ सय ९६ गरी जम्मा कुल मतभार ९ हजार ३ सय १२ रहेको छ।

प्रदेश १ मा नेकपा एमालेका जनप्रतिनिधिहरुको कुल मतभार ४ हजार ५ सय २४ छ। पाँचदलीय गठबन्धनको कुल मतभार ४ हजार ६ सय ६८ छ। जसमा गठबन्धनमा आबद्ध नेपाली काँग्रेसको २ हजार ७ सय ३६, नेकपा माओवादी केन्द्रको १ हजार ८, नेकपा (एकीकृत समाजवादी) को ६ सय ६०, जनता समाजवादी पार्टीको २ सय १६ र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको ४८ मतभार छ। प्रदेशमा नेपाली कांग्रेससँग प्रदेशसभा सदस्य २१ तथा स्थानीय तहका मतदाता प्रतिनिधि ९६ रहेका छन्। कांग्रेससँग स्थानीय तहका प्रमुख र उप–प्रमुख गरी ९६ जनाको १ हजार ७ सय २८ तथा प्रदेशसभामा २१ जना सांसदको १ हजार ८ गरी कुल २ हजार ७ सय ३६ मतभार छ।

नेकपा माओवादी केन्द्रसँग पनि १५ जना प्रदेशसभा सदस्य र १६ जना स्थानीय तहका मतदाता प्रतिनिधि छन्। माओवादीको जम्मा मतभार १ हजार ८ छ। नेकपा एमालेबाट विभाजित भएर बनेको नेकपा (एकीकृत समाजवादी) सँग प्रदेशसभामा १० सांसद र स्थानीय तहमा १० जना मतदाता प्रतिनिधि छन्। यसरी एकीकृत समाजवादीको जम्मा मतभार ६ सय ६० छ। प्रदेशसभा सदस्य ३, गाउँपालिका अध्यक्ष २ र उपाध्यक्ष २ रहेको जनता समाजवादी पार्टीसँग २ सय १६ मतभार छ भने अध्यक्ष ३, उपाध्यक्ष १ र प्रदेशसभा सदस्य १ रहेको राप्रपासँग १ सय २० मतभार छ।

प्रदेशसभामा १ सांसद रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चसँग ४८ मतभार रहेको छ। राष्ट्रिय सभाको निर्वाचन बुधबार विहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन हुने छ। मतदान सकिएलगत्तै मतगणना पनि सुरू गर्ने निर्वाचन कार्यालयको तयारी रहेको अधिकृत लम्सालल बताए।

प्रकाशित: ११ माघ २०७८ १३:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App