८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनी गुरुयोजनाको काम चाँडो सक्न काँग्रेस लुम्बिनी प्रदेशको आग्रह

नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनसहितका पदाधिकारीहरुलाई लुम्बिनी गुरुयोजनाका सम्बन्धमा जानकारी गराउँदै लुम्बिनी विकास कोषका योजना प्रमुख इन्जिनियर सरोज भट्टराई। तस्बिरः नागरिक

नेपाली कांग्रेस लुम्बिनी प्रदेश समितिले लुम्बिनी गुरुयोजनाका काम छिटो सक्न र पर्यटन प्रवर्द्धनका काम अगाडि बढाउन आग्रह गरेको छ। लुम्बिनी गुरुयोजनाको काममा भएको ढिलासुस्तीप्रति कोषको ध्यानाकर्षण गराउँदै काँग्रेस प्रदेश समितिले छिटो काम सक्न आग्रह गरेको हो।  

आइतबार लुम्बिनी विकास कोषका पदाधिकारी तथा कर्मचारीहरुसंगको छलफलमा नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनी गुरुयोजनालाई पूर्णता दिई समग्र प्रदेशमा पर्यटन प्रवर्द्धनका कार्यक्रम अगाडि बढाउनु पर्ने बताए। लुम्बिनीको विकासमा काँंग्रेसले सदैव सहयोगी भूमिका खेल्ने बताउँदै उनले विकासका नाममा हुने बेथिति र ढिलासुस्ती भने काँग्रेसलाई स्वीकार्य नहुने बताए।

लुम्बिनीलाई केन्द्रमा राखेर प्रदेशका बाह्र वटै जिल्लाको प्राकृतिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरुलाई समेट्दै पर्यटनका नयाँ आयामहरुको विस्तार गर्न सकिनेमा सभापति पुनले जोड दिए।  

‘लुम्बिनीसंग जोडेर प्रदेशभित्रका अन्य पर्यटकीय क्षेत्रको पनि विकास र विस्तार हुनु पर्छ भन्ने हाम्रो मान्यता हो र त्यसका लागि ठोस योजना ल्याउनु पर्छ’, सभापति पुनले भने। लुम्बिनी आउने पर्यटकलाई प्रदेशका सबै जिल्लामा पुर्‍याउने वातावरण विकास कोषले तयार गर्नुपर्नेमा नेता पुनले जोड दिए। कार्यक्रममा लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईले लुम्बिनी गुरुयोजनाको ८१ प्रतिशत काम सकिएको बताए।  

इन्जिनियर भट्टराईले अबको दुई वर्षमा गुरुयोजनाको सम्पूर्ण काम सक्ने योजना रहेको बताए। गुरुयोजना अन्तर्गत हालसम्म ५ अर्ब ४३ करोडको बजेट अनुरुपका काम सम्पन्न भएको र बाँकी १९ प्रतिशत कामका लागि साढे सात अर्ब बजेटको आवश्यकता पर्ने भट्टराईले जानकारी दिए। लुम्बिनीको विकासमा प्रदेश भित्रका राजनीतिक दल तथा सरोकारवाला पक्षसँग छलफल गरेरै कोष अघि बढ्ने पनी उनले बताए। छलफल अघि कांग्रेस प्रदेश समितिको टोलीले मायादेबी मन्दिरसहित लुम्बिनी गुरुयोजनाका कामहरुको अवलोकन गरेको थियो।  

सो अवसरमा कांग्रेस प्रदेश समितिको टोलीले लुम्बिनी बौद्ध विश्वविद्यालयका पदाधीकारीसँग समेत भेट गरी विश्वविद्यालयको शैक्षिक अवस्था र विकासका बारेमा जानकारी लिएको छ। विश्वविद्यालयका उपकुलपति हृदयरत्न बज्राचार्य लगायत अधिकारीहरुसँगैको भेटमा कांग्रेस लुम्बिनीले विश्वविद्यालयको विकास र शैक्षिक अवस्थाको बारेमा छलफल गरेको हो।

कार्यक्रममा नेपाली काँग्रेस प्रदेश सभापति पुनसहित प्रदेशका पर्यटन राज्यमन्त्री रिना नेपाल, प्रदेश सांसद अष्टभुजा पाठक, नेपाली काँग्रेस प्रदेश उपसभापति भुवन श्रेष्ठ, सहमहामन्त्री विष्णुप्रसाद मुस्कान, प्रदेश सदस्य इ. कुशुमराज ज्ञवाली, प्रकाश राना, बिक्रमसिंह थापा, अर्घाखाँची सभापति केशव श्रेष्ठ, गुल्मी जिल्ला सदस्य हरिकुमार श्रेष्ठ, इन्जिनियरहरु शैलेन्द्र श्रेष्ठ, यमलाल पाण्डे लगायतले लुम्बिनीको विकासमा तीनै तहका सरकार गम्भिर हुनु पर्नेमा जोड दिए।

प्रकाशित: १० माघ २०७८ १५:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App