coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
राजनीति

एमालेले भन्योः कुनै पनि बहानामा स्थानीय निर्वाचन पर धकेल्न पाइँदैन

नेकपा एमालेले स्थानीय तहको निर्वाचन पर धकेल्न नपाइने बताएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आज विज्ञप्ति जारी गर्दै स्थानीय तहको निर्वाचन सम्बन्धमा कुनै पनि अलमल, धोखा र बहानाबाजी स्वीकार्य नहुने बताएका छन्।

निर्वाचन आयोगले आगामी वैशाख १४ र २२ मा स्थानीय तहको निर्वाचन गर्न सरकारलाई सुझाव दिए पनि सत्ता गठबन्धनबीच आगामी मंसिरमा संघ, प्रदेश र स्थानीय तहको निर्वाचन एकैपटक गर्नेबारे बहस हुँदै आएको छ। सत्ता गठबन्धनमा स्थानीय तहको निर्वाचन पछि सार्ने विषयमा बहस भइरहेको बेला एमाले अध्यक्ष ओलीले विज्ञप्तिमार्फत् पार्टीको आधिकारिक धारणा सार्वजनिक गरेका हुन्।

उनले विज्ञप्तिमार्फत् भनेका छन्, 'स्थानीय तहको निर्वाचनलाई विभिन्न बहानामा पर धकेल्न लागि परेका गठबन्धनका नेताहरूले प्रतिनिधिसभाको निर्वाचन २०७९ वैशाखमा गर्ने ‘कार्ड’ फ्याँकेका छन्। यो प्रस्ताव कुनै असल मनशायले होइन, स्थानीय तहको निर्वाचनलाई पर धकेल्ने र मुलुकमा राजनीतिक अन्यौल सिर्जना गर्ने गलत नियतका साथ अगाडि सारिएको हो भन्नेमा नेकपा (एमाले) स्पष्ट छ। हाम्रो पार्टी गत वर्षदेखि नै ताजा जनादेशको पक्षमा उभिएको हो र आज पनि हामी यो मान्यतामा अडिग छौं।'

एमाले जुनसुकै बेलामा पनि निर्वाचनको सामना गर्न तयार रहेको पनि अध्यक्ष ओलीले बताएका छन्। उनले भने, 'हामी जुनसुकै बेलामा निर्वाचन भए पनि सामना गर्न तयार छौं। साथै, हाम्रो स्पष्ट अडान छ, यस बहानामा स्थानीय तहको निर्वाचन पर धकेल्न पाइँदैन।'

यस्तै, एमालेले संविधानले स्थानीय तह रिक्तताको परिकल्पना नै नगरेको भन्दै निर्वाचन आयोगले सिफारिस गरे अनुसारकै मितिमा निर्वाचन गर्नुपर्नेमा जोड दिएको छ।

स्थानीय तहका जनप्रतिनिधिहरुको कार्यकाल आगामी जेठ ५ मा सकिंदै छ। स्थानीय तह जनप्रतिनिधिविहीन भए जनता सेवा सुविधाबाट बन्चित हुने भन्दै एमालेले कार्यकाल सकिनुभन्दा दुई महिना अगाडि नै निर्वाचन गर्नुपर्ने स्थानीय तह निर्वाचन ऐन २०७३ को व्यवस्थालाई स्मरणसमेत गराएको छ।

प्रकाशित: ९ माघ २०७८ ०७:१० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App