१६ चैत्र २०८० शुक्रबार
राजनीति

जसपा-जनमत मुठभेड उन्नमुख

माघ ५ गते मधेस प्रदेशको रौतहट जिल्लामा मधेस बलिदानी दिवस कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) नेतृ एवं भौतिक पूर्वाधार मन्त्री रेणुकुमारी यादव प्रमुख वक्ता थिइन्। कार्यक्रम सम्बोधन गर्न जाने क्रममा यादवलाई सिके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ताले फट्टासहित आक्रण गर्न खोज्दा सुरक्षाकर्मीले हस्तक्षेप गरी जोगाएको थियो।

यतिबेला मन्त्री यादवले सिके राउतलाई सचेत गराउँदै दिएको प्रतिक्रिया विवादित बनेको छ। उनले भनेकि छिन्,‘फट्टा भाँजेर डराउने प्रयास गर्नेले लट्ठी भाँज्न पोख्तको ताकतलाई नजर अन्दाज नगरोस्। यो रौतहटको गौर मधेस विद्रोहको किल्ला हो उनले भनेकि छिन्,‘यहाँको राइसमिल गौर नरसंहारको साक्षी छ।’ मन्त्री यादवले भनिन्,‘तुफानसँग टकराउन खोज्यौं भने राइस मिलमा जे भएको थियो त्यही हालत हुन्छ।’ 

मन्त्री यादवले पटक पटक राइस मिलको घटना दोहोर्‍याउने धम्की दिइन्। उनले सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्तालाई मधेशमा फट्टा प्रदर्शन नगर्न पटक पटक चेनावनी दिइन्। मन्त्री यादवले उल्लेख गरेको राइस मिलमा ०६३ चैत ७ गते तत्कालीन नेकपा (माओवादी) का २८ जना कार्यकर्ताको निर्ममतापूर्वक हत्या भएको थियो। २७ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा ज्यान गएको थियो।

मन्त्री यादवले सत्ताको दम्भमा किसानमाथि दमन गर्न खोजेको जनमत पार्टीका अध्यक्ष सिके राउतले जिकिर गरेका छन्। सत्ताको दम्भमा किसान आन्दोलनलाई दमन गर्ने नाममा नरसंहार मच्चाउन प्रपञ्च भैरहेको उनको भनाई छ। मन्त्री जस्तो व्यक्तिले हिंसा भडकाउने गरी अभिव्यक्ति दिएको प्रती मधेस प्रदेशसभाका सदस्यहरु समेत अपत्ति जनाएका छन्।

जनता समाजवादी पार्टी र जनमत पार्टी अहिले मधेसमा मुठभेडको स्थितिमा छन। जनता समाजवादी पार्टी मधेस प्रदेशको सरकारको नेतृत्व गरिरहेको छ। जनमत पार्टी भने सरकार र जसपाको विरोधमा उग्र प्रदर्शन जारी राखेका छन्। जनमत पार्टीले मधेसमा जसपालाई तारो बनाउँदै आफ्ना कार्याक्रमहरु अगाडि बढाइरहेको जसपा नेताहरुको भनाई छ। जसले मुठभेडको जोखिम बढाएको छ। मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ कार्यक्रमअन्तर्गत साइकल खरिदमा अनियमितता भएको उजुरी परेपछि असोज १३ गते अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा छापा मारेर कागजात नियन्त्रणमा लिए लगत्तै सिके राउत नेतृत्वको जनमत पार्टीले मुख्यमन्त्री लालबाबु राउतको विरोधमा जनकपुरधाममा उग्र प्रदर्शन सुरु गर्‍यो। अख्तियारको बर्दिवास कार्यालयम पुगेर समेत जनमतका कार्यकर्ताले प्रदर्शन गरेका थिए।

मूलधारको राजनीतिमा अवतरित भएपछि जनमत पार्टी सुषुप्त रूपमा बसेको थियो। जनमतका कार्यकर्ताले विभिन्न पालिकामा भएको भ्रष्टाचारको मुद्दा छिटफुट रूपमा उठाउँदै आएका थिए। तर अख्तियारले प्रदेश सरकारको मुख्यालयमा छापा मारेपछि जनमत पार्टी प्रदेशका विभिन्न जिल्लामा आफ्नो उपस्थिति दर्ज गराउन मधेस सरकार र जसपा विरुद्ध लागि परेको छ।

पछिल्लो समय मधेसमा सबैभन्दा पिरोलिएका किसान हुन्। मलखाद, बीउविजन, सिँचाइको समस्या र भ्रष्टाचारले मधेस आक्रान्त छ। सिके राउत मधेसका यी मूल मुद्दा समातेर राजनीतिक प्रभाव जमाउन खोज्दैछ। उनको प्रस्तुति सालिन हुनुपर्नेमा अराजक भएको देखिन्छ। मधेसका किसानका मुद्दा ओझेल परिरहेका बेला सिके राउत तिनलाई उचालेर भावनात्मक सम्बन्ध प्रगाढ बनाउन खोजेको मधेसका बुद्धिजीबीहरु बताउँछन्।

यस भन्दा पहिला जनमत भ्रष्टाचार विरोधी मुद्दा उचालेर मधेसमा आफ्नो उपस्थिति जनाउने प्रयत्नमा जुटेका जनमत पार्टी अहिले किसानका मुद्दा उचालेर राजनीतिक प्रभाव जमाउन खोज्दै छ। भ्रष्टाचार र किसानका मुद्दालाई प्राथमिकतामा राखेर राजनीतिमा आउने जोकसैले मधेसमा पकड बनाउन सक्ने अवस्थालाई सिके राउतले मूल मुद्दा बनाएका छन्।

भ्रष्टाचार र उदासीनताको पीडाले निस्सासिएका मधेसी जनता यसबाट पार पाउन सुशासनप्रति दृढ लिडरको खोजीमा छन। भ्रष्टाचार, अनियमितताप्रति कठोर र अनुदार चेहरातिरै मधेसी जनताको रुझान हुने देखिन्छ। बोलीमा सुशासन तर काममा अनियमितता गर्ने चेहरा बिस्तारै मधेसी जनताको सामु उदांगिसकेको छन। अब मधेसमा राजनीतिक फाइदा लिन कुनै पनि राजनीतिक दललाई सजिलो नहुने मधेस मामिलाका जानकार राजनिकान्त झा बताउँछन्।

सीके राउत नेतृत्वको जनमत पार्टीले बिहीबार साँझ प्रेस विज्ञप्ति जारी भनेको छ– नेपाल सरकारले अपराधिक अभिव्यक्ति दिने, हत्या हिंसा भड्काउन खोज्ने र अर्को नरसंहारको षडयन्त्र रच्ने मन्त्रीलाई अविलम्ब बर्खास्त गर्नुपर्छ।

मन्त्री यादवले गौर घटना जसपाले घटाएको स्वीकार गरेको भन्दै उक्त अभिव्यक्ति चरम आपराधिक रहेको र किसान आन्दोलन तथा आम जनताको विरुद्धमा रहेको जनमत पार्टीको निष्कर्ष रहेको पनि विज्ञप्तीमा भनिएको छ।

मन्त्री यादवले आफूले राउतलाई मारिदिने, वा गौर नरसंहार जस्तै नरसंहार मच्चाउने धम्की दिने कुनै शब्द नै प्रयोग नगरेको बताइन्। जनमतका कार्यकर्ताहरूले हाम्रा कार्यकर्ताका मोटरसाइकल तोडफोड गरेका थिए। हामीले आयोजना गरेको बलिदानी दिवसको कार्यक्रममा अवरोध गरेका थिए। मैले उनको वा उनका कार्यकर्ताको हत्या गर्ने भनेर कहीँ पनि भनेकै छैन उनले भनिन्,‘ हिंसात्मक राजनीति गर्न चाहँदैनौं भनेर आफूले भनेको हुँ।’

प्रकाशित: ७ माघ २०७८ ०४:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App