७ वैशाख २०८१ शुक्रबार
राजनीति

एमालेको युवा संघमा ९ वर्षमा ९ अध्यक्षः समानान्तर कमिटी गठन गर्ने तयारी

नवौं महाधिवेशन गर्ने तयारी रहेको एमालेको जनवर्गीय संगठन युवा संघभित्र समानान्तर कमिटी गठन गर्ने तयारी भएको छ। पुस २८ र २९ गते पोखरामा भएको सचिवालय बैठकबाट बनाइएको आयोजक कमिटीप्रति असन्तुष्ट रहेका युवा संघका उपाध्यक्षलगायतका पादधिकारीले समानान्तर कमिटी बनाउने तयारी गरेका हुन्।

युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी ढंगबाट आयोजक कमिटी बनाएका कारण सचिवालय गठनलगायतका विषयमा असन्तुष्ट रहेका नेताहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर निर्णय नसच्याए बस्नेतविरुद्ध समानान्तर आयोजक कमिटी बनाउने जानकारी गराइसकेका छन्।

उपाध्यक्षहरू अमित लामा, रोशन वस्नेत, उर्मिला सुनुवार, विष्णुप्रसाद घिमिरे(उज्वल), तिरण गौतम, रवीन थापा, कुमार हुमागाइँ, उपमहासचिव प्रकाश गौतम, राजन थापा, शिवचन्द्र सिंह, सुमित्रा बोगटी, बेगबहादुर पाण्डे, मिलन सिंह, राकेश लामालगायत तीन दर्जन नेताहरूले पोखरामा भएको बैठक बहिस्कार गरेर उनीहरूले पार्टी अध्यक्ष ओली, महासचिव शंकर पोखरेल, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा जन संगठन प्रमुख भानुभक्त ढकाललाई लिखित उजुरीसमेत दिइसकेका छन्।

‘पोखरामा भएको सचिवालय बैठकमा कोरम पुगेकै थिएन, त्यहाँ हामीले संगठनको विधि पद्धति र निर्णय प्रक्रियाबारे कुरा उठाएपपछि हामीलाई छलेर बैठक सकिएको र निर्णय भएको कुरा सुनाइयो जो बैठकबाट निर्णय भएको थिएन कुनै एउटा होटलमा बसेर दुई–तीन जनाले निर्णय गरेका थिए,’ उपाध्यक्ष रोशन बस्नेतले भने। सो असन्तुष्टिपछि युवा संघका नेताहरूले युवा संघका इन्चार्ज महेश बस्नेतले एकलौटी गरेको आरोप लगाउदै पार्टीका नेताहरूलाई ध्यानकर्षण गराएका थिए।

उनीहरूले शनिबार साँझ, संगठन विभाग प्रमुख खगराज अधिकारी, मोर्चा संगठन प्रमुख भानुभक्त ढकाललाई ध्यानाकर्षणपत्र बुझाएका थिए भने आइतबार महासचिव शंकर पोखरेल र पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर सबै कुरा अवगत गराएका थिए। ‘हामीले अध्यक्षज्यूलाई भेटेर सबै कुरा भन्यौ इन्चार्ज कमरेडले पार्टी अध्यक्षलाई पनि गुमराहमा राखेको देखियो,’ उपाध्यक्ष रोशन बस्नेतले भने।

फागुन ११ गते महाधिवेशन गर्ने सर्वसम्मत निर्णय गरेर आयोजक कमिटी बनाउने बेलामा युवा संघभित्र पोलिटब्युरो सदस्य महेश बस्नेत हावी भएपछि विवाद उत्पन्न भएको थियो। संघमा विवाद उत्पन्न भएपछि धेरैजसो नेताहरूले केन्द्रीय कमिटी बैठक नै बहिष्कार गरेर निस्केका थिए।

पोखरामा बैठकमा महेश बस्नेतले आफ्नो खल्तीबाट नाम झिकेर पढ्न थालेपछि विवाद भएको थियो। ‘बैठकमा छलफल भएर आउने विषय इन्चार्जको खल्तीबाट आएपछि विवाद भएको हो उहाँले युवा संघलाई आफ्नो खल्तीको संघठन बनाउन खोज्नुभयो, एउटा निजी कम्पनीमा त अडिट गर्नुपर्छ, अडिट मिलेन भने कम्पनी नवीकरण हुँदैन यो त जनातको हितका लागि, पार्टीको हितको लागि बनेको विशाल संगठन हो यसमा कोही एक व्यक्ति हावी हुन सक्दैन,’ उपाध्यक्ष रोशन बस्नेतले भने।

उनीहरूले पार्टी अध्यक्षलाई बुझाएको उजुरीमा पनि बस्नेत हावी भएको उल्लेख गरेका छन्। ‘संगठनमा फरक मत, फरक विचार राख्ने व्यक्तिहरूलाई पूर्णत निषेध गर्दै संगठत व्यक्ति केन्द्रित समूहमा रूपान्तरित हुने स्पष्ट छ।

पार्टीको मूल विचार माक्र्सवाद, लेलिनवाद, जनताको बहुदलीय जनवाद, लेलिनवादी संगठनात्मक सिद्धान्त र लोकतान्त्रिक विधि, पद्धतिविपरीत संघको संगठनात्मक जीवनमा व्यक्तिवाद हाबी हुँदै गएको हामीले महसुस गरेका छौं,’ सो पत्रमा भनिएको छ, ‘तसर्थ संघको विद्यमान पूर्ण सचिवालय कमिटीलाई नै महाधिवेशन आयोजक कमिटीमा रूपान्तरण गर्न पार्टीबाट स्पष्ट निर्देशन गरियोस् भनी कमरेडसमक्ष यो ध्यानाकर्षणपत्र दर्ज गराएका छौं।

समयमै गलत निर्णय नसच्याए, हामी संघलाई विधि, पद्धति र प्रक्रिया अनुरूप अगाडि बढाउन थप पाइला चाल्न बाध्य हुने विषयसमेत अवगत गराउदछौं।’

पोखरामा युवा संघको बैठकमा विवाद भएपछि पार्टी महासचिव शंकर पोखरेलले काठमाडौंबाट फोन गरेर सबैलाई मिलाएर बैठक सञ्चालन गर्न इन्चार्ज बस्नेतलाई निर्देशन दिएका थिए। तर सो  निर्देशनलाई समेत महेश बस्नेतले बेवास्ता गर्दै महाधिवेशन आयोजक कमिटीको संयोजकमा किरण पौडेल, सहसंयोजक सञ्जीव झा, क्रान्ति बुर्लाकोटी कार्यालय सदस्यमा कृष्णहरि केसीलगायतन्को नाम घोषण गरेर आएपछि असन्तुष्ट रहेका युवा संघका नेताहरूले महासचिव पोखरेललगायतका नेताहरूलाई भेटेर असन्तुष्टि व्यक्त गरेका छन्।

‘यस्तै हो भने युवा संघमा विद्रोह हुन्छ र समानान्तर कमिटी बन्नसक्छ,’ असन्तुष्टमध्येका एक उपध्यक्षले भने। उनीहरूले महेश बस्नेतको एकाधिकारवादबारे जानकारी गराएका छन्। साथै उनीहरूले महेश बस्नेतकै कारण संगठन वैचारिकरूपमा धरापमा परेको समेत बताएका थिए।

‘हामीले पुस ३० गते बिहान भइरहेका गतिविधि र कोठे बैठकले संगठन घोषित निर्णयमा पुग्ने कुनै संकेत देखेनौं तथापि संघका इन्चार्ज र अध्यक्षलाई उक्त विषयवस्तु र विद्यमान सचिवालय कमिटीलाई नै स्वतः आयोजक कमिटीमा रूपान्तरण गर्नुपर्ने, त्यसमा एकता प्रक्रियाबाट आएका कमरेडहरूलाई थप्नुपर्ने विषयवस्तु हामीले प्रष्ट रूपमा राख्यौं, उक्त विषयमा कमरेड इन्चार्ज र अध्यक्षले कुनै चासो देखाउनु भएन,’ सो ध्यानकर्षणपत्रमा उल्लेख छ।

साथै, उनीहरूले २ दिनलाई तोकिएको उक्त बैठक तेस्रो दिन सञ्चालन नहुने संकेत देखिएपछि, विधि प्रक्रिया र निणर्यविपरीत जिम्मेवार व्यक्तिहरूको खल्तीबाट पूर्वाग्रही सोचका साथ नामवली घोषणा हुने संकेत देखिएपछि आफूले बैठक बहिस्कार गरेको उल्लेख गरेका छन्।

बैठकमा उपस्थित संघका सम्पूर्ण सचिवालय सदस्य कमरेडहरू छिन्नभिन्न भएर आफनो गन्तव्यतर्फ लागिसकेपछि ३० गते साँझ इन्चार्ज महेश बस्नेतको फेसबुक लाइभबाट आयोजक कमिटी घोषणा गर्दै गरेको एउटा अपूर्ण भिडियो हामीले देखाइएको उनीहरूको आरोप छ।

‘त्यसमा इन्चार्जले हप्ता–दस दिनअगाडि अमुक व्यक्तिहरूले तयार पारेको आयोजक कमिटीको नामवली, व्यक्तिगत सम्बन्धका आधारमा मनोमानी ढंगले संयोजक, सहसंयोजक, विभागीय प्रमुखहरू, प्रदेश इन्चार्ज, संयोजक, सहसंयोजक र जिल्ला इन्चार्ज र अध्यक्षहरू तोक्दै सानो महाधिवेशनको झल्को दिनेगरी, आगामी फागुन ११ गते हुने ऐतिहासिक ९औं महाधिवेशनअगावै उक्त महाधिवेशनलाई एकतर्फी प्रभावित पार्न खोजेको कुरा स्पष्ट देखियो।

लामो समय संघमा योगदान दिँदै आएका पदाधिकारी र सचिवालय सदस्य कमरेडहरूलाई हटाउएर गठन गरिएको यो महाधिवेशन आयोजक कमिटी संघको विधि, प्रक्रिया, निर्णय र मर्म–भावनाविपरीत सांगठनिक अराजकता र व्यक्तिगत स्वच्छाचारिताको उपज भएमो विषय जानकारी गराउन चाहान्छौं,’ ओलीलाई बुझाउन तयार पारिएको ध्यानकर्षणपत्रमा उल्लेख छ।

बस्नेतले नेतृत्व गरेदेखि नै भद्रगोल

युवा संघभित्र महेश बस्नेतले नेतृत्व गरेदेखि नै भद्रगोल भएको छ। विगत ९ वर्षदेखि महाधिवेशन हुन सकेको छैन। ९ वर्षमा ८ जना नेताहरूलाई टिका लगाउँदै अध्यक्ष बनाइएको थियो। अब फागुनमा महाधिवेशन भएमा ९ वर्षमा ९ जना नै अध्यक्ष हुनेछन्। २०६९ साल फागुन १८ गते भएको आठौं महाधिवेशनमा दोस्रोपटक अध्यक्ष भएका बस्नेतले आफूपछि निरु पाललाई अध्यक्ष बनाएका थिए।

त्यसैगरी निरु पालपछि राजीव पहारी, रमेश पौडेल, एमाले–माओवादी एकतापछि रामप्रसाद सापकोटा(दीपशीखा) एकीकरण भंग भएपछि पुनः रमेश पौडेल, त्यसपछि बचनसिंह अध्यक्ष भएका थिए। सिंहले राजीनामा दिएपछि किरण पौडेललाई अध्यक्ष बनाएको छ। पौडेल केन्द्रीय सदस्यमा मनोनयन भएपछि ९ औँ महाधिवेशन गरेर नेतृत्व जिम्मा लगाउनु पर्नेछ।

महाधिवेशन सहज ढंगले नहुने अवस्था आएको युवा संघका नेताहरूले बताएका छन्। महेश बस्नेत धेरै अगाडिदेखि हावी भएपछि त्यसको विरोधमा रमेश पौडेलले आवाज उठाउँदा उनलाई संगठनबाटै बाहिर राखरे खेलकुद महासंघ जिम्मा लगाइएको छ।

एकता प्रक्रिया भंग भएपछि बस्नेतले पौडेललाई हटाएर अरूलाई नै अध्यक्ष बनाउन खोज्दा लफडा भएको थियो। तर पार्टी अध्यक्ष ओलीले नै पौडेललाई युवा संघको अध्यक्षको जिम्मेवारी दिएपछि बस्नेत भने केही समय बाहिरिएका थिए। किरण पौडेल भने महेश बस्नेत उद्योग मन्त्री हुँदा स्वकीय सचिव भएका थिए।

महेश बस्नेतले किरण पौडेललाई अघि सारेपछि संघभित्र रमेश पौडेल समूहले विद्रोह गर्ने चेतावनी दिदा बस्नेत आफैं बाहिरिएका थिए। ‘उनी जुन प्रक्रियाबाट युवा संघमा आएका हुन त्यही प्रक्रिया अहिले लागु छैन, युवा संघ भनेको उमेरहद तोकिएको संगठन हो तर यहाँ महेश बस्नेत दाहिना हुँदासम्म कोही कसैलाई उमेरको मतलव छैन,’ असन्तुष्टमध्येका एक नेताले भने।

२०६९ सालमा इन्द्रलाल सापकोटा अध्यक्षमा चुनाव लड्दा ३९ वर्ष ११ महिना ३० दिन भए मात्रै युवा संघमा रहने उमेर हद तोकिएको थियो। तर पछि ४० वर्ष ११ महिना ३० दिनलाई उमेद हद मानिएको थियो।

निरु पाल अध्यक्ष हुने बेलामा त त्यो सबै तोडिएको पनि ती नेताले बताएका छन्। ‘जनवर्गाीय संगठनमध्ये पार्टीलाई सबैभन्दा बढी समस्या खडा गर्ने संगठन नै युवा संघ भएको छ,’ एमालेका एक नेताले भने, ‘पार्टी अध्यक्ष ओलीले पनि बेलाबेलामा नियन्त्रण गर्न सक्ने अवस्थामा छैन यसलाई राजनीतिक सैद्धान्तिक बाटोमा हिँडाइएन भने भोलिको दिनमा ठूलो क्षति हुनसक्छ।’

प्रकाशित: ४ माघ २०७८ ००:३६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App