coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

आगामी मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्छः स्वास्थ्य मन्त्री

समाजवादी प्रेस संगठन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री विरोध खतिवडा। तस्बिरः विनोद/नागरिक

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले निर्वाचन आयोगले दिएको माघ पहिलो साताको समय सीमाभित्रै रहेर सरकारले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने बताएका छन्। समाजवादी प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री खतिवडाले निर्वाचन आयोगले गरेको अनुरोध अनुसार माघ पहिलो साता भित्रै सरकारले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्ने जानकारी दिए।

खतिवडाले भने, ‘निर्वाचन आयोगले माघ पहिलो साता भित्र निर्णय गर्न भनेकाले आगामी मन्त्रिपरिषद्को बैठकले स्थानीय तहको निर्वाचनबारे निर्णय गर्छ।’ देशभर कोरोनाविरुद्धको निःशुल्क खोप अभियान सञ्चालन भइरहे पनि खोप लगाउन पर्याप्त मानिस नआएका कारण मन्त्रालयको उच्च स्तरीय टोली देश दौडाहामा लागेको मन्त्री खतिवडाले बताए। उनले सबै प्रदेशमा खोपको अवस्था र आवश्यक सहजीकरणका लागि कार्ययोजना बनाउन मन्त्रालयबाट मन्त्री, राज्य मन्त्री र सचिवको टोली सबै प्रदेशको भ्रमणमा रहेको मन्त्री खतिवडाले जानकारी दिए। उनले नियमित खोप र बुस्टर डोजका लागि समेत पर्याप्त खोप मौज्दात रहेको दाबी गरे।

खोप अभाव नरहे पनि पछिल्लो समय खोप लगाउन आउनेको संख्या न्यून भएकोले सरकारले गाउँटोलमै पुगेर खोप सेवा सञ्चालन गर्ने तयारी गरिरहेको खतिवडाले जानकारी दिए। उनले कम मात्रामा खोप लगाएका जिल्ला र स्थानीय तहहरू पहिचान गरेर कार्ययोजना नै बनाएर खोप अभियान चलाइने स्पष्ट पारे। मन्त्री खतिवडाले नियमित खोप लगाउने खोप केन्द्र बाहेक सार्वजनिक स्थलमा खोप डेस्क स्थापना गरेर नागरिकलाई पहिलो र दोस्रो मात्रा खोप लगाउने तयारी गरिएको जानकारी दिए। उनले भने, ‘जहाँ थोरै मात्रामा खोप लगाइएको छ त्यहाँ खोपकेन्द्र नै स्थापना गरेर सबैलाई सहजरुपमा खोप उपलब्ध गराउने तयारी भइरहेको छ।’

प्रदेश १ मा अहिले पनि २ लाख डोजभन्दा बढी खोप मौज्दात रहेको जानकारी दिँदै मन्त्री खतिवडाले थप खोप आवश्यक परेमा तत्काल उपलब्ध गराउने बताए। १८ वर्षभन्दा कम उमेरका बालबालिकाहरुका लागि आवश्यक खोप सरकारसँग मौज्दात भएपनि त्यसमा लाग्ने सिरिञ्ज विश्वभर अभाव भएकोले केही ढिलाइ भएको मन्त्री खतिवडाले बताए। पछिल्लो समय घोलनको आपूर्ति हुन थालेको र सिरिञ्ज पनि केही दिनमा आइपुगेपछि एकैपटक सबैतिर १२ देखि १८ वर्ष उमेर समूहका बालबालिकालाई खोप दिइने उनको भनाइ छ। उनले भने, ‘घोलन र सिरिञ्ज एकैपटक आउनुपर्नेमा विश्वभर सिरिञ्जको अभावका कारण सिरिञ्ज आपूर्तिमा ढिलाई भएकाले १२ देखि १८ वर्ष उमेर समूहलाई लगाउने खोप प्रभावित भएको हो’, उनले भने, ‘सिरिञ्ज आपूर्ति पनि सहज हुन थालेकाले चाँडै सबैलाई खोप उपलब्ध गराउँछौं।’

दुई मात्रा खोप लगाएको ६ महिना पूरा भएकाहरुले बुस्टर डोज लिन सक्ने मन्त्री खतिवडाले बताए। पहिले लगाएकै खोपको थप मात्रा लगाउनु पर्ने भएकोले यसै अभियानमा नागरिकहरुले बुस्टर खोप लगाउन सक्ने छन्। अहिले फ्रन्टलाइनर, दीर्घरोगी, जेष्ठ नागरिकलाई बुस्टर डोज दिने योजना रहेको भन्दै सोही अनुसार बुस्टर डोज पनि उपलब्ध गराउन स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिइसकेको मन्त्री खतिवडाले जानकारी दिए। नेपालको जनसंख्याको ४० प्रतिशत जनताले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझसम्ममा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या १ करोड ५ लाख कटिसकेको छ। १८ वर्षमाथिका ८० प्रतिशतले पहिलो मात्रा र ६० प्रतिशतले दुवै मात्रा खोप लगाइसकेका छन्। २ करोड डोजभन्दा बढी थप खोप नेपाल ल्याउने सुनिश्चित भइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्रले जानकारी दिइन्।

प्रकाशित: ३ माघ २०७८ १३:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App