८ वैशाख २०८१ शनिबार
राजनीति

सरकार पूर्ण लकडाउनको पक्षमा छैनः मन्त्री खतिवडा

मुख्यमन्त्री कार्यालयमा आयोजित छलफलमा सहभागीहरू। तस्बिरः विनोद/नागरिक

स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडाले सरकार पूर्ण लकडाउन गर्ने पक्षमा नरहेको बताएका छन्। आइतबार प्रदेश १ को सरकारले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय विराटनगरमा आयोजना गरेको छलफलमा मन्त्री खतिवडाले सरकार पूर्ण लकडाउनको पक्षमा नरहेको बताएका हुन्।

उनले पूर्ण लकडाउनले केही मानिस जोगाउन सकिए पनि धेरै मानिस आर्थिक र मानसिक समस्यामा पर्ने र दीर्घकालसम्म असर देखिने भएकाले सरकारले आंशिक लकडाउन गर्ने स्पष्ट पारे। मन्त्री खतिवडाले कोरोना महामारी नियन्त्रण गर्दै विद्यालय बाहेकका सबै क्षेत्र आंशिक रुपमा स्वास्थ्य मापदण्ड अपनाएर खुल्ला राखिने जानकारी दिए। ‘सरकार पूर्ण लकडाउनको पक्षमा छैन’, उनले भने, ‘विद्यालय बाहेकका सबै क्षेत्र आंशिक रुपमा चलायमान बनाउने जसका लागि स्वास्थ सुरक्षाका मापदण्ड अपाउन कडाइ गरिनेछ।’

खतिवडाले विवाह, भोजलगायतका सामाजिक कार्यक्रममा पनि २५ जनाका दरले पालैपालो भोज खुवाउने व्यवस्था गर्न आग्रह गरे। उनले भने, ‘बरु दिनभर भोज खुवाइरहनुस्, तर, एक पटकमा २५ जनाभन्दा बढीलाई भोजमा सहभागी नगराउनुस्।’ मन्त्री खतिवडाले सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन प्रदेश सरकार र स्थानीय सरकारलाई निर्देशन दिए। उनले कार्ययोजना बनाएर खोपको अभियान प्रदेशभर सुरू गर्न आग्रह गरे।

कार्यक्रमा प्रदेश १ का सामाजिक विकास मन्त्री जयराम यादवले मधेसी र मुस्लीम समुदायले खोप लगाउन ध्यान नदिएको बताए। उनले अन्य समुदाय खोपप्रति सचेत देखिएको भए पनि मधेसी र मुस्लिम समुदायले खोपमा रुचि नदेखाउँदा सबै नागरिकलाई खोप लगाउने अभियानमा समस्या देखिएको बताए। यादवले लामो लाइन नबसी सहजरुपमा खोपलगाउने व्यवस्था प्रदेशभर मिलाउनु आवश्यक रहेको धारणा राखे। प्रदेश १ का मुख्यसचिव रामप्रसाद घिमिरेले कोरोनाको तेस्रो लहरमा स्थानीय तह उदासिन हुन थालेको बताए। उनले भने, ‘पहिलो र दोस्रो लहरको कोरोना नियन्त्रणमा स्थानीय तहले जुन सक्रिएता देखाएका थिए तेस्रो लहरको कोरोना नियन्त्रणका लागि उनीहरू उदासिन बनेका छन्।

विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले स्थानीय तहको अधिकाँश बजेट कोरोना नियन्त्रणमा खर्च भइरहेका कारण बजेट व्यवस्थापनमा समस्या देखिएको बताए। उनले स्थानीय तहलाई कोरोना नियन्त्रणका लागि आवश्यक बजेट व्यवस्थापन गरिदिन संघीय सरकार र प्रदेश सरकारलाई आग्रह गरे। उनले विराटनगर महानगरपालिकाले कोरोना अस्पताल बनाउन, आइसोलेसन, होल्डिङ सेन्टर निर्माण, कोरोनाका विरामीलाई अक्सिजन, एम्बुलेन्सको व्यवस्था लगायतका थुप्रै कामहरू गरेको बताए। स्वास्थ्य मन्त्रालयकी प्रवक्ता डा संगिता मिश्रले सीमा व्यवस्थापन, होल्डिङ सेन्टर सञ्चालन, खोप अभियान प्रभावकारी बनाउन जरुरी रहेको बताइन्।

उनले भनिन्, ‘प्रदेश १ मा खोप लगाउनेको संख्या सन्तोषजनक नरहेकाले खोप लगाउनेको संख्या बढाउन जरुरी छ।’ कार्यक्रममा प्रदेश जनस्वास्थय निर्देशक ज्ञानबहादुर बस्नेतले कोरोना महामारीले प्रदेश १ मा पारेको प्रभाव, नियन्त्रणका प्रयास, स्रोत साधनको उपलब्धता, जनशक्तिको व्यवस्थापन लगायतका विभिन्न पाटोका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए।

कार्यपत्र प्रस्तुत गर्दै बस्नेतले प्रदेश १ मा तीन महिनालाई पुग्ने खोप, औषधिलगायत मौजात रहेको जानकारी दिए।

प्रकाशित: २ माघ २०७८ १३:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App