coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्थानीय निर्वाचनमा जुट्न कांग्रेस सह–महामन्त्री राठौंरको कार्यकर्तालाई निर्देशन

नेपालगन्जमा बुधबार कार्यकर्तालाई सम्बोधन गर्दै कांग्रेस सहमहामन्त्री किशोरसिंह राठौंर। तस्बिरः अर्जुन/नागरिक

नेपाली कांग्रेसका केन्द्रीय  सह–महामन्त्री किशोरसिंह राठौंरले स्थानीय तह निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई निर्देशन दिएका छन्। कांग्रेस बाँके क्षेत्र नम्बर २ ले नेपालगन्जमा बुधबार गरेको स्वागत, सम्मान, बधाई तथा शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले स्थानीय तहको निर्वाचन नजिक आइसकेकाले अहिलेदेखि नै त्यसको तयारीमा जुट्नुपर्ने बताए।  

‘स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई जिताउन सकेनौं भने हामी निर्वाचित भएको केही अर्थ छैन,’ उनले भने, ‘संगठन बनाउने अभियानमा तपाईले मलाई साथ दिने कि नदिने?’ स्थानीय निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा जोडिन आफू प्रत्येक वडामा खटिन तयार रहेको पनि सह–महामन्त्री राठौंरले स्पष्ट पारे। ‘तपाईले मलाई बोलाउनु हुन्छ भने म वडा–वडामा आउन तयार छु, तर मैले कति भ्याउँछु, कांग्रेसलाई वडामा जिताउने अभियानमा तपाईहरु लाग्नुस्,’ उनले थपे।  

वडादेखि केन्द्रसम्म कांग्रेसमय भएको आफूले देख्न चाहेको प्रतिनिधि सभाका सांसद समेत रहेका नेता राठौंरले जोड दिए। स्थानीय तहको निर्वाचनमा मेयर र उपमेयरको टिकट दाबी गर्ने नेताले आफ्नो वडामा जिताउन सक्नुपर्ने उनको भनाई छ।  

पार्टीमा इमान्दारीपूर्वक लागेका सबैलाई न्याय हुने बताउँदै नेता राठौंरले भने, ‘जो साथीले अवसर पाउनु भएको छैन, ती साथीले अवसर पाउनु हुनेछ, अवसरको कमी छैन।’ पार्टीको कार्यसमितिमा बस्ने तर बैठकमा नआउने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। चित्त नबुझेको कुरा कार्यकर्ताले नेतालाई अगाडि आएर भन्न सक्नुपर्ने बताउँदै नेता राठौंरले भने, ‘मैले बोलेको कुरा गलत छ भने भन्नुस्, त्यसलाई म समिक्षा गरेर जान तयार छु, मैले गरेको काम गलत छ भने भन्नुस्, त्यसलाई म सुधार गरेर जान तयार छु, तर तपाईहरु सुध्रिने कि नसुध्रिने?’  

यस्तै केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीले कांग्रेसकै नेतृत्वमा अहिलेसम्म धेरै विकास निर्माण भएको बताए। तत्कालीन प्रधानमन्त्री सुशिल कोइरालाका कारण बाँके जिल्लाले मुहार फेरेको र एडिबीको अर्बौ बजेट जिल्लामा भित्रिएको जिकिर गरे। भेरी अस्पताललाई कलेजका रुपमा विकास गर्न कांग्रेसले नै अगाडि बढाएको बताए।  

अर्का केन्द्रीय सदस्य जुबेदा खातुनले आगामी तीनै तहको निर्वाचनमा कांगे्रसलाई जिताउन सबै अग्रसर हुनुपर्ने बताइन्। ‘नेपाली कांग्रेसले अहिले ठूलो अवसर पाएको छ, यो अवसरलाई कांग्रेसले गुमाउनु हुँदैन,’ उनले भनिन्, ‘यो अवसरलाई कांग्रेसले शक्तिमा बदल्नुपर्छ, शक्ति भनेको नै हामीबीचको एकता हो।’  

क्षेत्रीय सभापति रमेश गुप्ताको सभापतित्वमा सम्पन्न कार्यक्रममा कांग्रेस बाँकेका पूर्वसभापति एवम् पूर्वमन्त्री गजेन्द्र हमाल, पूर्वसभापति एवम् राष्ट्रिय सभा सदस्यका उम्मेदवार युवराज शर्मा, संविधान सभा सदस्यद्धय बादशाह कुर्मी र आशा बि.क लगायतले पनि आसन्न निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाउन कसैले रोक्न नसक्ने धारणा राखे।

प्रकाशित: २८ पुस २०७८ १२:२९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App