८ वैशाख २०८१ शनिबार
राजनीति

एमालेका कारण एमसिसी रोकिएको छैनः नेम्बाङ

नेकपा (एमाले) उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले एमालेका कारण मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसिसी) संसद्मा नअड्किएको बताएका छन्। सत्तारुढ दलले एमालेको अवरोधकैबीच अरू विधेयक चाहिँ पारित गरिरहेकाले एमसिसी एमालेका कारण नअल्झिको बताए।

‘एमाले संसद्को वेल (संसद् बैठक हलमा सभामुख र अन्य सदस्य बस्ने कुर्सीको बीचको खाली भाग) मा रहेकै बेला बजेट त पास भयो, एमसिसी पास गर्न चाहिँ उहाँहरूलाई केले रोकेको छ र?’ गृहजिल्ला इलाम आएका नेम्बाङले एमालेले आयोजना गरेको पत्रकार सम्मेलनमा भने, ‘कुनै पनि लगानीमा आयको स्रोत नदेखाउँदा पनि हुने, आतंकको पैसा लगानी गर्दा हुने कानून उहाँहरूले पास गर्नुभएको छ।’

एमसिसी आफूूहरूसँग सम्बन्धित नभएको उपाध्यक्ष नेम्बाङको भनाइ छ। ‘एमालेले चाहिँ समय आएपछि एमसिसीबारे आफ्नो धारणा राख्नेछ,’ उनले भने, ‘तर, सभामुखले अरू त धमाधम प्रस्ताव राख्न लगाउँदै पास गर्दै हुनुहुन्छ, एमसिसीमा चाहिँ के जोखाना मिलेन भन्ने थाहा भएन।’

नेपाली काङ्ग्रेस र माओवादी नै सरकारमा भएका बेला एमसिसी सम्झौता भएको र अहिले पनि तिनै दलको सरकार रहेकाले एमसिसीबारे उनीहरूले नै पहिला आफ्नो धारणा बनाउनुपर्ने नेम्बाङको तर्क छ।

नेम्बाङले देशका कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका तीनै अंग अहिले कामविहीनझैं भएको बताए। ‘सरकाले संसद्लाई बिजनेस दिँदैन, संसद् अवरोध खुलाउन सरकार नै क्रियाशील छैन,’ उनले भने, ‘सर्वाेच्च अदालत आफैं विवादमा छ।’ उनले यस्तो बेलामा नयाँ जनादेश नै उत्तम विकल्प भएको भन्दै उनले एमाले निर्वाचनको पक्षमा रहेको जनाए।

त्यसअघि एमाले इलाम जिल्ला कमिटीका शपथग्रहण समारोहमा सहभागी नेम्बाङले दसौं तिकडम गरेर एमाले सरकारमा नजाने बताए। ‘अहिलेको सत्तारुढ गठबन्धन नै दूषित छ,’ उनले भने, ‘जनताले अहिलेको गठबन्धननलाई सरकार चलाउने जिम्मा दिएका थिएनन्। तर, एमालेलाई चाहिँ अहिले दसौं तिकडम गरेर सरकारमा बस्ने रहर छैन।’

प्रकाशित: २६ पुस २०७८ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App