८ वैशाख २०८१ शनिबार
राजनीति

लुम्बिनीका १० जिल्लामा एमालेको नयाँ नेतृत्व, ७ वटामा सर्वसम्मत, ३ वटामा निर्वाचन

एमालेको जिल्ला अधिवेशनअन्तर्गत लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये सात वटामा सर्वसम्मत नेतृत्व चयन भएको छ। तीनवटा जिल्लामा निर्वाचनबाट नेतृत्व छनौट भएको छ। दुईवटा जिल्लाको अधिवेशन रोकिएको छ। सर्वसम्मत भएका भनिएका केही जिल्लामा विवादसमेत देखिएको छ।

एमालेको जिल्ला अधिवेशनबाट रुपन्देहीमा तेजेन्द्र केसीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएको छ। अध्यक्षमा उम्मेदवारी दर्ता गराएका पुरुषोत्तम  घिमिरेले उम्मेदवारी फिर्ता लिएपछि केसी निर्विरोध भएका हुन्। केसी  यसअघि रुपन्देहीको क्षेत्र न २ का क्षेत्रीय संयोजक थिए। उपाध्यक्षमा  जागेश्वरी चौधरी, सचिवमा यज्ञ गैह्रे र उपमहासचिवमा चित्रबहादुर कार्की र हितराज पन्थी सर्वसम्मत भएका छन्।

पाल्पामा पनि धनेन्द्रराज घिमिरेको नेतृत्वमा १०५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत चयन भएको छ। निर्वतमान उपाध्यक्ष मोहन थापाले पनि अध्यक्षमा दाबेदारी गरेका थिए। तर सहमति गर्न दबाब  परेपछि  उनले आफू राजनीतिबाटै अलग रहेको घोषणा गरेका छन्। त्यस्तै उपाध्यक्षमा देवीलाल लामिछाने, सचिवमा रामजी पोखरेल सर्वसम्मत चयन भएका छन्। उपसचिवद्वयमा सुनिता शर्मा र टिका थापा सर्वसम्मत रुपमा चयन भएका छन्।

गुल्मीको अध्यक्षमा बालसिंह काउछा निर्विरोध निर्वाचित भएका छन्। उपाध्यक्षमा कृष्ण सुनार, सचिवमा गणेश श्रीपाली, उपसचिवमा सावित्रा आर्चाय र धर्म विश्वकर्मा निर्विरोध निवाचित भएका हुन्। अर्घाखाँची एमालेमा पिताम्बर भुसालको अध्यक्षतामा ९० सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रुपमा चयन भएको छ। उपाध्यक्षमा  ईस्वरा पोखरेल,  सचिवमा  तोजबहादुर रायमाझी , उपसचिवमा  शम्भु पोखरेल र भिम केसी  सर्वसम्मत चयन भएको निर्वाचन समितिले जनाएको छ।

अर्घाखाँचीमा सर्वसम्मत नेतृत्व चयन गरिए पनि असन्तुष्ट पक्षले केन्द्रको निर्देशनमा जबरजस्ती उम्मेदवारी फिर्ता लिन लगाइएको र एक पक्षीय रुपमा छनौट गरीएको नेतृत्वलाई सर्वसम्मतिको नाम दिएको आरोप लगाएका छन्।

राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय सचिव गोबिन्दप्रसाद भुसालले पार्टी नै परित्याग गरेको घोषणा गरेका छन्। जिल्लामा पार्टीभित्र चरम गुटबन्दी, नातावाद, कृपावाद र अवसरवाद लादिएको भन्दै साधारण सदस्यसमेत नरहने गरी एमाले परित्याग गरेको सचिव भुसालले घोषणा गरेका हुन्।

एमाले दाङको अध्यक्षमा हुकुमबहादुर बस्नेत निर्वाचित भएका छन्। उपाध्यक्षमा राममणि पाण्डे, सचिवमा मनोहर बुढाथोकी, उपसचिवमा कृष्ण भुसाल र हीरादेवी पुन सहितको १२१ सदस्यीय नयाँ कर्यासमिति सर्बसम्मत भए। कपिलवस्तु र पश्चिम नवलपरासीमा निर्वाचनमार्फत्  नेतृत्व चयन भएको हो।

बाँकेको जिल्ला अध्यक्षमा किस्मत कुमार कक्षमती सर्वसम्मत रुपमा चयन भएका छन्। बर्दिया अध्यक्षमा लालबहादुर श्रेष्ठ, उपाध्यक्षमा शालिकराम अधिकारी, सचिवमा पदम ढकाल र उपसचिवमा पहारी  थारु, टीका   सम्सेली निविरोध निर्वाचित भए।

नवलपरासी, कपिलबस्तु र प्युठानमा भने सहमति नजुटेपछि निर्वाचनमार्फत नयाँ  नेतृत्व चयन भएको छ। कपिलवस्तुको अध्यक्षमा डम्बर शर्मा विजयी भएका छन्। शर्माले २३८ मत सहित अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिद्वन्द्वी बाबुराम खनालले १८६ मत पाएका थिए।

उपसचिवमा अर्जुन केसीले १३१ मतसहित विजयी भए। एमाले पश्चिम नवलपरासीको अध्यक्षमा दिपेन्द्र कार्की  २३२ मत सहित निर्वाचित भएका छन्।

उपाध्यक्षमा डोलराज  भण्डारी, सचिवमा धिरज शर्मा बस्याल र उपसचिवमा रिंगलाल यादव र राजनकुमार आचार्य निर्वाचित भएका छन्। एमाले प्युठानमा भएको निर्वाचनबाट अध्यक्षमा विजयविराज बिष्ट बिजयी भएका छन्। सोमबार सम्पन्न मतपरिणाम अनुरुप उनले ३१४ मतसहित विजयी भएका हुन्। उनका निकटतम प्रतिस्पर्धी नेहरसिंह केसीले १७६ मत मात्रै ल्याए। उपाध्यक्षमा झगबहादुर विश्वकर्मा, सचिवमा माधव शर्मा र उपसचिवमा श्रीधर रोक्का र दीपा घर्ती विजयी भएको निर्वाचन समितिले जनाएको छ।

अधिवेशन हुन बाँकी प्रदेशका दुई जिल्लामध्ये रोल्पामा एमाले जिल्ला सचिवको निधन भएकाले तत्कालका लागि अधिवेशन स्थगित गरिएको छ। रुकुम पूर्व हिमाली जिल्लामा पर्ने भएकाले पछि अधिवेशन गर्ने तालिका छ।

प्रकाशित: २६ पुस २०७८ ११:५१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App