४ वैशाख २०८१ मंगलबार
राजनीति

एमाले बाँकेको अध्यक्षमा कक्षपति निर्वाचित

नेकपा एमाले बाँकेको आठौं जिल्ला अधिवेशनले अध्यक्षसहित पदाधिकारीको टुंगो लगाएको छ।

अधिवेशनले अध्यक्षमा किस्मतकुमार कक्षपति, उपाध्यक्षमा डिल्ली बिसी, सचिव रत्न खत्री, उप–सचिवमा दीपककुमार बर्मा र भूमिसरा धिताल निर्विरोध निर्वाचित गरेको निर्वाचन अधिकृत एवं अधिवक्ता विकास आचार्यले जानकारी दिएका छन्। उक्त अधिवेशनले जिल्ला कमिटी सदस्यको भने टुंगो लगाउन बाँकी रहेको उनले बताए।

‘जिल्ला कमिटी सदस्य पदमा सर्वसम्मत गर्न उम्मेदवारबीच आज अपरान्ह सम्मको समय दिएका छौं, सहमति नभए भोलि निर्वाचन हुन सक्छ,’ निर्वाचन अधिकृत आचार्यले भने। अध्यक्षसहित पदाधिकारीको टुंगो लाग्न नसक्दा जिल्ला अधिवेशन लम्बिएको थियो। आचार्यका अनुसार जिल्ला अध्यक्ष पदका लागि किस्मतकुमार कक्षपति, निरक गुरुङ र अशोक कर्माचार्यले उम्मेदवारी दिएका थिए।

यस्तै उपाध्यक्षमा डिल्ली बिसीको मात्र उम्मेदवारी परेको थियो। सचिवमा भिमबहादुर ओली, रत्न खत्री र बलराम भट्टराईले उम्मेदवारी दिएका थिए। यसैगरी दुई उपसचिव पदमा दिपककुमार बर्मा, भुमिसरा धिताल, तुलसीराम थारु, सतिश निरौला, अक्षरी पोखरेल, भाष्कर काफ्ले, सत्यनारायण बर्मा र मनोजकुमार बर्माले उम्मेदवारी दर्ता गराएका थिए तर यसअघि अध्यक्ष मण्डलले प्रस्ताव गरेको नामलाई नै टुंगो लगाइएको छ।

अध्यक्ष मण्डलले अध्यक्षमा कक्षपति, उपाध्यक्षमा बिसी, सचिवमा खत्री, उपसचिवमा बर्मा र धितालको नाम प्रस्ताव गरेको थियो। एमालेका केन्द्रीय सदस्यहरू सुर्य ढकाल, मोहम्मद हारुन, पशुपतिदयाल मिश्र, शान्ति ढकाल र दिपा शर्मा अध्यक्ष मण्डलमा छन्। निर्वाचन अधिकृत आचार्यले अन्य आकांक्षीले आइतबार उम्मेदवारी फिर्ता लिएपछि अध्यक्षसहित पदाधिकारी निर्विरोध निर्वाचित भएको बताए।

‘अध्यक्षसहित पदाधिकारीलाई सर्वसम्मत चयन गर्न निर्वाचन समितिले समय दिएको थियो, पछि पार्टी केन्द्रीय कार्यालयबाट पनि पत्र आयो। त्यसपछि अन्य आकांक्षीहरूले उम्मेदवारी फिर्ता लिएर वातावरण सहज बनाइदिनुभयो,’ निर्वाचन अधिकृत आचार्यले भने। एमाले जिल्ला कमिटी सदस्यका लागि पनि आवश्यकताभन्दा धेरै जनाको उम्मेदवारी परेको उनले बताए। ‘जिल्ला कमिटी सदस्य पदमा पनि आवश्यकताभन्दा धेरै उम्मेदवारी परेको छ, सदस्य पदमा पनि अध्यक्ष मण्डलले सर्वसम्मत बनाउने प्रयास गरिरहेको छ,’ आचार्यले भने।

प्रकाशित: २६ पुस २०७८ ०४:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App