८ वैशाख २०८१ शनिबार
राजनीति

एमाले जिल्ला अधिवेशन: कैलालीमा थापा र चन्द प्यानलसहित चुनावी मैदानमा

नेकपा एमालेको जिल्ला अधिवेशन सुदूरपश्चिमका ८ जिल्लामा भइरहेको छ। बझाङबाहेक कैलाली, कञ्चनपुर, डोटी, बैतडी, अछाम, दार्चुला डडेल्धुरा र बाजुरामा जिल्ला अधिवेशन भएको हो। ८ वर्षपछि भैरहेको एमालेको यो अधिवेशनबाट हुने नयाँ नेतृत्व चयनका लागि सबै जिल्लामा व्यापक कसरत भैरहेको छ।

सुदूरपश्चिमको सबैभन्दा बढी सदस्य र निर्वाचन क्षेत्र भएको कैलालीमा जिल्ला अध्यक्षका लागि केपी ओली पक्षकै दुई जनाको प्यानलसहित उम्मेदवारी दर्ता भएको छ। एमालेका निर्वतमान अध्यक्ष रतन थापा र उपाध्यक्ष रणबहादुर चन्दले प्यानलसहित अध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका छन्। नवौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित थापा र सचिवमा निर्वाचित चन्दले एमाले विभाजनपछि अध्यक्ष र उपाध्यक्षको जिम्मेवारी सम्हालेका थिए। सुरुमा जिल्ला अध्यक्षका लागि एमालेका युवा नेता डेजी पाण्डेसहित तीन जनाले दावी गरेका थिए। नेताले पाण्डेले अध्यक्षमा चन्दलाई समर्थन गर्दे सचिव पदमा उम्मेदवारी दर्ता गराएका छन्। सहमतिको प्रयास सफल नभएपछि थापा र चन्दले उम्मेदवारी दर्ता गराएका हुन्।

थापाको प्यानलबाट उपाध्यक्षमा दुर्गा जोशी, सचिवमा दान बहादुर बि.क.‘चित्रण’ले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि चन्दको प्यानलबाट उपाध्यक्षमा सितारामा बुढाथोकी, सचिवमा पाण्डेय, सह सचिवमा ममता चौधरी र लोकेन्द्र शाहीले उम्मेदवारी दर्ता गराएका छन्। यसैगरि सदस्यमा उम्मेदवारी दर्ता गराएकाहरुलाई दुवै उम्मेदवारले प्यानलमा राख्ने तयारी गरेका छन्। सह सचिवमा रविन्द्र चौधरी, बिनय शाह र मदन ओझाले पनि उम्मेदवारी दर्ता गराएका छन्। उनीहरुले अहिले सम्म कुनै प्यानलमा खुलेका छैनन्।

मतदान आइतबार बिहान ८.३० देखि १ .३० सम्म तोकिएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत चक्रराज तिमिल्सिनाले बताएका छन्।

दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो पूर्ण बैठकले पुस २३ गतेका लागि जिल्ला र आउँदो माघ ८ गतेका लागि पार्टीको प्रदेश अधिवेशन गर्ने निर्धारण गरेको थियो।

यहाँका ८ जिल्लामा सकभर सहमतिबाट नयाँ नेतृत्व चयन गर्ने प्रयास भैरहेको र कैलाली, डडेल्धुरा, बैतडीमा निर्वाचन प्रक्रिया सुरु भएको एमाले सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठकले बताए। बझाङमा भने केही समयपछि अधिवेशन हुने उनको भनाइ छ।

डडेल्धुरामा अध्यक्षमा निर्वतमान अध्यक्ष प्रकाश साउँद र अमरगढी नगरपालिकाका मेयर बिपिन ओझाले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। कंचनपुर र अछाममा बन्दसत्र स्थगित गरेर आइतबार बिहानदेखि चल्ने भएका छन्। अन्य जिल्लामा जिल्ला नेतृत्वमा सहमतिको प्रयास भैरहेको पाठकले बताए।

प्रकाशित: २४ पुस २०७८ १५:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App