coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पोखरेल र गुरुङ पक्षबीच सहमति बन्न नसक्दा दोलखा एमालेमा चुनाव हुँदै

नेकपा एमाले दोलखाको जारी अधिवेशनमा सर्वसम्मतिबाट नेतृत्व चयन गर्न पोलिटब्युरो सदस्यद्धय एवं पूर्वमन्त्री आनन्द पोखरेल र पूर्वमन्त्री एवं जिल्लाका बहालवाला संघीय सांसद पार्वत गुरुङ पक्षबीच सहमति बन्न नसकेपछि निर्वाचनबाट नेतृत्व छानिने भएको छ।

शनिबार बिहानसम्म दुई पक्षबीच पटकपटक भएको छलफलले सहमतिको रुप लिन नसक्दा निर्वाचन हुने भएको हो। अध्यक्ष पदका लागि नरबहादुर श्रेष्ठ र भरत दुलालले उम्मेदवारी दर्ता गराएका छन्। पदाधिकारीसहित अन्य सबै पदमा उम्मेदवारी परेको छ।

स्रोतका अनुसार पोखरेल पक्षले अध्यक्ष लिने समूहले अध्यक्ष र उपसचिव साथै अध्यक्ष नलिनेले उपाध्यक्ष र सचिव भागबण्डा गर्न प्रस्ताव गरेको थियो। तर गुरुङ पक्षले अध्यक्ष पदसहित सचिव छाड्न नमानेपछि सहमति नबनेको छलफलमा सहभागी एक नेताले जानकारी दिए। अध्यक्षमा गुरुङनिकट नरबहादुर श्रेष्ठलाई स्वीकारेर जान पोखरेल पक्ष तयार भएको थियो। तर सचिवमा गुरुङ पक्षले आफू पक्षीय उम्मेदवार होम पाठकलाई बनाउनुपर्ने अडान राखेपछि सहमति बन्न नसकेको ति नेताले बताए। सचिवमा पाठक र हिरा थोकरले उम्मेदवारी दिएका छन्।

अध्यक्ष श्रेष्ठ र सचिवका उम्मेदवार थोकर एउटै गाउँपालिकाका रहेकाले भूगोल मिलाउनका लागि समेत पाठकलाई सचिव बनाउनुपर्ने तर्क गुरुङ पक्षको थियो। पाठक व्यक्तिगत रुपमा नेता पोखरेलसंग समेत उत्तिकै नजिक छन्। थोकर प्रदेश सभा क्षेत्र नं १ को मेलुङ र पाठक क्षेत्र नं २ को कालिञ्चोक गाउँपालिकाका हुन्।

नेता पोखरेल भने आफू तटस्थ बस्ने बताउँदै आएका छन्। उनीनिकट एक जिल्ला नेताका अनुसार दोलखा एमालेमा पशुपति चौलागाईको निधनपछि पार्टी भित्र आफूले अभिभावकत्व लिनुपर्ने कारण आफू कुनै पक्षमा नखुल्ने सन्देश दिन खोजेका छन्। उनीनिकट जिल्ला तहका नेताहरुले भने भरत दुलाललाई समर्थन गर्ने भन्दै लविङसहित मत माग्न थालेका छन्। अध्यक्षका उम्मेदवार मध्ये श्रेष्ठ अघिल्लो जिल्ला कमिटीका उपाध्यक्ष र दुलाल सचिव हुन्। दुवै गाउँपालिकाका अध्यक्ष समेत छन्। श्रेष्ठलाई यसअघि अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका भरत केसी र डबल पाण्डेले साथ दिने भएका छन्।

एक जना सिटको उपाध्यक्ष पदमा भने प्रेमकुमारी चौलागाई, जानुका न्यौपाने, राजेन्द्र मानन्धर, कृष्णबहादुर बस्नेत र रामबहादुर श्रेष्ठको उम्मेदवारी परेको निर्वाचन संयोजक शंकरलाल श्रेष्ठले जानकारी दिए। सचिवमा पाठक र थोकरले उम्मेदवारी दर्ता गराएका छन्। उपसचिवमा १३ जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दर्ताको समय सकिएको र निर्वाचन समितिले उम्मेदवारहरुको विवरण उतार्ने काम गरिरहेको छ।

उपाध्यक्ष पदमा चौलागाई साझा उम्मेदवार बन्न सक्ने आंकलन गरिएको छ। स्वर्गिय नेता पशुपति चौलागाईकी बुहारी रहेकी उनलाई उपाध्यक्ष बनाउन दुवै समूहमा दबाब बढेको छ। पशुपति चौलागाईको परिवारलाई पदाधिकारीमा राखेर जाँदा पार्टी फुटेको बेला फरक सन्देश जाने कारण उनलाई जिताउन दुवै पक्षमा दबाब परेको हो। गुरुङनिकट रहेपनि उनी दुवै पक्षको साझा उम्मेदवार बन्न सक्ने आंकलन गरिएको छ। तर निर्वाचन हुने बेलासम्म गुरुङले आफूनिकट मानन्धरलाई अगाडि बढाउन सक्ने चर्चा समेत उत्तिकै छ। अब सहमतिको सम्भावना टर्दै गएको नेताहरुले बताएका छन्। जिल्लाको राजनीतिमा गुरुङ हावी हुँदै गएकाले सर्वसम्मतको राजनीतिक लाभ उनले व्यक्तिगत रुपमा लिँदै हिँड्ने भएका कारण जसरी पनि चुनाव गराउनुपर्नेमा पोखरेल पक्षका नेताहरु लागिपरेकाले उक्त सम्भावना न्यून रहेको निकटष्थहरुले बताएका छन्।

निर्वाचन भने आइतबार बिहान मात्र हुने भएको छ। निर्वाचन समिति संयोजक श्रेष्ठले उम्मेदवारहरुको रुजु भईरहेको र निर्वाचन आज गर्न नभ्याइने भएकले आइतबार बिहानबाट चुनाव हुने बताए।

प्रकाशित: २४ पुस २०७८ ०९:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App