६ वैशाख २०८१ बिहीबार
राजनीति

लुम्बिनी प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब बजेट दिने

लुम्बिनी प्रदेशको राजधानी निर्माण गर्नका लागि संघीय सरकारले १ अर्ब रुपैयाँ बजेट उपलब्ध गराउने भएको छ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले प्रदेशको राजधानी निर्माणका लागि संघीय सरकारले १ अर्ब बजेट उपलब्ध गराउने जानकारी दिएका हुन्।

राजधानी निर्माणका लागि बजेट अभाव भएपछि पहलका लागि मुख्यमन्त्री केसी पछिल्लो साता संघीय राजधानीमा थिए। संघीय सरकारसंगको निरन्तरको छलफलपछि लुम्बिनी प्रदेशलाई १ अर्बको बजेट प्रदान गरिएको मुख्यमन्त्री केसीले बताए।

प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा र मुख्यमन्त्री केसीबीचको छलफल पश्चात् राजधानी निर्माणका लागि संघले १ अर्ब बजेटको व्यवस्था गरेको हो। प्रधानमन्त्री देउवाले नयाँ स्थानमा बन्न लागेको लुम्बिनी प्रदेशको राजधानी बजेट अभावका कारण रोकिन नहुने भन्दै बजेट व्यवस्था गर्ने जानकारी गराएको मुख्यमन्त्री केसीले बताए।  

‘राजधानी निर्माणका लागि आगामी दिनमा निरन्तर सहयोग रहने प्रतिबद्धता प्रधानमन्त्री देउवाले गर्नु भएको छ’, मुख्यमन्त्री केसीले भने। प्रधानमन्त्री देउवाले प्रदेश राजधानी निर्माण नीतिगत या बजेट कुनै पनि कारणले रोकिन नहुने भन्दै संघीय सरकारको सहयोग निरन्तर रहने प्रतिबद्धता जनाएको उनले बताए। मुख्यमन्त्री केसीले जग्गा प्राप्तीसंगै बजेटको विषयले पूर्णता पाउन थालेपछि राजधानी निर्माणले पनि गति लिने दावी गरे। संघीय सरकारले बजेट प्रदान गरेकोमा मुख्यमन्त्री केसीले प्रधानमन्त्री, अर्थमन्त्री लगायत संघीय सरकारलाई प्रदेश सरकारको तर्फबाट विशेष धन्यवाद दिए।  

यसअघि लुम्बिनी प्रदेश सरकारले राप्ती उपत्यका देउखुरीमा राजधानी निर्माणको लागि संघीय सरकारसँग ३ अर्ब बजेट माग गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषदको निर्णय अनुरुप बजेटका लागि मुख्यमन्त्री केसी आफैले संघीय सरकारसंग पहल थलेका थिए। हाल प्राप्त बजेटबाट गुरुयोजना, भौतिक संरचना निर्माण तथा जग्गा अधिकरण कार्य अगाडि बढ्ने बताइएको छ।

प्रकाशित: २२ पुस २०७८ १४:२० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App