१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

गठबन्धन चुनावसम्म रहने ठोकुवा गर्न सकिँदैनः काङ्ग्रेस महामन्त्री शर्मा

नेपाली काङ्ग्रेस महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सत्ता गठबन्धन आउँदो चुनावसम्म रहन्छ कि रहँदैन भन्नेमा ठोकुवा गर्न नसकिने बताएका छन्। उनले गठबन्धनलाई निरन्तरता दिनेबारे काङ्ग्रेसले छलफल गरेरमात्र निर्णय लिने बताए।

नेपाल प्रेस युनियन इलाम शाखाले सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा महामन्त्री शर्माले अहिलेको गठबन्धन अहिलेकै रूपमा रहने या नरहने भन्नेमा अहिल्यै केही भन्न नसकिने जनाए। ‘काङ्ग्रेसभित्र छलफल नै नभइकन गठबन्धनको निरन्तरता विषयमा यसै भन्न सकिँदैन,’ उनले भने, ‘काङ्ग्रेसले ठीक समयमा ठीक निर्णय लिने नै छ।’

उनले देशमा राजनीतिक स्थिरता नहुनु पत्रकार र राजनीतिक नेतृत्वको साझा प्रश्न भएको बताए। ‘७० वर्षदेखि किन कुनै पनि सरकार लगातार ५ वर्ष चल्न सकेनन् भन्ने हाम्रो साझा प्रश्न भएको छ,’ उनले भने, ‘दलहरू रुपान्तरण नभएसम्म लोकतन्त्र र गणतन्त्रप्रति जनविश्वास बढाउन पनि सकिँदैन।’

उनले काङ्ग्रेसमा युवा नेतृत्व पनि आएकाले पार्टीमा रुपान्तरण सुरुआत भएको बताए। ‘पार्टीको भर्खरै सम्पन्न महाधिवेशनमा लोकतान्त्रिक प्रतिस्पर्धा गर्दा कोही नेताहरू छुट्नुभएको छ, हार–जित भएको छैन,’ उनले भने, ‘कोही अक्षम भएर छुटेको होइन, प्रक्रियाले छुट्नुभएका अनुभवी नेताहरूलाई समेट्नुपर्छ।’

महामन्त्री शर्माले प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले निरन्तर प्रतिनिधिभा अवरुद्ध नगर्नेमा आफू विश्वस्त रहेको बताए। ‘एमाले अध्यक्ष ओली (केपी शर्मा ओली)ले पक्कै पनि आत्मसमीक्षा गरेर प्रतिनिधिसभा सहज बनाउनुहुनेछ भन्ने विश्वास छ,’ उनले भने।

प्रकाशित: २२ पुस २०७८ १३:१३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App