coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रदेश १ सरकारको २ महिनाः सत्तारुढ दल नै असन्तुष्ट, 'तोरीको फूल देखाउने' प्रतिपक्षको चेतावनी

बधाइ, शुभकामना थाप्ने, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थाका कार्यक्रम उद्घाटन र अतिथि आशन ग्रहणमै प्रदेश सरकारको दुई महिना बितेको छ। सत्तारुढ दलहरूको महाधिवेशनहरू चलिरहेकाले काम गर्न नसकेको बहाना बनाउँदै आएका प्रदेश १ को सरकारका मुख्यमन्त्री र मन्त्रीहरूले  दुई महिनाको अवधि विभिन्न औपचारिक कार्यक्रमको उद्घाटन र अतिथि आशन ग्रहणमै बिताए।

दुई महिनाको अवधिमा प्रदेश १ को सरकारले समेत पूर्णता पाउन सकेको छैन। प्रदेश १ मा ५ दलीय गठबन्धनको सरकार छ। अर्थमन्त्री इन्द्रबहादुर आङ्वोको नेतृत्वमा मन्त्रालय विभाजन गर्न समिति बनेको छ। तर, समितिले अझैसम्म कति मन्त्रालय बनाउने भन्ने विषयको कुनै प्रतिवेदन तयार पार्न  सकेको छैन। प्रदेशमा कति मन्त्रालय बनाउने, कुन दलले कति मन्त्रालय पाउने भन्ने विषय अझैं अन्यौलमै छ। यति हुँदाहुँदै सरकारको न्यूनतम साझा कार्यक्रम भने सार्वजनिक गरेको छ। तर, न्यूनतम साझा कार्यक्रमले सरकारलाई स्पष्ट दिशा निर्देश गर्न नसकेको भन्दै सत्तारुढ दलकै नेताहरूले आलोचना गरिरहेका छन्। यतिमात्रै हैन विगतकै सरकारका कार्यक्रमलाई वर्तमान सरकारले पनि निरन्तरता दिएर नीति कार्यक्रम ल्याएको नेताहरूको टिप्पणी रहेको छ।

दलहरूसँग समन्वय गर्न सत्तारुढ गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका संसदीय दलका नेताको संयोजकत्वमा उच्च स्तरीय राजनीतिक संयन्त्र गठन गरिएको छ। तर, उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठकसमेत बस्न सकेको छैन। प्रदेश सरकारले कानुन निर्माणको काम पनि अघि बढाउन सकेको छैन। प्रदेश सरकारले अघिल्लो सरकारले गठन गरेको प्रदेश पर्यटन बोर्ड, सञ्चार प्रतिष्ठानलगायतका संरचनाहरू खारेज गरे पनि अदालतले स्टेअर्डर जारी गरेपछि यि संयन्त्रहरू पनि अलपत्र अवस्थामा छन्।

अघिल्लो सरकारको बजेट परिमार्जन गर्ने प्रदेश सरकारले बताउँदै आएको छ। तर, केके परिमार्जन गर्ने र कसरी गर्ने भन्ने विषयमा सरकारनै स्पष्ट छैन। सरकार गठनपछि स्थगित भएको हिउँदे अधिवेशन कहिले सुरू हुने भन्ने टुंगो नै छैन। प्रदेश सरकारले केही गोष्ठी बैठक र केही सामाजिक र आन्तरिक मामिला मन्त्रीहरूले कोरोना अस्पताल, सीमानाकाको अनुगमन गर्ने र भौतिक पूर्वाधार मन्त्रीले केही सडक योजनाको शिलान्याश र उद्घाटन गर्ने बाहेक ठोस काम र योजना अघि सार्न सकेका छैनन्।

सत्तारुढ दल नै असन्तुष्ट  

प्रदेश १ को ५ दलीय गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस नै सरकारको कामबाट सन्तुष्ट छैन। नेपाली कांग्रेस प्रदेश १ का संसदीय दलका नेता राजीव कोइरालाले दुई महिनाको अवधिमा सरकारले गरेका काम सन्तोषजनक नभएको बताए। उनले भने, ‘सरकारका कामबाट म मात्रै हैन हाम्रा मन्त्रीहरूसमेत सन्तुष्ट देखिएका छैनन्।’

कोइरालाले दलहरूका अधिवेशनको प्रभावले सोचे अनुसार काम गर्न नसकेपनि अब, सरकारले कामको रफ्तार बढाउनुपर्ने बताए। उनले भने, ‘दलका अधिवेशनले सरकारका काममा केही समस्या देखिए पनि अब, सरकारले कामको रफ्तार बढाउनुपर्छ। कोइरालाले मन्त्रालय फुटाए पनि खर्चमा सरकारले मितव्ययीता अपनाउनुपर्ने बताए। उनले विदेशका मन्त्री, प्रधानमन्त्री साईकल चढेको भनेर प्रशंसा गर्ने आफूचाहिं किन साईकल, मोटरसाईकल चढेर मितव्ययी नबन्ने भनेर प्रश्न पनि गरे। उनले भने, ‘टाढा जाँदा गाडी, नजिक जाँदा मोटरसाइकल चढ्दा किन हुँदैन?’

यता प्रतिपक्षी दल नेकपा एमालेले परमादेश अनुसार सरकारले सत्ता र पद जोगाउने काम गरिरहेको टिप्पणी गरेको छ। नेकपा एमाले प्रदेश १ का प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले सरकार सत्ता र पद जोगाउनमा मात्रै सीमित बनेको टिप्पणी गरे। उनले सरकारलाई हनिमुन मनाउन दिन आफूहरू चुप लागे पनि अब, तोरिको फूल देखाउने चेतावनी दिए। ‘सरकारलाई हनिमुन मनाउन दिनकै लागि चुप लागेका हौं’, उनले भने, ‘अब, तोरीको फूल देखाउँछौं।’

उनले मन्त्रालय फुटाउने कुरा प्रदेशलाई आर्थिक रुपमा टाट पल्टाउने र सुविधाभोगी बन्ने काम मात्रै भएको बताए। उनले सरकारले जनताका समस्या समाधान गर्ने र विकासका काम अघि बढाउने विषयमा ध्यानै नदिएको आरोप लगाए। उनले सरकारले विगतकै ७ वटा मन्त्रालय चलाउने, बजेट कार्यानवयन गर्ने, बजेटका कमीकमजोरी सुधार गर्ने र विगतका सरकारको जत्ति नै काम गरे प्रतिपक्षले धन्यवाद दिने स्पष्ट पारे।

नेकपा एमाले फुटेपछि सरकार अल्पमतमा परेसँगै तत्कालीन मुख्यमन्त्री भीमप्रसाद आचार्यले कात्तिक १५ गते राजीनामा दिएका थिए। नेकपा एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राईको नेतृत्वमा कात्तिक १६ गते प्रदेश १ मा ५ दलीय गठबन्धनको सरकार गठन भएको थियो।

प्रकाशित: २२ पुस २०७८ १२:४३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App